बिर्तामोड झापाको बिर्तामोडस्थित डोमालाल राजबंशी रंगशालामा सञ्चालित ‘हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप’ सम्पन्न भएको ५ महिनामा पनि बिजेता र उपबिजेताले पुरस्कार पाएका छैनन । आयोजक जायोन स्पोर्टस क्लबले प्रतियोगिता सम्पन्न भएको यति लामो समयसम्म पनि पुरस्कार दिन नसकेको हो ।
पुरस्कार रकम प्राप्त नभएपछि बिजेता टोली त्रिभुवन आर्मी क्लबले एन्फामा उजुरी गरेको छ । आर्मीको उजुरीपछि झापाको खेलकुद बृतमा यस बिषयमा उत्पन्न बिवाद उत्कर्षमा पुगेको छ । आयोजक जायोन स्पोर्टस क्लबले झापा जिल्ला फुटबल संघको असहयोगका कारण प्रतियोगिता घाटामा गएको बताउदैं आएको छ । फुटबल संघका अध्यक्ष भगिरथ आलेले आश्वासन अनुसारको सहयोग नगरेको आयोजक क्लबको गुनासो छ । क्लबका अध्यक्ष भक्त खवासले राम्रो टिम र खेलाडी ल्याउन संघले असहयोग गरेको, झापामा सबैभन्दा बढी दर्शक बटुल्न सफल हुँदै आएको झापा ११ टिमलाई बेवास्ता गरेको र प्राप्त हुने चन्दामा समेत फुटबल संघले उचित पहल नगरेको आरोप लगाएका छन् ।
झापा जिल्ला फुटबल संघका अध्यक्ष आलेले भने क्षमता भन्दा ठूलो प्रतियोगिता आयोजना गर्नु र घाटा लागेपछि अरुलाई दोष लगाउनु गलत भएको बताएका छन् । उनले भने–‘जायोन क्लबले झापा गोल्डकपको बिपक्षमा गएर प्रतियोगिता आयोजना गरेको हो, मैले अफसिजन भएकाले प्रतियोगिता नगर्नु भनेको थिए, दर्शक आएनन घाटामा गयो ।’ तोकिएको पुरस्कार रकम नदिएर जायोन क्लबले ठगी गरेको उनको आरोप छ । उनले पुरस्कार रकम नदिएको बिषयमा एन्फाले छानविन गरेर कारवाही अगि बढाउने समेत बताए ।
आयोजकले पुरस्कार रकम भुक्तानीका लागि चैत्र मसान्तसम्मको समय लिएको खवासले बताए । क्लबले कार्तिक १६ गतेदेखि २४ गतेसम्म आयोजना गरेको प्रतियोगितामा बिजेता टिमलाई १२ लाख ५० हजार र उपबिजेता टिमलाई ६ लाख २५ हजार रुपैंयाँ पुरस्कार दिने बताएको थियो । गत बर्ष सम्पन्न झापा गोल्डकपले १२ लाख ५५ हजार रुपैंयाँ पहिलो पुरस्कार प्रदान गरेको थियो । जायोनले दुबै पुरस्कार बापतको १८ लाख ७५ हजार रुपैयाँ दिन सकेको छैन ।