हामी दैनिक सडक दुर्घटनाका खबरहरू सुन्छौं । तथ्याङ्कहरूले नेपालमा सडक दुर्घटना बढिरहेको देखाउँछ । तर, दुर्घटना किन बढिरहेका छन् त ? भन्ने विषयमा गम्भीर अध्ययन अनुसन्धान भएको पाइँदैन । झट्ट हेर्दा दुर्घटनाका विविध कारणहरू देखिए पनि मुख्य कारण भनेको ट्राफिक नियमको पालना नगरिनु हो ।

ट्राफिक नियममा रहेर सवारी साधन चलाए दुर्घटना अवश्य कम हुन्छ । त्यसका लागि आम सर्वसाधारणमा सचेतना जगाउनु आवश्यक देखिन्छ । सवारीसाधनलाई चलाउँदा केही कुरामा ध्यान दिनु आवश्यक छ । जस्तो, आफ्नो सवारीसाधनमा पुग्नभन्दा पहिला कुनै क्षति पुगेको पो छ की भनि १० मिटर दुरीबाट हेर्नुपर्छ । त्यस्तै अतिरिक्त चक्का र ज्याक गाडीलाई एक चक्कर लगाएर हेर्ने, सबै चक्का ठिक अवस्थामा छ । गाडीमुनि कुनै बालक वा पशु खेलिरहेका छैनन् भनी निश्चित गर्नुपर्छ ।

गाडी चलाउनुअघि इन्धन, लुब्रिकेन्ट, पानी चेकगर्नु पर्छ । गाडीको आवश्यक कागजात पनि चेक गर्नु जरुरी छ । त्यसपछि हेडलाइट, साइडलाइट, ब्रेकलाइड चेक गर्नुपर्छ । चालकसिटमा बसेर हेनब्रेक चेक गर्ने अनि गिएर न्युट्रलमा राख्नुपर्छ । त्यस्तै गाडीको सिट र सबै ऐना मिलाउनुपर्छ । त्यसैगरी सेफ्टी बेल्ट लगाउनुपर्छ ।

गाडीको इन्जिन स्टार्ट गरेपछि अगाडि बढ्नु भन्दा पहिला पछाडिको गतिविधि ऐनामा हेरेर दाहिनेतिर बतिको सङ्केत (इन्डिकेटर) बाल्नुपर्छ । त्यसपछि दोहोराएर ऐनामा चेक गर्नुपर्छ । अगाडि बढ्नुभन्दा पहिला फर्केर आफ्नो कुम माथिबाट पछाडि हेर्ने अनि नियम पालना गर्दै सामान्य गतिमा गन्तव्यतिर लाग्नुपर्छ । यसरी सुरक्षित यात्राको शुरुवात गर्न सकिन्छ ।
निरन्तर यात्रा गर्न पहिला फुटब्रेक चेक गर्नुपर्छ । सवारीसाधन तीव्र गतिमा हाकेमा वा क्षमताभन्दा बढी लोड बोकेमा ब्रेकले काम गर्दैन । ब्रेकले काम नगर्दा दुर्घटना हुन्छ । त्यसैले कहिले पनि तीव्र गतिमा हाक्न र क्षमता भन्दा बढी लोड बोक्न हुँदैन ।

यात्रामा मापसे : आत्महत्या प्रयास
अस्वस्थ लागेमा वा मापसे गरेको बेला गाडी चलाउनु आत्महत्या प्रयास गरे जस्तै हो । थकित महसुस भएमा बिसाएर मात्रै चलाउनुपर्छ ।लामो दुरीको यात्रामा चलाउँदा २ जना चालक अनिबार्य चाहिन्छ । गाडी चलाउँदा सडकमा हुनसक्ने सबैखाले जोखिमबाट कसरी सुरक्षित हुनेभनि हमेशा सतर्क रहँदै पछाडिको ट्राफिक गतिविधि पनि छिनछिनमा ऐनमा चेक गरिरहनुपर्छ । आफूभन्दा पछाडिको गाडीले ओभरटेक गर्ने मनसाय देखायो भने र ओभरटेक गर्न उसलाई अगाडि सुरक्षित छ भने बायाँतिरको बति बाली सङ्केत दिनुपर्छ । त्यसका लागि गति घटाउने र आफ्नो गाडीलाई सडकको बायाँतर्फ सेपेर उसलाई ओभरटेक गरी अगाडि जान सहज बनाइ दिनुपर्छ ।

सडकको साइनबोर्डमा देखाइएका ट्राफिक चिह्नहरूलाई सँधै पालना गर्नुपर्छ । साइनबोर्डमा भएका रातो त्रिकोण भित्र देखाइएका चिन्हहरू ‘अगाडि जाँदा भेटिनेछ’ भन्ने चेतावनीका सङ्केत हुन् । त्यस्तै रातो गोलाकार भित्र देखाइएका चिन्हहरू सबै मान्नु पर्ने आदेशका सङ्केतहरू हुन् । त्यसैगरी निलोमा देखाइएका सङ्केतहरू दिशा निर्देशन हुन् । ट्राफिक लाइटमा रातो देखाएमा रोक्नु पर्दछ । पहेँलो देखाए रोक्नका लागि अथवा अगाडि बढ्नु तयारी हुनुपर्दछ । हरियो देखाएमा जान सकिन्छ भन्ने सङ्केत हो । सङ्केतमा अन्योल लागेमा फोन नं. ९८५११०६७९४ मा सोध्नुभयो भने सहयोग गर्न तयार छु ।

कुन रेखाको के हुन्छ अर्थ ?
सडकको बीच सतहमा लेन छुटाउन लगाइएको छोटोछोटो टुक्राका रेखा सामान्य चिन्हहरू हुन् । यस्ता चिन्ह भएका ठाउँहरूमा ओभरटेक गर्न सकिन्छ । सडकको बीच सतहमा लेन छुट्याउन लगाइएका रेखा टुक्रिएको छैन भने र निरन्तरता भए ओभरटेक गर्न जोखिम हुनेछ भन्ने सङ्केत हो । त्यस्तो ठाउँमा ओभरटेक गर्नुहुँदैन ।

सडकको बीच सतहमा लेन छुट्याउन लगाइएको सेतो रेखा निरन्तर र दोहोरो भए ओभरटेक गर्न निषेधित गरिएको सङ्केत हो भन्ने बुझ्नुपर्छ । सडकको सतहमा पहेँलो रेखा कोरिएको छ भने, त्यसले जोखिमको चेतावनी सङ्केत गरेको बुझ्नुपर्छ ।

सङ्केत बुझौं
यात्राको क्रममा बिसाउनु पर्ने भए, जस्तै ः आफ्नो गाडीको गति कम भएकोले साना सडकमा पछाडि ट्राफिक जाम भएमा अथवा दिसा–पिसाब गर्न परेमा ऐनामा पछाडिको अवस्था चेक गर्ने, बाँयाँतिर बतीले सङ्केत गर्ने, गिएर घटाउने र रोक्ने सधै ऐनामा दोहोराएर हेर्ने गर्नुपर्छ । लामोसमयसम्म सडकमा रोकेर बस्नु पर्नेभए अथवा गाडी बिग्रियो भने हाजार्ड बत्ती बाल्नुपर्छ । सडकको बायाँपटी चलाउने मुलुकमा, गाडी बिसाउँदा बायाँ सङ्केत दिएर सडकको बायाँपटी बिसाइन्छ । यसोगर्दा, पछाडिबाट आउने गाडीले, बायाँतिर साङ्केतिक बती दिएर बसेको गाडीलाई त्यो गाडी बिसाएको छ वा बायाँतिर मोडिनेछ भनी बुझ्नेछ । त्यसो भए, ओभरटेक गरी जान सुरक्षित छ भनी बुझ्नेछ ।

सडकको बायाँतिर बिसाएर दाहिनेतिर बतीको सङ्केत कहिले पनि दिनु हुँदैन । त्यो कृत्रिम हो र गलत हो । त्यस्तो ट्राफिक सङ्केत संसारमा कसैले प्रयोग गर्दैन । त्यसैले अन्योल सृजना हुन्छ अनि दुर्घटनाको जोखिम बढ्छ । अहिले धेरैले सडकको बायाँतिर बिसाएर दाहिनेतिर सङ्केत दिने अभ्यास गरिरहेका छन् । दाहिने मोडिनु पर्ने भए र दाहिनेतिरका लेनमा बदल्नुपर्ने भएमात्रै दाहिने बतीको सङ्केत दिनुपर्छ । अगाडिको गाडी दाहिनेतिर मोडिदै गरेको अवस्थामा बाहेक, बायाँ पछिबाट कहिले पनि ओभरटेक गर्नु हुँदैन । सडकका जोड्तीहरूमा रोकेर र हेरेर मात्रै मोडिनु अनि अगाडि बढ्नुपर्छ । हर्न बजाउँदैमा सुरक्षित भइन्छ भन्ने भ्रमबाट मुक्त हुनुपर्छ । अहिले हर्न बजाउँदै नियम उल्लङ्घन भइरहेको छ ।

ऐनाको महत्व
यात्राको क्रममा, दायाँपटिको शाखा सडकतिर मोडिनु पर्दा, जोड्ति पुग्नु अगावै ऐना चेक गर्नुपर्छ । दायाँ बतीको सङ्केत दिने, गति छटाउने, ठिक मोडिने ठाउँमा जाने । फेरी एकपटक ऐना चेक गर्ने अनि सडक खाली र सुरक्षित भए, दायाँ मोडिने गर्नुपर्छ । मोडिनु भन्दा पहिला एकपटक फेरी ऐनामा पछाडिको गतिविधि चेक गर्नुपर्छ । बायाँपटिको शाखा सडकतिर मोडिनु पर्दा जोड्ती पुग्नु अगावै ऐना चेक गर्नुपर्छ । बायाँ बतीको सङ्केत दिने अनि गति घटाउने गर्नुपर्छ । फेरि एकपटक ऐना चेक गरेर सडक खाली र सुरक्षित भएको विश्वस्त भएपछि मात्र बायाँ मोडिनुपर्छ ।

शाखा सडकबाट मुख्य सडकमा जोडिएर मोडिनु पर्दा जोड्ती पुग्नु अगावै ऐना चेक गर्नु आवश्यक हुन्छ । त्यसपछि जानु पर्ने दिशातिर बतिको सङ्केत दिएर गति घटाउने र फेरि एकपटक ऐना चेक गर्ने अनि सडक खाली र सुरक्षित भए मोडिनुपर्छ । चक्रपथमा प्रवेश गर्न अगावै ऐना चेक गर्ने, गति घटाउने, चक्रपथमा प्रवेश गरिसकेका दाहिनेतर्फबाट आई रहेका गाडीहरूलाई जानदिने, त्यसपछि मात्रै चक्रपथमा प्रवेश गर्नु बुद्धिमानी हुन्छ । चक्रपथबाट निस्किदा बायाँ सङ्केत गर्दै निस्किने गर्नुपर्छ ।

लेन र गतिमा ध्यान दिऔं
राजमार्गमा चलाउँदा कम गतिमा चलाउने भए सबैभन्दा बायाँको लेनमा चलाउनु पर्छ । तर, राजमार्गमा निश्चित गति तोकिएको हुन्छ । त्यो गतिलाई मानेर चलाउनु पर्दछ । ओभरटेक गर्दा सही गति सही सङ्केत हुनुपर्दछ । ऐना चेक गर्ने तरिका सबैमा हमेशा लागु हुन्छ । गाडी बिग्रियो भने सुरक्षित हुनेगरी सडकको बायाँतर्फ धकेलेर राख्ने अनि गुडेर नजाओस भनेर चक्कालाई अड्याउनु पर्छ । सम्भब भए चेतावनीका लागि हाइलाइट कोण बिग्रिएको गाडीबाट करिब १५ मिटर दुरीमा राख्नुपर्छ ।

सडक दुर्घटना भएमा ट्राफिक पुलिसलाई तुरुन्त खबर गर्नुपर्छ अनि घाइते मानिसलाई प्राथमिक उपचार गर्ने र ज्यान बचाउने प्रयासमा लाग्नुपर्छ । दुर्घटनामा परेको गाडीलाई छुनुहुँदैन । सम्भव भए दर्घटना भएको सबै घटनाक्रम चित्रमा उतार्ने र फोटोपनि खिच्ने गर्दा पछिको लागि सहज हुन्छ । बाटोको अधिकारमा, को पहिला र को पछि भन्नेमा ध्यान दिनुपर्छ । मुख्य सडकमा गुडेकालाई पहिला जानदिने, त्यसपछि शाखा सडक बाट प्रवेश गर्ने गर्नुपर्छ ।

सडकमा होडबाजी नगरौं
सवारीसाधन चलाउँदा होडबाजी गर्दै हाँक्नु हुँदैन! मेशिनरी चिज भएकोले हेलचेक्राइँ पनि गर्नु हुँदैन। रातको समयमा सवारी चलाउदा विपरीत दिशाबाट आउने गाडीको चालकलाई आँखाले हेर्न अफ्ठ्यारो हुनेगरी हेडलाइटलाई हाई बिममा बाल्नु हुँदैन । त्यसो गरे दुर्घटना हुने प्रबल सम्भावना हुन्छ । चालकको ध्यान भङ्ग हुने भएकोले सवारीसाधन चलाउदा टेलिफोन र इएरफोन चलाउनु हुँदैन । सवारीसाधन चलाउँदा हरेक सेकेन्डमा दुर्घटना हुने सम्भावना हुने भएकोले, ट्राफिक नियमलाई नचुकी अथवा नबिर्सी सधंै पालना गर्नुपर्छ ।

सडक प्रयोगकर्ताहरू सबैले सहकार्य र एकअर्कामा सहयोग गरी सडकलाई सुरक्षित बनाउनु पर्दछ । यात्राको अन्तमा, विश्राम लिनुभन्दा पहिला, शुरुमा जे–जे चेक गरिएको थियो त्यही–त्यही चेक गर्नुपर्छ । विस्तारै चलाए अवश्य गन्तव्यमा पुगिन्छ तर तीव्र गतिमा चलाए दुर्घटनामा परिन सक्छ । त्यसकारण विस्तारै चलाएर गन्तव्यमा सुरक्षित पुग्न सबैलाई शुभकामना छ ।
(लेखक राई ब्रिटिस गोर्खा सैनिकका पूर्वक्याप्टेन हुन् । उनी ट्राफिक व्यवस्थापन सुधार्ने अभियानमा सक्रिय छन् । )