इनरुवा/ भारतमा समेत कोरोना भाइरसका सङ्क्रमित भेटिए पनि सुनसरीमा रोकथामको लागि कुनै तयारी नगरेको पाइएको छ । भारतमा ३२ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएको खबर आउँदासमेत सुनसरीमा त्यसका लागि रोकथामको उपायबारे विकल्प सोचिएको छैन ।
सुनसरीमा मात्रै भारतसँग खुल्ला सीमा जोडिएको ६५ किलोमिटर क्षेत्र छ । उक्त खुल्ला सीमाबाट सहजै जोकोही आवत–जावत गर्न सक्ने भए पनि प्रभावकारी कदम चालिएको पाइँदैन । सुनसरीका प्रमुख नाकाबाहेकका सबै सीमा जोडिने भेगमा सुरक्षाकर्मीको उपस्थिति छैन ।
कोरोनाले विश्व आक्रान्त भइरहँदा समेत नेपाल सरकारले सावधानीका लागि सार्वजनिक अपिलदेखि मातहतमा आवश्यक तयारीसहितको निर्देशन जारी गर्दा सुनसरी भने हालसम्म भगवान भरोसामै चलिरहेको छ । खुल्ला सीमाका कारण तस्करी नियन्त्रणलाई शून्यमा झार्न नसकेको सुरक्षा निकायका लागि कोरोना नियन्त्रणका कदम चाल्नु पक्कै सहज नहोला । उसका लागि आवश्यक स्रोत साधनसमेत उपलब्ध छैनन् । हेल्थ डेस्क राखिएका छैनन् । निर्वाधरूपमा नाकाबाट भारत र नेपाल आवत–जावतको क्रम चलिरहेको छ ।
प्रदेश सरकारले सबै नाकामा सुरक्षा सतर्कतासहितको हेल्थ डेस्क राख्न निर्देशन दिएको भए पनि सुनसरीका नाकामा भने सो व्यवस्था हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय सुनसरीसमेत कोरोनासम्बन्धी कुनैपनि गतिविधि सीमामा सञ्चालनमा भएको भन्ने विषय आफ्नो जानकारीमा नभएको बताउँछ । प्रहरी प्रमुख यज्ञविनोद पोखरेल स्वास्थ्य कार्यालयले डेस्कसहितको व्यवस्था मिलाउनु पर्ने बताउँछन् ।
पोखरेलले सुरक्षाकर्मीको उपस्थितिमा कोरोनाविरुद्धको कुनै पनि गतिविधि सञ्चालनमा नभएको बताए । पोखरेलले आफूहरूलाई कुनै पनि निर्देशन प्राप्त नभएको समेत बताए । सुनसरीमा भण्टाबारीसहित लौकही, श्रीपुर, साहेवगञ्ज, कप्तानगञ्ज, घुस्की, चिमडीजस्ता नाका बढी मात्रामा प्रयोगमा आउने गरेका छन् । भण्टाबारीमा दिनहुँजसो भारतीयहरूको ठूलो जमघट हुने गर्छ । कोशी ब्यारेजसहित कोशीटप्पु आरक्षका साथै पूर्वको भेडेटारसम्मको अवलोकन र भ्रमणमा दैनिक दर्जनौं सवारीसहित भारतीय नागरिक सुनसरी भित्रिने गर्छन् ।
बिहारलगायतका क्षेत्रमा मदिरा सेवनमा रोक रहेकाले समेत दैनिक ठूलो सङ्ख्यामा युवाजमात सुनसरीको भण्टाबारी, लौकही, इनरुवा, इटहरीजस्ता क्षेत्रमा निर्वाध आउजाउ गर्ने गरेका छन् । खुल्ला सीमा भएकैले भारतीय बजारमा गई किनमेल गरी फर्किनेको लर्को पनि लामो छ । त्यसमा पनि सुरक्षाकर्मीको आँखा छली जहाँतहीँबाट आउजाउ गर्नेको जमातसमेत सुनसरीमा उत्तिकै छ । भारतसँगको सिधा सम्बन्ध मात्रै नभएर कामदार सहित अन्य विविध हिसाबले दुई देशीय आउजाउ निर्वाध रहेको सुनसरीका नाकामा हेल्थ डेस्कसहितको तयारी थाल्न ढिलाइ गर्न नहुने सञ्चारकर्मी राजेन्द्र पोखरेल बताउँछन् ।
भारतमा सङ्क्रमितको सङ्ख्या थपिँदै गर्दा खुल्ला नाका रहेको सुनसरीमा सङ्क्रमण नआउला भन्ने दाबी गर्न नसकिने उनको भनाइ छ । पोखरेल दुर्घटना निम्तिनुभन्दा पहिला नै सावधानीमा जुट्नु उत्तम हुने बताउँछन् । उता स्वास्थ्य कार्यालय सुनसरी सम्भावित कोरोना सङ्क्रमणको विषयमा अलमलमै देखिएको छ । कार्यालय प्रमुख सागर प्रसाईंका अनुसार केही स्थानीय तहमा सचेतना कार्यक्रम सञ्चालनमा ल्याइएका छन् । स्थानीय तहमा क्रमशः स्वास्थ्यकर्मीहरूलाई प्रशिक्षण गराई जनचेतना अभिवृद्धिका लागि परिचालनको तयारी भइरहेको प्रसाईंले बताए ।
त्यसको अलावा धरानमा १० शøयाको आइसोलेसन वार्ड राखिएको बताउने प्रसाईं इनरुवा अस्पतालमा समेत त्यस्तो शøया राख्ने तयारीमा जुटेको उनी बताउँछन् । उनले सीमामा भने अहिलेसम्म कुनै हेल्थ डेस्क सञ्चालनमा आइनसकेको बताए । ठोस निर्देशन र स्रोत साधन अभावमा के गर्ने नगर्ने भन्ने विषय नै अन्यौलमा रहेको प्रसाईंको भनाइ छ । भाण्टाबारी नाकामा डेस्क सञ्चालनमा ल्याउने निर्णय भएको बताउने प्रसाईंले डेस्कमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि आवश्यक सुरक्षित पोसाक नभएकाले सञ्चालनमा ल्याउन नसकिएको बताए ।
उनले स्रोत साधन अभावमा सबै स्थानमा डेस्क सञ्चालनमा ल्याउन भने नसकिने जनाए । प्रसाईंले भारतको दिल्लीमा कोरोना सङ्क्रमण देखिएको हुँदा त्यसको असर सुनसरीमा नपर्ला भनी ढुक्कसाथ रहन भने नमिल्ने बताए । उनले सर्वसाधारणलाई स्वयम् सचेत र सावधानी अपनाउनसमेत आग्रह गरे ।
खुल्ला नाकाका कारण सुनसरी संवेदनशील रहेकोे स्वास्थ्य प्रमुखको भनाइ र कार्यालयको तयारी पर्याप्त नदेखिएको बताउने स्वास्थ्यका जानकारहरू सुनसरीसँगको खुल्ला नाकाबाट कोरोना सङ्क्रमण र सङ्क्रमित भित्रिन नदिने सवाल अहिलेसम्म भगवान भरोसामा रहेको बताउँछन् ।
यता सुनसरी प्रशासनले केन्द्रको आदेशबमोजिम जिल्लामा सभा, सम्मेलन र भेलाजस्ता कार्यक्रममा रोक लगाएको छ । होली पर्वलाई सामान्य रूपमा मात्रै मनाउन प्रशासनले आग्रह गरेको छ । त्यसको अलावा अन्य रोकथामका कार्यहरू भने प्रशासनबाट हुन नसकेको स्थानीयको भनाइ छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेल भने केन्द्रको सर्कुलरअनुरूप सुनसरीमा समेत सावधानी अपनाइएको बताउँछन् । उनले स्वास्थ्य कार्यालयलाई स्वास्थ्यकर्मीलाई बिदामा नछाड्न भनिएको बताए । शङ्कास्पद व्यक्ति भेटिए उपचारका लागि समन्वय गर्न स्वास्थ्य संस्थाहरूलाई भनिएको पौडेलले बताए । सीमामा हेल्थ डेस्क राख्ने विषयमा भने तत्कालका लागि आवश्यकता महसुस नगरिएको प्रजिअ पौडेलले बताए ।
उनले भारतसँग सीमा जोडिएका नाकाहरूमा निर्वाध आउजाउ भए पनि हेल्थ डेस्क सञ्चालनमा ल्याउनु पर्ने अवस्था भने तत्काल महसुस नगरिएको सुनाए । उनले भण्टाबारीमा डेस्क राख्ने विषयमा बैठकमा चर्चा भए पनि आवश्यकता महसुस गरेपछि मात्र राखिने जानकारी दिए । प्रशासनले स्थानीय स्तरमा भने सावधानी अपनाउन सचेतना कार्यक्रमहरू सञ्चालनमा ल्याउन निर्देशन दिएको जनाएको छ ।
उता प्रशासनको तयारी र भनाइलाई सीमावासीले भने व्यङ्ग्य गर्दै भगवान भरोसाको संज्ञा दिएका छन् । उनीहरू भन्छन्, ‘सुनसरीमा कोरोना आउँदैन, किनकी यहाँ भइरहेको तयारी देख्दा कोरोना भित्रिन नदिने जिम्मेवारी भगवान भरोसामा छाडिएको छ ।’ उनीहरूले विश्वव्यापी बन्दै गएको कोरोनालाई बेवास्ता नगर्न सुझाउँदै सुनसरी प्रशासनसहित जिल्लास्थित सरोकारवालाहरूलाई दुर्घटना निम्तिनुपूर्व नै आवश्यक तयारीमा जुट्न आग्रह गरेका छन् ।