ताप्लेजुङ / चीनको तिब्वतसँग सिमाना जोडिएको ताप्लेजुङमा कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जिल्ला प्रशासन कार्यालयले भीडभाड हुने मेला, गोष्ठी तथा सभा समारोह तत्कालका लागि आयोजना नगर्न आग्रह गरेको छ ।
शुक्रबार सार्वजनिक सूचना जारी गर्दै प्रशासनले यसबाट विचलित नभई संयमता अपनाउन आग्रह गरेको हो । चीन हुँदै विश्वका धेरै देशमा सङ्क्रमणका रूपमा फैलिरहेको अवस्थामा नेपाललाई पनि विश्व स्वास्थ्य सङ्गठनले उच्च जोखिममा राखेकाले कोरोनाको सङ्क्रमण फैलनबाट सबै सरोकारवाला पक्ष सचेत हुनुपर्ने प्रशासनको भनाइ छ ।
चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको ताप्लेजुङमा आवत–जावत हुने मुख्य नाका ओलाङ्चुङगोला बन्द छ । आसन्न होली पर्वमा भिज्ने, अबिर लगाउने, लोला हान्नेजस्ता कार्य नगर्न पनि प्रशासनको अनुरोध छ । यता रुघा–खोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने, घाँटीमा समस्या हुनेजस्ता लक्षण देखापरे तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न जिल्लावासीलाई सार्वजनिक सूचनामार्फत् आग्रह गरिएको छ ।