दमक/ कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले जारी गरेको निर्देशन अस्पतालहरूमा भने अवज्ञा हुने गरेको छ । सङ्क्रमणको जोखिमलाई मध्यनजर गरेर सरकारले २५ जनाभन्दा भेला नहुन दिएको निर्देशन अस्पतालहरूमा अवज्ञा गर्ने गरेको छ ।

दमकका अस्पतालमा दैनिक सयौंको सङ्ख्यामा भीड लाग्ने गरेको छ । आइतबार दमकका विभिन्न अस्पताल पुग्दा हरेक अस्पतालमा दैनिक ३ सयभन्दा बढीले सेवा लिइरहेको पाइयो । तीमध्ये ८० देखि ९० प्रतिशत सेवाग्राही सामान्य प्रकृतिका बिरामी रहेको चिकित्सकहरूले बताए । दमक–७ का चूडामणि घिमिरे दमक अस्पतालमा भेटिए । उनी यहाँ सुगर, प्रेसरको परीक्षण गराउन आएका थिए । उनी भन्छन्, ‘भीडका कारण सहजरूपमा सेवा लिन पाइएन, औषधि लिन १ देखि डेढ घण्टा लाइन बस्नुप¥यो र बिमा कार्ड लिन पनि त्यति नै समय गरी ३ घण्टासम्म अस्पतालमै बिताउनु प¥यो ।’

अस्पताल प्रशासनले आइतबार मात्र ३ देखि ४ सयको हाराहारीमा सेवाग्राहीले सेवा लिएको जनाएको छ । सेवा लिन आइसकेका बिरामीलाई सेवा दिन मिल्दैन भनेर भन्न पनि नमिल्ने दमक अस्पतालकी डा. सुरक्षा बास्कोटाले बताइन् । ढाड, पेट, टाउको दुखेका, दीर्घरोगीहरू पनि अस्पतालमा सेवा लिन आउने गरेको उनले बताइन् । दमक अस्पतालले हटलाइनको समेत व्यवस्था गरेको उनको भनाइ छ । ९८५२६८००२१ मा टेलिफोन गरेमा सेवाग्राहीलाई टेलिफोनबाटै पनि परामर्श दिएर सके सम्म अस्पताल नआउने वातावरण तयार गर्न थालेको उनले बताइन् ।

दमक नगरपालिकाका उपप्रमुख गीता अधिकारीले दैनिकरूपमा सार्वजनिक सूचनामार्फत् भीडभाडमा नजान, सामान्य अवस्थामा अस्पताल नजान आग्रह गरिरहेको बताइन् । उनले भनिन्, ‘हामीले त्यसका प्रभाव र असरहरू बताइदिने हो, सचेत गराउँदा गराउँदै पनि नागरिक आफै त्यस्ता जोखिम स्थानमा जान्छन् भने त नागरिकले पनि आफ्नो संयमता त अपनाउनु प¥यो नि त ?’

ज्वरो जा“चका लागि छुट्टै कक्ष
अस्पतालमा ज्वरो जाँच गर्ने छुट्टै कक्ष स्थापना गरिएको छ । दमक अस्पताल र आम्दा अस्पतालमा यस प्रकारको विशेष कक्षको स्थापना गरिएको हो । अस्पताल प्रवेश गर्नुभन्दा अगाडि तापक्रम जाँच गराएर , साबुन पानीले हात धोएर मात्र अस्पताल प्रवेश गराइने र फेरि तापक्रम जाँच गर्दा ज्वरो बढी देखिएमा छुट्टै कक्षमा राखेर थप उपचार गर्ने गरिएको बताइन् ।