विराटनगर/ चार महिना अघिदेखि हराएको छोरा खोज्न हिँडेको एक दम्पतीले अहिलेसम्म भेट्टाउन सकेका छैनन् ।
झापा गौरीगञ्जका एक दम्पती हराएको छोरा खोज्दै बुधबार विराटनर आएका छन् । कार्तिक २६ गते बाबु काम गर्ने ठाउँमा जान्छु भन्दै हिँडेका गौरीगञ्ज गाउँपालिका–३ का २३ वर्षीय बोल्न नसक्ने सुस्त श्रवण भएका नरबहादुर राजवंशी हराएको चार महिना भएको आमा फुलवतीले बताइन् ।
पानीपथ हरियाणा भारतमा कार्यरत बुबा कुञ्जप्रसाद राजवंशीलाई भेट्न भन्दै हिँडेका नरबहादुर अहिलेसम्म घर नआएको उनले बताइन् । राजवंशी दम्पतीले छोरा नभेटेपछि झापा र सुनसरी दुवै प्रहरी कार्यालयमा हुलियासहित खोजबिन गरिदिन निवेदन दिएका छन् । ‘छोराको खोजीमा भौंतारिएको चार महिना पुग्यो’ भावविह्वल हुँदै फुलवतीले भनिन्, ‘सबैतिर खोजी सक्यौं । अहिलेसम्म भेट्न सकिएको छैन ।’ उनीहरूले छोराको खिजी गरिदिन सबैलाई आग्रह गरेका छन् ।
विराटनगरको झापाली होटलमा बसेका उनी त्यसपछि कहाँ गए भन्ने केही नखुलेको राजवंशी दम्पतीको भनाइ छ । नरबहादुर कान सुन्न र बोल्न सक्दैनन् । पातलो र अग्लो शरीर भएका नरबहादुरको देब्रे हातमा अङ्ग्रेजी अक्षरमा नरबहादुर लेखिएको बाबु कुञ्जप्रसाद राजवंशीले बताए ।
फुलवतीका तीन सन्तानमध्ये दुई छोरा बोल्न र सुन्न सक्दैनन् । बोल्न, सुन्न सक्ने छोरो जेठा मात्रै हुन् । भारतस्थित उद्योगमा कार्यरत जेठा छोरासँगै माइला पनि काम गर्दै आएका थिए । कान्छा छोरा र दुई बुहारीसहित आफूमात्र घरमा रहने गरेको फुलवतीले बताइन् ।
उनका अनुसार नरबहादुर निस्कँदा घरमा कोही थिएनन् । ‘अलि रिसाउने स्वभावको थियो’ उनले भनिन्, ‘चित्त नबुझेको बेला रिसाइहाल्ने बानी थियो, पढेको पनि छैन ।’ छोरा भेटिन्छ कि भनेर ब्रत पनि लिँदै आएको आमा फुलवतीले बताइन् । हराएको छोरा नरबहादुरलाई कसैले देखे उनीहरूले ९८०६०२२१९४ मा सम्पर्क गरिदिन राजवंशी दम्पतीले आग्रह गरेका छन् ।






























