बिर्तामोड / जिल्ला प्रशासन कार्यालय झापाले यस वर्षको होली पर्वको समयमा एकै स्थानमा भीडभाड नगर्न अपिल गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को प्रकोप नियन्त्रण गर्न प्रशासनले होली पर्वप्रति नागरिकलाई अपिल गरेको हो ।

प्रशासन कार्यालयले सूचना निकालेर आउँदो होली पर्वलाई लक्षित गरी पानीमा नभिज्न, अबिर र लोला हान्ने कार्य नगर्न र एकै ठाउँ भीड नगर्न अनुरोध गरेको छ । त्यस्तै जिल्लामा धेरै मानिस जम्मा हुने सभा, समारोह, मेला, गोष्ठी, महोत्सवजस्ता कार्यक्रम नगर्न, शैक्षिक संस्थाहरूलाई धेरै मानिस भेला भएर गरिने वार्षिकोत्सवलगायतका कार्यक्रम नगर्नसमेत अनुरोध गरेको छ ।

यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सभा, मेला, महोत्सव तथा अत्यधिक मानिस भेला हुने कार्यक्रम आयोजना नगर्न सूचना जारी गरिसकेको छ । विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनमा समेत नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको छ । प्रशासनले कोरोना भाइरसको जोखिमबाट जोगिन नियमित रूपमा साबुन पानीले हात धुन, अनावश्यक भीडमा नजान र खोक्दा, हाछ्यँु गर्दा मुख छोप्न अनुरोध गरेको छ ।

मास्कको अभाव
झापाका मेडिकलहरूमा सर्जिकल मास्कको अभाव देखिएको छ । नेपालमा पनि कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने सन्त्रास बढेपछि यहाँका व्यवसायीले महँगो मूल्यमा स्टक रहेको सर्जिकल मास्क विभिन्न ठाउँमा निर्यात गर्ने र लुकाउने क्रम बढेपछि अभाव सिर्जना भएको हो । औषधि व्यवसायी सङ्घ मेचीका उपाध्यक्ष प्रदीप खरेलले जिल्लामा रहेका सबै मेडिकल तथा सर्जिकल सप्लायर्समा हाल मास्क नरहेको जानकारी दिए । ‘डिलरमै मास्क छैन, हामीसँग भएको पनि सकियो’ उनले भने, ‘मास्क ल्याउने प्रयास गरेका छौँ, कतै पाइएको छैन ।’

बिर्तामोडको झरना सर्जिकलका सञ्चालक ओम खड्काले मास्क चीनबाट आउने भएकाले चीनको बजार नखुलेसम्म झापामा सर्जिकल मास्क नपाइने बताए । उनले झापाका मेडिकलमा मास्कको अभाव भएको बताए । नाम उल्लेख नगर्न आग्रह गर्दै झापाका एकजना व्यवसायीले पहिले १ सय २८ रुपैयाँ प्याकेटमा पाइने मास्क अहिले काठमाडौंबाट १५ सय रुपैयाँमा आयात गरिरहेका छन् । झापाको बिर्तामोडमा मात्र २० वटाभन्दा बढी सर्जिकल पसल छन् । तर, उनीहरूले सर्वसाधारणलाई एक थान सर्जिकल मास्क दिन पनि इन्कार गर्दै आएका छन् ।

स्वास्थ्य कार्यालयको अनुगमन
मेडिकल व्यवसायीले मास्क लुकाएर कालोबजारी गरेको आशङ्कामा जिल्ला स्वास्थ्य कार्यालय झापाले बिर्तामोडका सर्जिकल पसलमा शुक्रबार अनुगमन गरेको छ । स्वास्थ्य कार्यालय प्रमुख ईश्वरी पौडेलको नेतृत्वको टोलीले बिर्तामोडका १ दर्जन सर्जिकल पसलमा अनुगमन गरेको हो । अनुगमनका क्रममा बिर्तामोडमा कुनै पनि बिक्रेतासँग मास्क नभएको पाइएको पौडेलले बताए । टोलीले मास्कको बजार मूल्य तथा स्टकको बारेमा चेकजाँच गरेको बताइएको छ ।