व्यापार भनेको जसरी पनि नाफा मात्र कमाउने पेशा होइन । व्यापार व्यवसायका पनि आफ्नै नियम छन्, नैतिकता हुन्छन् । व्यापारमा ग्राहकलाई भगवान समान मानिन्छ । ग्राहकको विश्वास नै व्यापारीको सबैभन्दा ठूलो धन मानिन्छ । विश्वास गुमेका दिन व्यापारीहरूले पेशा परिवर्तन गर्नुपर्ने हुनसक्छ । तर, बजारको अवस्था हेर्दा व्यापारमा इमानदारिता, नैतिकता हराउँदै गएको प्रष्ट देखिन्छ । विगतमा भूकम्पले देश आक्रान्त हुँदा होस् वा भारतीय नाकाबन्दीका समयमा केही व्यापारी व्यवसायीले जसरी भए पनि पैसा कमाउने धन्दा चलाएको सबै सामु छर्लङ्ग छ । अहिले कोरोना भाइरसले विश्वव्यापी रूपमा प्रभाव पारिरहेका बेला नेपालका पनि यसको प्रभाव परेको छ । यस्तो बेलामा बजारमा ग्यास, पेट्रोल जस्ता सामग्रीको अभाव देखिन थालेको छ । जसमा व्यापारीहरूको लोभी पापी क्रियाकलाप छर्लङ्ग हुन्छ । नेपाल आयल निगम १ नम्बर प्रादेशिक कार्यालय विराटनगरले एक सातासम्म पुग्ने पर्याप्त इन्धन भएको बताइरहेको छ तर पूर्वका अधिकांश पेट्रोल पम्पहरू तेल नभएको भन्दै बन्द भइरहेका छन् । निगमले पर्याप्त तेल रहेको बताइरहँदा किन पम्पहरू बन्द भइरहेको छन् ? यहीं देखिंदैन कालाबजारी ?

आयल निगम क्षेत्रीय कार्यालयका अनुसार सोमबार विहानसम्म ३ सय १६ केएल पेट्रोल, ६ हजार ३ सय १० केएल डिजेल र ६ सय ३२ केएल मट्टितेल मौज्दात छ । यसले एकसाता पुग्ने निगमको भनाइ छ । तर, पम्पहरूले तेल नभएको बताउनुमा एकातिर कोरोनाको प्रभाव र अर्कातिर अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा २५ प्रतिशत गिरावट आएपछि पम्पहरूले मूल्य समायोजन पर्खेर बसेको आशङ्का गरिएको छ । तर, यसो गर्नु व्यापारीहरूको बद्मासी हो । त्यस्तै गरी खाना पकाउने ग्यासको कृत्रिम अभाव हुन थालेको छ । आयल निगमको क्षेत्रीय कार्यालयका अनुसार एक सातामा १ सय १ वटा बुलेटमा ग्यास भित्रिएका छन् । यो भनेको १ लाख ३२ हजार ५ सय सिलिण्डर हो । निगमको प्रादेशिक कार्यालयबाट पाँचवटा डिलरले एलपी ग्यास बिक्री गर्दै आएका छन् भने पछिल्लो एक सातामा कोशी ग्यासले ४५ बुलेट ग्यास आयात गरेको छ । जसमा ५९ हजार ९ सय सिलण्डर हुन्छ । यस्तै मारूती सुविधा ग्यासले २१ बुलेट अर्थात् २६ हजार ५ सय सिलिन्डर आयात गरेको छ । प्रिमा ग्यासले १९ हजार ५ सय सिलिन्डर, रिजालको ग्यासले १२ हजार ५ सय सिलिन्डर, सुगम ग्यासले १५ हजार सिलिन्डर आयात गरेका छन् । प्रसस्त मात्रामा ग्यास आयात भएका कारण पनि बजारमा अभाव नहुनु पर्ने हो । तर, विराटनगरमा ग्यासको कृत्रिम अभाव देखिन थालेको छ ।

व्यापार व्यवसाय भनेको सेवा पनि हो । सङ्कटका बेला व्यापारी व्यवसायीले नाफामा भन्दा सेवामा बढी ध्यान दिनुपर्ने हो तर बजारमा कृत्रिम अभाव सृजना गरी नाफामा मात्र ध्यान दिने व्यापारीलाई कारबाही गरिनु आवश्यक छ । बजारमा भइरहेको कृत्रिम अभाव रोक्न सम्बन्धित निकायहरू सक्रिय हुनु आवश्यक छ ।