धरान । कोरोनाभाइरसका कारण सरकारले आजबाट शुरु गरेको ‘लकडाउन’ ले गर्दा धरानमा हरियो सब्जी आपूर्ति स्वात्तै घटेको छ ।

धरानमा दैनिक २५ टनको हाराहारीमा हरियो सागसब्जी पहाडी क्षेत्रबाट आपूर्ति हुने गरेको कृषि उपज बजार स्थल धरानले जनाएको छ । तर, अहिले ५ टनको हाराहारीमा मात्रै सब्जी कृषि उपज बजार स्थलमा आइपुगेको बजार व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए ।

उनका अनुसार सुख्खा सब्जीमा भने कुनै पनि समस्या रहेको छैन । सरकारले भारतबाट सुख्खा सब्जी आयातमा सहज गरिदिएका कारण पर्याप्त मात्रामा सब्जी रहेको उनले बताए ।

vegitable_dharan_1

 

सुख्खा सब्जी अन्तर्गत आलु, प्याज, लसुन, अदुवा, दलन रहेका छन् । यी सब्जीहरू पर्याप्त मात्रामा रहेकाले ग्राहकहरूलाई नआत्तिनका लागि कृषि उपज बजार स्थलले आग्रह गरेको छ । अन्यको हकमा भने केही समस्या भएको छ । ‘सुख्खा सब्जी सतप्रतिशत नै उपलब्ध छ, हरियो सब्जी अभाव होला जस्तो महसुस हुन थालेको छ’–उनले फोनसम्पर्कमा भने, ‘धरानमा दैनिक ५० टनको हाराहारीमा सब्जी आवश्यकता छ ।’

तर, अहिले धरानमा होटल व्यवसाय पनि ठप्प भएकाले सब्जीको खपत केही घटिरहेको छ । विशेष गरी हरियो सब्जी धनकुटाको सिधुवा, शुक्रबारे, हिलेलगायतको क्षेत्रबाट आउने गरेको छ । यता धनकुटाको पूर्वदक्षिणको क्षेत्र नाम्जे, ओख्रे, डाँडाबजारलगायत क्षेत्रबाट भने आंशिक रूपमा आइरहेको छ । सरकारले अतिआवश्यकीय वस्तुको रूपमा सब्जीलाई चित्रण गरेको छ ।

धरानको कृषि उपज बजारबाटै सुख्खा सब्जी अन्यत्र डिष्ट्रिब्यूट गर्ने गरेको छ । हरियो सब्जीको हकमा भने धरान–३ को पालिका तरकारी बजारमा पनि आउने गरेको छ । दक्षिणी क्षेत्र र धरानको पानबारी क्षेत्रबाट पालिका तरकारी बजारमा सब्जी आउने गरेको छ । सब्जी आपूर्ति अभाव भएसँगै महँगो हुने आशंका गर्न थालिएको छ ।

vegitable_dharan