चीनको वुहान शहरबाट विश्वभर फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणले विश्वकै अर्थतन्त्रमा असर परिरहेको छ । चीन, इटाली, दक्षिण कोरिया कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित भएका छन् । भने युरोप र अमेरिकामा समेत फैलिरहेको छ । सङ्क्रमण फैलिएका देशमा त उत्पन्न भएको छ नै । नेपाल जस्ता सङ्क्रमणको खतरामा रहेका देशमा समेत आर्थिक समस्या बढिरहेका छन् । यही कारण नेपालको शेयर बजार खस्किएको छ । कोरोनाको त्रास दैनिक उपभोग्य सामग्रीको बजारमा पनि देखिएको छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्य अनुसार कोरोना भाइरस सङ्क्रमित मध्ये ३.४ प्रतिशतको मात्र मृत्यु भएको छ । ९६ प्रतिशत भन्दा बढी कोरोना सङ्क्रमित निको भएका छन् । त्यसमध्ये पनि ४० वर्षभन्दा कम उमेरका मानिसको मृत्युदर ०.२ प्रतिशत मात्र छ । तर, पनि यो भाइरस विभिन्न देशमा फैलिइरहँदा विश्वमै आतङ्कको रूप लिन थालेको छ । त्यसको असर अर्थतन्त्र र दैनिक जनजीवनमा परिरहेको छ ।

बजारमा अहिले मास्क, ग्यासदेखि खाद्यान्न सामग्रीहरूमा कालोबजारी बढ्दो छ । हल्लाको भरमा उपभोक्ता घरायसी सामग्रीको जोहो गर्न भन्दै आवश्यक भन्दा बढी सामग्री थुपारिरहेका छन् अनि यही मौकामा व्यापारीहरूले सामग्री लुकाउन थालेका छन् । त्यसैले सरकारले ग्यास र खाद्यान्न पर्याप्त रहेको बताइरहँदा बजारमा भने अभाव देखिन थालेको छ । ग्यास डिलरमा लामो लाइन लाग्न थालेको छ । उपभोक्ताले बढी सामग्री खरिद गरिदिँदा र व्यापारीले लुकाइदिँदा बजारमा समस्या देखिन थालिसकेको छ । बजारमा उपभोग्य सामग्रीमा समस्या देखिन थालेपछि स्थानीय तहले अनुगमन त थालेको छ तर यो त्यति प्रभावकारी हुन सकेको छैन । नेपाल मात्र होइन विश्वमा नै कोरोना भाइरसको खतरा छ । त्यसको अर्थ सावधानी अपनाउनु आवश्यक छ तर बजारमा हारालुछ गरेर समान खरिद गर्न थाल्नु जरुरी छैन । व्यापारीहरूले पनि यस्तो बेला मौकाको फाइदा उठाउन खोज्नु गलत हो । यस्तो गर्नु कालाबजारी हो । यस्तो कार्यलाई निरुत्साहित गरिन आवश्यक छ । बजारमा उपभोक्ता र व्यापारी दुवै अतालिएको र हतारिएको अवस्थामा देखिएका छन् । त्यसको मार अन्ततः सामान्य उपभोक्तामा नै पर्ने हो ।

अहिले बजारमा सबैभन्दा भीड ग्यास डिलरहरूमा देखिन्छ । नेपाल आयल निगमले पर्याप्त ग्यास रहेको भन्दै आधारहीन हल्लाको पछि नलाग्न सूचना जारी गरे पनि उपभोक्ताहरू घरमा ग्यास सिलिन्डर थुपार्ने अभियानमा छन् । एउटैले पाँचदेखि दश सिलिन्डर लाने गरेको ग्याँस विक्रेताहरू बताइरहेका छन् । बजारमा फैलिएको यस्तो हल्लालाई रोक्न स्थानीय सरकारले आवश्यक कदम चाल्नु आवश्यक छ । हल्लै हल्लामा बजारमा खाद्य सामग्री अभावदेखि कालाबजारी मौलाउने गरेका छन् । विश्व सङ्कटको यस्तो अवस्थामा व्यापारीहरूले पनि नाफाको मात्र मुख हेरेर समान लुकाउने र बढी मूल्यमा विक्री गर्ने कार्य गलत हुन् । त्यस्तो धन्दालाई नियन्त्रण गरिनु आवश्यक छ । बजारमा ग्यास लगायतका दैनिक आवश्यक सामग्रीमा देखिन थालेको समस्या बेलैमा नियन्त्रणमा लिन नसके यसले ठूलो समस्या निम्त्याउने निश्चित छ । त्यसैले स्थानीय सरकारले त्यसलाई रोक्ने र बजारमा सहज वातावरण बनाउनेतर्फ ध्यान दिनु आवश्यक छ । कालाबजारी बढ्ने सम्भावना रहेको यस्तो अवस्थामा उद्योग, व्यापारसँग सम्बन्धित सङ्घ संस्थाहरूले पनि उपभोक्तालाई र बजारलाई सहज बनाउन भूमिका खेल्नुपर्छ ।