सुनसरी । सुनसरीको इनरुवामा सुरु रात्रिकालीन मेयर कप राष्ट्रिय भलिबल प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी र एपीएफ बिजयी भएका छन् । शान्तिदीप नेपाल र इनरुवा नगरपालिकाले संयुक्त रुपमा संचालन ल्याएको प्रतियोगितामा बिभागीय टोली आर्मी र एपीएफले बिजयी सुरुवात गरेका हुन् ।

आर्मीले सुनसरी भलिबल टिमलाई सोझो सेटमा हराउँदा अर्को बिभागीय टोली एपीएफले इनरुवालाई पराजित गरेको छ । पहिलो खेलमा आर्मीले सुनसरी विरुद्ध सोझो सेटमा जित निकालेको छ । पहिलो सेट२५–१३ ले जितेको आर्मीले त्यस पछिका लगातार दुई सेट २५–१४ र २५–१६ ले आफ्नो पक्षमा पारेको हो ।

दोस्रो खेलमा एपीएफले समेत इनरुवा विरुद्ध सहज जित निकाल्यो । एपीएफले २५–१०, २५–१९ र २५–१४ को सोझो सेटमा इनरुवालाई हरायोे । प्रतियोगितामा आर्मीका धनबहादुर भट्ट र एपीएफका बिजय थापा म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता फागुन २२ गते सम्म चल्ने छ । प्रतियोगितामा तीन बिभागीय सहित ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले शिल्ड सहित नगद १ लाख ५० हजार पाउने छ भने उपबिजेताले ७५ हजार प्राप्त गर्ने छ ।