धनकुटा। तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका वडा नं.४ स्थित् चित्रेमा रहेको दुग्ध विकास संस्थान विराटनगरको दुग्ध चिस्यान केन्द्रमा शुक्रबार अपरान्ह चट्याङ पर्दा आगलागी भएको छ ।

अविरल वर्षासंगै परेको चट्याङको कारण दुग्ध चिस्यान केन्द्रमा आगलागी भएको लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन मावोहाङ्गले बताए ।

चट्याङको कारण आगलागी भएपछि स्थानिय वासिन्दा, नेपाल प्रहरी र नगरपालिकाको दमकलले आगो नियन्त्रण गरिएको प्रमुख मावोहाङले बताए । आगलागीको कारण चिस्यान केन्द्रमा संचालनमा रहेको जेनेरेटर राखिएको कोठा, जेनेरेटर र डिजलको ट्याङ्गकी पुर्ण रुपमा ध्वास्त भएको प्रमुख मावोहाङले बताए ।

आगलागीबाट ६ लाख बराबरको क्षति भएको वसन्तपुर इलाका प्रहरी कार्यालयका इन्चार्ज आशाराम चौधरीले ब्लाष्टलाई बताए । चट्याङ शुक्रबार अपरान्ह ५ बजेको समयमा भएको प्रहरीले जनाएको छ ।