पथरीशनिश्चरे / मोरङको पथरी शनिश्चरे नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिले दैनिक ज्यालादारी मजदुर सहित अतिआवश्यक पर्नेहरुका लागि राहत जुटाउन खडा गरेको राहत कोषमा सहयोग जुट्ने क्रम अघि बढेको छ ।

‘कोरोना भाइरस जोखिम न्यूनिकरण राहत कोष समन्वय समिति’ को एनआइसी एशिया बैंकको खातामा विहीवार विहानसम्म १ लाख ८५ हजार रुपैयाँ जम्मा भएको छ ।

जहाँ जहाँ जो जोबाट सहयोग आएपनि नगरस्तरीय सो समितिमार्फत एकद्वार प्रणालीमा मात्रै राहत व्यवस्थापन र वितरण गरिने समिति संयोजक एवम् नगर प्रमुख दिलीपकुमार राईले बताए । नगरपालिकाको विपद व्यवस्थापनको समेत बजेटमा थप कोष जम्मा गरी वडा वडामा राहत उपलब्ध गराइने छ । राहत उपलब्ध गराउन इच्छुक जो कोहीलाई समितिले सञ्चालन गरेको राहत कोषको ०८४४१५००२७७५६००२ नम्बरको खातामा रकम जम्मा गर्न आव्हान समेत गरिएको छ । २ दिनको अवधिमा हालसम्म पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेतले व्यक्तिगत रुपमा १ लाख १ हजार दिएपछि अन्य सहयोग जुट्ने अभियान अघि बढेको हो ।

१ नम्बर वडाको मनकामना सहकारीले २१ हजार, २ नम्वर वडाको लर्डबुद्ध सहकारी संस्थाले २० हजार १, ९ को महिला जातृति सामुदायिक वन उपभोक्ता समूहले १५ हजार, हाल इजरायलमा रहेका ३ नम्बरका सागर तुम्वापोले १५ हजार, ९ का रोशन खरेलले १० हजार ९ कै महेन्द्रचोक जेसीवी सञ्चालक टिमले ३ हजार रकम जम्मा गरेका छन् । कतिपय वडामा खाद्यान्न समेत संकलन भएको छ । ९ नम्वर वडामा २८ हजार नगद र ७ क्विन्टल चामल, ५ लिटर तेल, किलो नून भेला भएको वडाध्यक्ष भानुभक्त राईले जनाए ।

यसैबीच, ५ नम्वर वडाध्यक्ष जोगबहादुर धिमालले आफ्नो तर्फबाट तथा आफ्नो १ सय बोरा चामल प्रदान गर्ने बताएका छन् । १० नम्वर वडाध्यक्ष सागर राईले आफ्नो १ महिनाको भत्ता राहतका लागि दिने घोषणा गरेका छन् । १० नम्वरकै सदस्य अनोज घिमिरे, ७ नम्वर सदस्य काशीराज राई र २ नम्वर सदस्य पर्शुराम न्यौपानेले पनि जनही १०, १० हजार रकम राहतका लागि प्रदान गर्ने घोषणा गरे ।

कोरोना भाइरस जोखिम न्यूनिकरण एवम् राहत व्यवस्थापन समितिहरु गठन सम्पन्न भई राहत जुटाउने अभियान पनि अघि बढेको छ । समितिले आफ्नो वडाको दैनिक ज्यालामजदुरी गर्नेहरुको तथ्यांक संकलन गरी उनीहरुका लागि नगरमा राहतको सिफारिस गर्ने काम थालिएको छ । नगरमा नगर प्रमुख राईको संयोजकत्वमा ‘कोरोना भाइरस जोखिम न्यूनिकरण राहत कोष समन्वय समिति’ गठन भएपछि वडास्तरमा पनि समिति गठन भएको हो ।

औषधि छिट्न सुरु .....

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण अभियान अन्तर्गत नगरमा विहीवारदेखि सार्वजनिक स्थानहरुमा भाइरस नष्ट गर्न ब्लिचिङ छिट्ने काम सुरु भएको छ । वडा नम्वर १ को पथरी वजार क्षेत्रबाट औषधि छिटन् काम थालिएको हो । जसमा नगरका समाजसेवी युवाहरु सुविन पराजुली, रोशन पराजुली, रविन कार्की, भेषराज मिश्र सहितले औषधि छिट्ने काममा खटिएका छन् ।

विदेशबाट आएकालाई भेटिएको .....

नगर क्षेत्रमा कोरोना भाइरसबाट बच्न घरभित्रै वस्न गरिएको लकडाउनको समयमा विदेशबाट आएका व्यक्तिहरुको घर घरमा गएर उनीहरुको स्वास्थ्य अवस्था बुझ्ने काम भइरहेको छ ।

यस क्रममा आज, नगर प्रमुख दिलीपकुमार राई सहितका वडाका जनप्रतिनिधि तथा नगर जनस्वास्थ्य निरीक्षक मुरारी आचार्य सहितका स्वास्थ्यकर्मीको टोलीले विदेशबाट आएकाहरुको स्वास्थ्य अवस्था बुझ्ने काम गरेको छ ।

जसमा, वडा नम्वर ३, ६, ८ र ९ मा विदेशबाट आएका र तिनका परिवारलाई भेटेको छ । विदेशबाट आएको १४ दिन कटिसकेको अवस्था भएको र उनीहरुको स्वास्थ्यमा पनि समस्या नदेखिएको भएपनि घरभित्रै स्वत क्यारेन्टाइनमा वस्न आग्रह गरिएको छ । प्रत्येक वडाबाट विदेश गएर आएकाहरुको तथ्यांक संकलन कार्य समेत भएको र हालसम्म २१ जना विदेशबाट आएको फेला परेको छ । जसमध्ये १० जनालाई मिक्लाजुङस्थित टाँडीको क्वारेन्टाइन पठाइएको छ । अन्यलाई घरमै क्वारेन्टाइनमा रहन निर्देशन गरिएको छ ।

जिससबाट अवस्थाका बारेमा जानकारी .......

यसैबीच, कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन तथा नगरमा सुरक्षाको अवस्थाका बारेमा जिल्ला समन्वय समितिका संयोजक नरेश पोखरेलले नगरमा आइ जानकारी लिएका छन् । नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला सहितका जनप्रतिनिधि, समाजसेवीहरुले सचेतनाका लागि सक्रियता अपनाइरहेको जानकारी गराएका थिए । संयोजक पोखरेलले पालिकाहरुको क्वारेन्टाइन सञ्चालन गर्दै लकडाउनलाई कडा रुपमा पालन गराउन लाग्नुको विकल्प नभएको प्रष्टए ।

ग्राहक र पसलेलाई कडा निर्देशन...

पथरी शनिश्चरे नगर क्षेत्रमा कोरोना भाइरसबाट बच्न घरभित्रै वस्न गरिएको लकडाउनलाई कडाई गर्न दैनिक नगरबाट अनुगमन् भइरहेको छ ।

जस अनुरुप, नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईको नगर सुरक्षाकर्मी सहितको टोलीले अनुगमन कार्यलाई सक्रिय बनाइरहेको छ । खाद्यान्न, औषधि, सागसब्जी, फलफुल, ग्यास जस्ता अतिआश्यकीय वस्तुको निश्चित समयमा भिडभाड नगरी विक्री वितरण गर्दा पसले र ग्राहक दुवै पक्षले विशेष सावधानी अपनाउन निर्देशन दिइएको अनुगमन् समिति संयोजक वास्तोलाले जनाइन् ।

पसलेले आफुले मास्क, हातमा ग्लोब लगाएर सेनिटाइजर समेत प्रयोग गरी कम्तिमा डेढ मिटरको दुरी कायम गर्नुपर्दछ । त्यसपछि ग्राहकलाई मास्क र पहिले साबुनपानीले हात धुन लगाई हातमा सेनिटाइजर प्रयोग गर्न दिएर मात्र सामग्री विक्री वितरण गर्न निर्देशन दिइएको उनले बताइन् । साथै उनले ग्राहक उभिने निश्चित दुरीको घेरा बनाई सामान किन्न आउनेहरुलाई सामान छोएर छान्न नदिने गर्न तथा दैनिक ग्बोल फेरेर सामान विक्री गर्न सुझाव दिइएको उल्लेख गरिन् । ग्राहकले पनि सकेसम्म ग्लोबको प्रयोग गर्न पनि आग्रह गरिएको छ ।

पसलेले सामान अलग राखिदिने र ग्राहकले पनि सामान लिएर गएपछि पहिले साबुनपानीले हात धोएर मात्र अरु काम थाल्नुपर्ने सुझाव दिइएको छ । ग्लोब लगाएको अवस्था भएपनि नाक र मुखमा हातले नछुन जानकारी गराइएको छ । पसले र ग्राहकले पुरा शरीर ढाक्ने कपडा लगाउने तथा अतिआवश्यक सामग्री किन्नु परेमा ज्येष्ठ र बालबालिका बाहेकका घरको १ जना मात्र जाने सूचना सूचित गरिएको छ । खोक्दा, हाछ्यूँ गर्दा तथा हातको माध्यमबाट प्राणघातक कोरोना भाइरस सर्ने भएकाले त्यसखाले सचेतना दैनिक प्रदान गरिएको छ ।

यस प्रकारको सुझाव सहित दैनिकजसो निर्देशन दिइरहेको अवस्थामा पथरी बजार क्षेत्र सहितका बजारमा छड्के अनुगमन् भइरहेको छ । खाद्यान्न, औषधि तथा सागसब्जीको मुल्यबृद्धि गरी कालाबजारी नगर्न समेत कडा निर्देशन दिइएको छ ।

इलाका प्रहरी कार्यालय पथरीले पनि नगरको समन्वयमा रही लकडाउनमा बाहिर ननिस्किइ घरभित्रै बसेर आफुपनि सुरक्षित रहन र अरुलाई पनि सुरक्षित पार्न अनुरोध गर्दै गस्ती गरिरहेको छ । बाहिर निस्कनेहरुलाई केही घण्टा नियन्त्रणमा राखी उनीलाई कडाईका साथ कोरोना सम्वन्धी सचेतना प्रदान गरिने गरेको पथरी प्रहरी प्रमुख डिएसपी दिलीपकुमार गिरीले जनाए । बाहिर निस्कनेको यातायातका साधन समेत नियन्त्रणमा राखिने गरेको छ ।