ताप्लेजुङ/ कर्मचारी अभावमा सिरिजङ्घा गाउँपालिकाका अधिकांश स्वास्थ्य संस्था ताला लाग्ने अवस्था सिर्जना भएपछि गाउँपालिकाले करारमा २२ जना कर्मचारी नियुक्त गरेको छ ।
गाउँपालिकाले १ जना स्टाफ नर्स, ८ जना अहेब, ७ जना अनमी र ६ जना हेल्थ असिस्टेन्ट गरि २२ जना कर्मचारीलाई करारमा नियुक्त गरी पदपूर्ति गरेको हो । कर्मचारी समायोजनसँगै झन्डै ८० प्रतिशत स्वास्थ्यका कर्मचारी अन्यत्रै गएपछि अधिकांश स्वास्थ्य संस्था ताला लाग्ने अवस्थामा पुगेका थिए ।
कर्मचारी समायोजनपछि रिक्त दरबन्दीमा सरकारले कर्मचारी नपठाए पछि गाउँपालिका आफैले करारमा कर्मचारी नियुक्त गरेको गाउँपालिका अध्यक्ष टीका गुरुङले बताए । ‘लामो समयदेखि कर्मचारी छैनन्, गाउँका स्थास्थ्य संस्था कर्मचारीविहीन हुँदा नागरिक सामान्य उपचारबाट समेत वञ्चित हुने अवस्था आयो । त्यसैले सरकारको दायित्व अन्तर्गत रहेर करारमा कर्मचारी नियुक्त गरी पदपूर्ति गरेका हौँ’–अध्यक्ष गुरुङले भने । स्वास्थ्यका कर्मचारीको अभावमा सरकारले सञ्चालन गरेको अभियानसमेत प्रभावित हुने अवस्था आएको उनले बताए ।
जिल्लाका अन्य गाउँपालिकामा समेत स्वास्थ्यका कर्मचारीको अभाव देखिएको छ । समायोजनपछि सबै कर्मचारी सुगमतिर हिँडेपछि जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा कर्मचारी अभाव व्याप्त छ । पर्याप्त कर्मचारी नहुँदा गाउँपालिकाबासीले सास्ती खेप्दै आएका छन् । गाउँपालिकाले लिएको परीक्षामा जुम्लादेखि समेत परीक्षार्थी सहभागी भएका थिए । परीक्षामा ९४ जना परीक्षामा सामेल भएका थिए ।
‘जागिर खान निकै समयदेखि दौडधुप गरिरहेको छु, कर्मचारीको माग कहाँ भइरहेको छ ? भन्ने चासो दिँदै गर्दा यहाँ विज्ञापन खुलेको पाइयो र ६ दिन जति लगाएर परीक्षा दिन आएको हुँ’– जुम्लाबाट आएका कविराज अधिकारीले भने । परीक्षामा नेपालगञ्ज, रौतहट, झापा, विरगञ्ज, धनुषा, महोत्तरी, सुनसरी, झापालगायतका ठाउँबाट परीक्षर्थी सहभागी थिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार एक जना मेडिकल अधिकृत मागिएकोमा एउटा पनि आवेदन परेन ।