धनकुटा । धनकुटामा ९० जनालाई ‘होम क्वारेन्टाइन’ मा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

विभिन्न देशबाट फर्किएकाहरूलाई होम क्वारेन्टाइनमा राखिएको हो । जिप्रका अनुसार धनकुटाको विभिन्न गाउँपालिकामा विदेशबाट आएकाहरूलाई होम क्वारेन्टाइनमा बस्नका लागि आग्रह गरिएको छ । जिप्रकाका सूचना अधिकारी जयराम श्रेष्ठका अनुसार धनकुटा नगरपालिकाका १० जना, साँगुरीगढी गाउँपालिकाका १७ जना, छथर जोरपाटी गाउँपालिका ८ जना र चौबिसे गाउँपालिकाका १६ जनालाई होम क्वारेन्टाइनमा राखिएको हो । त्यस्तै शहीदभूमि गाउँपालिकाका १४ जना, महालक्ष्मी नगरपालिकाका ६ जना र पाख्रिवास नगरपालिकाका १९ जना रहेका छन् ।

उनीहरूलाई स्वास्थ्यकर्मी र प्रहरीले निगरानी गरिरहेको उनले जानकारी दिए । हालसम्म पनि उनीहरूमा समस्या नदेखिए पनि होम क्वारेन्टाइनमा राखेर निगरानी गरिरहेको हो । नेपालमा हालसम्म पाँच जनामा कोरोनाको संक्रमण देखिसकेको छ । पछिल्लो पटक कोरोनाको संक्रमण बेल्जियमबाट फर्किएकी बागलुङ निवासी युवतीमा देखिएको छ ।