भद्रपुर /  अति विपन्न श्रमिक मजदुर परिवारको दैनिक जीवन गुजारामा समस्या भए पछि एकसय घर परिवारलाई खाद्यन्य वितरण गरिएको छ ।
भद्रपुर ९ चन्द्रगढीस्थित प्रज्ञा एकाडेमीले सामाजिक उत्तरदायित्व अन्र्तगत चन्द्रगढी क्षेत्रमा रहेका सुकुम्बासी बस्तीका परिवारलाई चामल तथा दाल वितरण गरेको हो । मजदुर परिवारको दैनिक जीवन गुजारामा समस्या भएपछि प्रति परिवार ५ किलो चामल र आधा केजी दाल वितरण गरिएको थियो । कोभिड १९ (कोरोना भाइरस) सङ्क्रमण बढ्ने संभावना रोक्न सरकारले चैत्र ११ गतेबाट शुरु गरेको ‘लक डाउन’ का कारण दैनिक ज्यालादारी गरी विहान बेलुका छाक टार्ने श्रमजीवि सुकुम्बासी परिवारले काममा जान नसकेपछि गाँसको समस्याले विकराल रूप लिनु अगाडि नै विद्यालयले सामाजिक दायित्व स्वरूप नगर सरकारसित समन्वय गरी चामल वितरण गरेको संस्थापक÷प्रिन्सिपल इशुभ पाण्डेले जानकारी दिए ।

भद्रपुर नगरप्रमुख जीवनकुमार श्रेष्ठको नेतृत्व कार्यक्रममा भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजी, वडा सदस्य तुलसी पोखरेल, भद्रपुर ९ का कार्यवाहक वडाध्यक्ष राम दाहाल वडा सदस्य नुतन पौडेल, विद्यालयका प्रिन्सिपल इशुभ पाण्डे, नगर शिक्षा शाखा प्रमुख प्रेमबहादुर भुजेल लगायतको सहभागिता रहेको थियो ।
यस अगाडि सो विद्यालयले १५०० मास्क चन्द्रगढी बजार क्षेत्रमा कोरोना रोग सक्रमण सचेतना अन्तर्गत वितरण गरिसकेको छ ।