दमक/ अहिले शेयर बजारमा अवसर धेरै र जोखिम निक्कै कम भएको शुक्रबार दमकमा आयोजित एक शेयर बजारसम्बन्धी कार्यक्रममा वक्ताहरूले जोड दिएका छन् । उनीहरूले लगानीका अन्य क्षेत्र जस्तै शेयर बजार पनि उत्तम विकल्प भएको र अहिले लगानी गर्दा थोरै जोखिम र धेरै अवसर भएको दाबी गरे ।
नेपाल पुँजीबजार लगानीकर्ता सङ्घको सहयोग र दमक जेसिजको आयोजनामा शुक्रबारदेखि शुरु भएको ३ दिने शेयर बजारसम्बन्धी आधारभूत तथा टेक्निकल एनालाइसिस तालिमको उद्घाटन कार्यक्रमका वक्ताहरूले त्यस्तो बताएका हुन् । कार्यक्रमकी प्रमुख अतिथि नेपाल पुँजीबजार लगानीकर्ता सङ्घकी केन्द्रीय अध्यक्ष राधा पोखरेलले अहिले शेयर बजारमा चुनौती कम र अवसर धेरै भएकोले लगानीको वातावरण भएको बताइन् ।
स्थिर सरकार, अर्थतन्त्र सुधारात्मक, सञ्चय कोष, नागरिक लगानी कोष र बिमा कम्पनीलाई शेयर बजारमा स्टक डिलरको काम दिने व्यवस्था भएको छ ः पोखरेलले भनिन् ः ठूला लगानीकर्ता र मारवाडी समुदाय पनि शेयरमा प्रवेश गरेको अवस्था छ । उनले सरकारी खर्च बढेको, चक्रीय हिसाबले पनि बजार बढ्ने अवस्थामा रहेकोले पनि लगानीको अवस्था राम्रो रहेको दाबी गरिन् । शेयरमा लगानी गर्दा सुन र पित्तल छुट्याएजस्तै कम्पनी पनि छनौट गरेर लगानी गर्न उनले सबैलाई सुझाव दिइन् ।
शेयरमा लगानी गरे बचत गर्ने बानी बस्छ ः उनले अगाडि भनिन् ः शेयरमा लगानी गरे युवाहरू विदेश जाने क्रम पनि घट्नेछ । शेयर बजारमा देखिएका समस्याहरू सरकारले क्रमशः सम्बोधन गरिरहे पनि अझै धेरै समस्या सम्बोधनका लागि सङ्घले अर्थमन्त्रीलाई अनुरोध गरिरहेको पनि पोखरेलले जानकारी दिइन् ।
कार्यक्रममा नेपाल जेसिजका पूर्व राष्ट्रिय अध्यक्ष प्रकाश अधिकारीले शेयर बजारबारे लगानीकर्ता र नेपाल जेसिजबीच सहकार्य गरेर अघि बढ्न सकिने बताए । नेपाल पुँजीबजार लगानीकर्ता सङ्घका प्रदेश नं. १ का संयोजक सुवास भट्टराईले सङ्घले आगामी दिनहरूमा प्रदेश नं. १ का विभिन्न स्थानमा शेयर बजारसम्बन्धी तालिमहरू आयोजना गर्ने जानकारी दिए ।
होटल कामक्षामा आयोजित तालिमको उद्घाटन सत्रको सञ्चालन दमक जेसिजका महासचिव सञ्जीव बराल र स्वागत मन्तव्य कोषाध्यक्ष विनोद मिश्रले व्यक्त गरे । दमक जेसिजका अध्यक्ष कमल कटुवालको सभापतित्वमा भएको कार्यक्रममा झापा, मोरङलगायतका जिल्लाका डेढ दर्जन बढी शेयर लगानीकर्ताहरू सहभागी छन् ।
आधारभूत तालिमहरू सञ्चालन भए पनि आधारभूतसँगै टेक्निकल एनालाइसिससम्बन्धी तालिम आयोजना भएको मेची अञ्चलमै सम्भवतः यो पहिलो हो । तालिमलाई शेयर सञ्चार डटकमका सगुन शाक्य र सन्दिप रानाले सहजीकरण गरिरहेका छन् ।