धरान । इटहरी खोला क्षेत्रको ठेक्का पाएको पाथीभरा कन्ट्रक्सनले धरानमा अवैध उत्खनन् गरी ढुङ्गागिटी सङ्कलन गरेको पाइएको छ ।

धरान–६ पाँचकन्या सामुदायिक वन क्षेत्र भएर बग्ने सेहरा खोला क्षेत्रको २८ हजार घनमिटर ढुङ्गागिटी अवैध रूपमा उत्खनन् गरेको पाइएको हो । अवैध रूपमा ढुङ्गागिटी उत्खनन् गरेको अवस्थामा धरान उपमहानगरले तीन वटा टिपरलाई नियन्त्रणमा लिएको छ । धरानले प्रारम्भिक वातावरणीय परीक्षण (आइईई) नगरेको क्षेत्रबाट ढुङ्गागिटी उत्खनन् गरेको धरान उपमहानगरकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले बताइन् । उनले आइईई नगरेको क्षेत्रको उत्खनन् गर्नुलाई ‘डकैत’ को सङ्ज्ञा दिइन् ।

dharan_Utkhanann

उनले वन ऐनअनुसार कारबाही अगाडि बढाइने बताइन् । धरान उपमहागरले उत्खनन् गर्दै गरेको अवस्थामा लोड भएको प्र १–०२–००१ ख ८१२८, को १ ख ६६७९ र को १ ख ३३०० नम्बरको टिपरलाई बुधबार नियन्त्रणमा लिएको थियो । उत्खनन् भएको क्षेत्रको अनुगमनका लागि बिहीबार गएको टोलीका अनुसार २८ हजार ९ सय ३ घनमिटर ढुङ्गागिटी सङ्कलन गरेको छ । पाथीभराले इटहरी क्षेत्रमा ३८ हजार घनमिटर मिसगिटी उठाउने ठेक्का पाएको थियो ।

उसले १ करोड ८० लाख रुपैयाँमा चालू आर्थिक वर्षबाट ठेक्का पारेको थियो । इटहरीले उत्खनन् गर्नका लागि दिएको क्षेत्राधिकार नाघेर काम गरेको हो । कन्ट्रक्सनका सञ्चालक जीवन न्यौपानेले विगत वर्षहरूमा ठेक्का प्राप्त गरेको आधारमा उत्खनन् गरेको बताए । उनले धरान क्षेत्रको हो भन्ने विषयमा आफूहरूलाई जानकारी नभएकाले गल्ती गरेको भए कारबाही भोग्न तयार रहेको बताए । ‘अहिले अनुगमन आएर हेरेको आधारमा हामी धरानतिर अलिकति छिरेका रहेछौं, गल्ती भयो, गल्तीअनुसारको कारबाही भोग्न तयार छौं’–उनले ब्लाष्टकर्मीलाई भने ।