विश्व आज युद्धमा मडारिरहेको छ । शक्तिको होडबाजीले संसार आक्रान्त छ । केही महिनाअघि अमेरिका र उत्तरकोरियाको शीत युद्धले विश्वलाई तरङ्गित तुल्यायो । तर, यो भिडन्तमा उत्तर कोरियाको जित भयो । आफूलाई विश्वको एक्लो बादशाह मान्ने अमेरिकालाई सबै क्षेत्रमा कोरियाले हराइदियो । अमेरिकाको आणविक धम्कीलाई कोरियाले पनि आणविक हतियारको धम्कीले नै जवाफ दियो । अमेरिकाले अफगानिस्तान र सिरियामाथि आक्रमण गरेजस्तो उत्तर कोरियामाथि आक्रमण गर्न सकेन । उत्तर कोरियालाई विनाशकारी युद्धको मनस्थितिमा बाँचिरहेको तानाशाहको देश भन्छन् पश्चिमाहरू । उत्तर कोरियाले त्यसलाई प्नि झुटो प्रमाणित गरिदियो । आजै मिसाइल हानिने हो कि भन्ने त्रासको स्थितिलाई पर्लक्कै उल्ट्याएर दक्षिण कोरियासँग पारिवारिक मैत्रीभाव जगाउने काम अमेरिकाले गरेको होइन । त्यो काम पनि उत्तर कोरियाले नै गरेको हो । समग्रतामा डोनाल्ड ट्रम्पभन्दा बुद्धिमान् र शान्तिप्रिय देखिए उत्तर कोरियाली नेता किम जोङ उन । तर, यहाँ एउटा शब्द छ भनेर सोचे हुन्छ । अमेरिका जे जे भन्छ उत्तर कोरिया सोही सोही गर्छ भनेर कसैले नसोच्नु राम्रो हुन्छ । किम जोङ उनले हतियारको सन्दर्भमा अमेरिकालाई टक्कर दिँदा दिँदै शान्तिको पहल गरे । यस अर्थमा उनले कुटनीतिक युद्ध पनि जिते ।

किम जोङ उनले भनेका पनि छन्, ‘मलाई थाहा छ, अमेरिकीहरू हामीसँग स्वाभाविक रूपमा दुस्मनी साँध्छन् । तर, तिनीहरूले हतियारको कुरा गरे भने म, दक्षिणतर्फ प्रशान्त महासागर वा अमेरिकामा आणविक हतियार खसाल्न नसक्ने मान्छे होइन भन्ने तिनले थाहा पाउनुपर्छ । अमेरिकासँग विश्वासको वातावरण तयार भयो भने, आक्रमण नगर्ने सुनिश्चित गरियो भने हामी कठिनाइका साथ आणविक हतियार लिएर किन बस्छौं ?’ किमको भनाइ पढ्दा र अहिलेसम्मको अमेरिका–कोरियाको तनावको यात्रालाई हेर्दा भन्न सकिन्छ, त्यहाँ पनि किम जोङ उनको पक्ष भारी हुनेछ । उनको स्पष्ट भनाइ छ, ‘अमेरिकाले कोरियाली प्रायद्वीप आक्रमण नगर्ने सुनिश्चितता दिएमा खर्चिलो आणविक हतियार नष्ट गर्न उत्तर कोरिया तयार छ ।’ अर्थात् युद्ध समाप्त गरेर शान्ति स्थापना गर्नु भनेको दक्षिण कोरिया र जापानबाट अमेरिकी सैनिक घर फर्किनु हो ।

यो वर्तमान विश्वको सकारात्मक अनुहार हो, यदि अमेरिका विश्वशान्तिको पक्षधर भैदिन सक्यो भने । अहिले भकुण्डो अमेरिकाको हातमा छ । उसले युद्ध चाह्यो भने कोरिया युद्ध गर्न पनि तयार छ, उसले पूर्वी एशियामा शान्ति होस् र आणविक खर्च कटौती गरेर आफ्नो पैसा अन्यत्र लगानी गर्न सकियोस् भन्ने चाह्यो भने अब विश्व शान्ति सुनिश्चित छ । अमेरिका नै विश्वयुद्धको मुख्य खतरा हो भन्ने सत्य स्थापित भएको समय हो अहिले । बीसौं शताब्दीको उत्तरार्ध र एक्काइसौं शताब्दीको आरम्भको इतिहास खोतल्ने हो भने यो सत्य सजिलै प्रमाणित हुन्छ ।

आधा शताब्दी अघिको कोरियाली युद्ध र भियतनाम युद्धको कारण अमेरिका नै थियो । कोरिया र भियतनामले युद्ध चाहेका थिएनन् । अमेरिकाले उनीहरूको भूमिमा आक्रमण नगरेको भए उनीहरू अमेरिकाको विरुद्ध जाइलाग्ने थिएनन् । पछिल्ला दिनमा अफगानिस्तान पनि अमेरिकामाथि आक्रमण गर्न गएको थिएन । इराकले त खालि आफ्नो स्वतन्त्रता खोजेको थियो । तर, यी दुवै मुलुक अमेरिकी आक्रमणबाट ध्वस्त पारिए । अहिले सिरियाले पनि अफगानिस्तान र इराककै नियति भोग्नु परिरहेको छ । इराक र अफगानिस्तानलाई ध्वस्त पारेपछि अमेरिका सरक्क आफ्नो घरमा फर्किए जसरी सिरियाबाट उसले पनि बहिर्गमन गर्नै पर्छ । तर, त्यतिबेलासम्म सिरिया एउटा कङ्काल भइसक्नेछ ।

बाराक ओबामालाई अपवाद मान्ने हो भने अमेरिकी राष्ट्रपतिहरू आफूलाई विश्वको शाहन्साह ठान्छन् । तर, किन ? मैले बुझ्न सकेको छैन । संसारभरि उनीहरूको मनमाफिकको कानून लागु हुनुपर्छ भन्ने कुन आधारको तर्क हो । उनीहरू पनि औपनिवेशिक शासन खेपेरै आएका हुन् । के अमेरिकी सभ्यतामा मानवता मरिसकेको छ ? यदि हो भने अमेरिकी ‘थिंक ट्याङ्क’ हरूले सोच्ने बेला यही हो । हिजो दुई ध्रुवीय विश्व थियो–अमेरिका र सोभियत सङ्घ । अहिले त्यस्तो छैन । अहिले जताततै ध्रुव बनेका छन् र कोही पनि हिजो जस्तो एक ध्रुवको पछौटे हुने अवस्थामा छैनन् । अहिले क्षेत्रीय शक्तिहरू बलशाली बन्दैछन् । संयुक्त राष्टूसङ्घको स्थायी सदस्यमा दक्षिण अमेरिकाबाट ब्राजिल र अफ्रिकाबाट दक्षिण अफ्रिकाको प्रतिनिधित्व हुनुपर्ने यही क्षेत्रीय शक्तिको बलशाली अभिव्यक्ति हो ।

यति मात्र होइन, अमेरिकालाई उत्तर कोरियाले समेत टक्कर दिएको समय हो यो । इरानले पनि अमेरिकालाई प्रभु मानेको छैन । अमेरिकाले भर्खरै इरानी प्रभावशाली नेता सुलेमानलाई मार्दा बदला स्वरूप इरानले हवाई आक्रमण गरेको थियो । फलस्वरूप अमेरिकी सैनिकहरूको ज्यानसमेत गएको थियो । सानो राष्ट्र कतारले समेत अमेरिकालाई शक्तिशाली भन्न मानेको छैन । अमेरिकाले आफ्नो क्षेत्र मानेको दक्षिण अमेरिकामा पनि अमेरिकी प्रभुत्व हिजो जस्तो छैन । मान्छेहरू अमेरिका र चीनको व्यापार युद्धले कस्तो विनाश निम्त्याउने हो भनेर आतङ्कित छन् । रुस र अमेरिकाको द्वन्द्वले हिजोको सोभियत सङ्घको शीतयुद्धलाई सम्झाउन थालेको छ । त्यतिबेला सोभियत सङ्घ कमजोर थियो, अमेरिकाको तुलनामा गरिब पनि थियो तर अहिलेको अवस्था त्यस्तो छैन ।

चीनको आश्चर्यचकित पार्ने विकासले अमेरिकी वर्चस्वलाई घाइते बनाउँदै लगेको छ । हिजोको जस्तो दक्षिण कोरिया, अमेरिकासँग टाँसिएर चीनलाई दुस्मन बनाउने पक्षमा छैन । दक्षिण कोरियाले चीनको शक्ति र विकासको बेग आँकलन गरेर चीनसँगको मित्रतालाई प्राथमिकतामा राखेको छ । दक्षिण कोरियाभित्र पनि अमेरिका परस्त दक्षिणपन्थी शक्ति बलियो छैन भन्ने सत्यलाई पछिल्लो चुनावले प्रमाणित गरिसकेको छ । कोरियाली शान्तिको सपना एक्लो किमको मात्र होइन, त्यो दक्षिण कोरियाका मुन जाय इनको पार्टीलाई जिताउने जनताको पनि हो । स्वयं दक्षिण कोरियाका राष्ट्रपति मुनको पनि हो । अमेरिका आफैसँग पर्याप्त साधन स्रोत भएको मुुलुक हो ।

संसारमा धनीहरूको सङ्ख्यामा पनि अमेरिका सबैभन्दा माथि छ । युद्धले पछिल्ला पचहत्तर वर्षमा अमेरिकालाई धनजनको विनाश बाहेक अरू केही दिएको छैन । हतियार बिक्रीबाट नाफा त धेरै होला तर त्यसको तुलनामा अमेरिकी जनताहरूमा कष्ट र पीडा धेरै भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प संसारकै शक्तिशाली हुने महत्वाकाङ्क्षाले विश्वयुद्ध निम्त्याउने सम्भावना तीव्र रूपमा बढ्दै गएको छ । अहिलेसम्म अमेरिकी राष्ट्रपति संंसारको सबैभन्दा शक्तिशाली मान्छे मानिएको छ । उनले परमाणु हतियार सम्पन्न सबै मुलुकका प्रमुखहरूसँग बसेर आणविक अस्त्रमुक्त विश्व निर्माण गर्ने काममा पहल गरे भने अमेरिकी राष्ट्रपतिको कति ठूलो मान हुँदो हो । राजनीतिले शत्रुता बढाउँछ, मित्रताले आत्मीयता बढाउँछ । हामी एक अर्कासँग हातेमालो गर्दै अघि बढौं । युद्धले विनाश निम्त्याउँछ मित्रताले शान्ति कायम गर्छ । आउनुहोस् हामी विश्वशान्तिको पक्षमा प्रार्थना गरौं ।