विराटनगर/ नेपाल टेलिकम पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरले दुई वर्षको लागि करारमा खोलेको सुरक्षा गार्डको आपूर्तिमा अनियमितता भएको आरोप लागेको छ ।
टेण्डर प्रक्रियामार्फत् खोलिएको बोलपत्रमा कम मूल्याङ्कन कबुल गरेको कम्पनीलाई अस्वीकृत गरी १ लाख ४४ हजार २ सय ८० रुपैयाँ बढी मूल्याङ्कन गरिएको काठमाडौंको कान्तिपुर सेक्युरिटी प्रालिको नाममा टेलिकमले स्वीकृतसहितको आशयपत्र जारी गरेपछि अनियमितताको आरोप लागेको हो ।
नेपाल टेलिकम क्षेत्रीय कार्यालयले पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय अन्तर्गतका कार्यालयहरूमा रहेको उपकरण र भवनको सुरक्षाका लागि गत २४ कात्तिकमा २ सय १६ जना सुरक्षागार्ड आपूर्तिको लागि करारमा लिन बोलपत्रको सूचना प्रकाशित गरेको थियो । २ वर्षको करारको समय राखेर १० करोड बजेटमा टेलिकमले सुरक्षागार्डको टेण्डर खुलाएको थियो ।
उक्त सूचना जारी भएपछि काठमाडौंका कान्तिपुर, डिलक्स, विराटनगरका विराट गोर्खा र ब्लुवर्ड हिमालय सुरक्षागार्ड प्रा.लि. ले कबुल रकम उल्लेख गरेर शिलबन्दी बोलपत्र पेश गरेका थिए । शिलबन्दी बोलपत्र पेश गरेकामध्ये हाल टेलिकममा सुरक्षागार्ड राख्दै आएको ब्लुवर्ड हिमालय सुरक्षागार्ड प्रा.लि.ले पनि आवेदन दिएको थियो ।
गत मङ्सिर २४ गते बोलपत्र फारम खुल्दा विराट गोर्खाले ९ करोड ५६ लाख ६ हजार ८ सय १९, कान्तिपुरले ९ करोड ६२ लाख ९० हजार ४ सय ३५ रुपैयाँ, ब्लुवर्डले ९ करोड ६३ लाख ७० हजार १ सय ६ र डिलक्स सेक्युरिटीले ९ करोड ६० लाख ७० हजार ९ सय ४२ रूपैयाँ कबुल गरेका थिए । ‘सेल्स टन ओभर’ नपुगेको र सम्झौताका शर्तहरू पूरा नगरेको कारण देखाउँदै आवेदन दिएकामध्ये सबैभन्दा कम कबुलियत रकम राख्ने विराट गोर्खा सेक्युरिटी प्रा.लि.को आवेदन अस्वीकृत गरी टेलिकमले २४ माघमा कान्तिपुर सेक्युरिटी प्रा.लि.को आवेदन स्वीकृत गरी आशयपत्र जारी गरेको थियो ।
स्रोतका अनुसार कान्तिपुर सेक्युरिटीले व्यवस्थापन खर्चबापत प्रतिजवानको मासिक पारिश्रमिकको अधिकतम १० प्रतिशत अर्थात ८ सय रुपैयाँको दरले घटाएर जम्मा ९ वटा विवरण उल्लेख गरी ९ करोड ६२ लाख ९० हजार ४ सय ३५ रुपैयाँ कबोल गरी विवरण पेश गरेका थिए । सो रकम उल्लेख गर्दा कान्तिपुर तेस्रो स्थानमा हुन आउँछ । विराट गोर्खाको आवेदन अस्वीकृत हुने सूचना कर्मचारीबाट चुहावट भएपछि कान्तिपुरले कबुल रकम हेरफेर गरी सबैभन्दा कम मूल्याङ्कन गरेर राखेको स्रोतको दाबी छ । विराट गोर्खापछि दोस्रोमा डिलक्स सेक्युरिटीले २ लाख १९ हजार ४ सय ९३ रुपैयाँ कम कबुल गरेको थियो ।
रातारात मिलेमतोमा कान्तिपुर सेक्युरिटी प्रा.लि.ले ९ करोड ५७ लाख ५१ हजार ९९ सय रुपैयाँ कबुल रकम कम मूल्याङ्कन देखाएर टेण्डर स्वीकृत भएको आशयपत्र जारी गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा परेको उजुरीमा उल्लेख छ ।
विराट गोर्खा सेक्युरिटी प्रा.लि.का सञ्चालक रामकुमार श्रेष्ठले टेलिकमले खुलाएको सुरक्षागार्डको आपूर्तिमा गैर कानूनी एवम् एकपक्षीय ढङ्गबाट निर्णय गरेको भन्दै छानबिन गरी कारबाहीको माग राख्दै गत माघ २६ गते अख्तियारको कार्यालमा उजुरी दर्ता गराएका छन् । सार्वजनिक खरिद ऐनको व्यवस्थालाई ख्याल नगरी नेपाल टेलिकम क्षेत्रीय कार्यालयले गैरकानूनी तरिकाले एकपक्षीय ढङ्गबाट निर्णय गरेको विराट गोर्खाका सञ्चालक श्रेष्ठको भनाइ छ ।
‘आवेदन दिएकामध्ये सबैभन्दा न्यून रकम कबुल गर्नेलाई अस्वीकृत गरिएको छ’ उनले भने, ‘तेस्रो स्थानमा रहेको कान्तिपुर सेक्युरिटीलाई स्वीकृत गरिएको पाइयो । टेलिकमले गैरकानूनी तरिकाले गरेको निर्णय विरूद्ध उजुरी दिएको हुँ ।’ विराट गोर्खाका सञ्चालक श्रेष्ठले अख्तियारमा उजुरी दिएका दिन सुरक्षा गार्ड सेवा बोलपत्र पुनरावलोकन गरिनुपर्ने माग राख्दै नेपाल टेलिकमको केन्द्रीय कार्यालय काठमाडौंमा रहेको पुनरावलोकन समितिमा पनि निवेदन दिएका छन् ।
पुनरावलोकन समितिमा उजुरी परेपछि अहिले नेपाल टेलिकमले क्षेत्रीय कार्यालय विराटनगरले गरेको निर्णय १ महिनाको लागि स्थगित भएको छ । पुनरावलोकन समितिले सम्पूर्ण कागजपत्र झिकाएर अहिले छानबिन गर्दै आएको नेपाल टेलिकम क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख रामप्रसाद उपाध्यायले बताए । ‘आशयपत्र जारी भएपछि उजुरी परेको हो’ उपाध्यायले भने, ‘हामीले गरेको सम्पूर्ण निर्णयको कागजपत्र केन्द्रीय कार्यालयमा पठाएका छौं ।
पुनरावलोकन समितिबाट निर्णय आएपछि अबको प्रक्रिया अगाडि बढ्नेछ ।’ सुरक्षा गार्डको आपूर्तिमा टेण्डर प्रक्रियामार्फत् खोलिएको बोलपत्रमा कम मूल्याङ्कन कबुल गरेको र सम्पूर्ण प्रक्रिया पूरा गरेको कम्पनीको नाममा आशयपत्र जारी गरिएको नेपाल टेलिकम क्षेत्रीय कार्यालय विराटनगरले जनाएको छ ।