दमक/ राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्पराज कँडेलले सङ्क्रमणकालीन अवस्थामा नेपालका उद्योग धन्दामा प्रत्यक्ष असर परेको र सोही पक्षलाई मध्यनजर गर्दै झापामा क्लिन औद्योगिक पार्क निर्माण गर्न लागेको बताएका छन् ।

लगानी बोर्डमार्फत् औद्योगिक क्षेत्र व्यवस्थापन समिति लिमिटेडले दमकमा आयोजना गरेको वित्तीय सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै कँडेलले यस्तो बताएका हुन् ।उनले मुआब्जा लगायतका सबै समस्या समाधान गर्दै अगाडि बढ्न सुझाएका छन् । लगानी बोर्डका सदस्य बालकृष्ण शिवाकोटीले लगानी बोर्डले लगानी गर्ने नभई लगानीकर्ताहरूसँग समन्वयन गर्ने बताए । उनले लगानी गर्न चाहाने लगानीकर्ताहरूलाई हार्दिक स्वागत गर्ने बताए ।

उद्योगलाई व्यवस्थित गरी सञ्चालन गर्न सके स्थानीय स्तरमा नै रोजगारी सिर्जना गर्न सकिने उनले बताए । लगानी बोर्डका सहसचिव बलराम रिजालले यो औद्योगिक पार्क परिकल्पना अनुसार नेपालकै नमूना बन्ने बताए । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड दमकका अध्यक्ष नन्द किशोर बस्नेतले उद्योग बन्ने कुरामा शङ्का नगर्न आग्रह गरे । उनले मुआब्जाबापत् दिएको रकम खेर जान नहुने र एक घर, एक व्यवसाय, सञ्चालन होस् भन्ने आफूहरूको चाहना रहेको बताए ।

उनले लगानी बोर्डले लगानी गरेको पैसा त्यतिकै खेर नफाल्न र आफ्ना सन्ततिका लागि गौरवको विषय बन्नुपर्नेमा जोड दिए । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले यो औद्योगिक पार्कबाट वातावरणमा कुनै असर नपर्ने पुष्टि भएकाले यसको नाम क्लिन ओद्योगिक पार्क राखिएको जानकारी दिए । गौरादह नगरपालिकाका प्रमुख रोहित साहले यो औद्योगिक क्षेत्रले दमक, कमल र गौरादहका स्थानीय बासिन्दाले प्रत्यक्ष फाइदा लिन सक्ने बताए । यस्तै कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले यो औद्योगिक क्षेत्रबाट नेपालको अर्थतन्त्रमा ठुलो सहयोग पुग्ने र बेरोजगारी समस्यालाई केही मात्रामा भए पनि हल गर्ने बताइन् ।

नेपाल–चीन मैत्री औद्योगिक पार्क नेपाल र चीन सयुक्त लगानीमा बन्न लागेको औधोगीक पार्कको परियोजनाबाट क्षतिपूर्ती पाउनेहरूका लागि सो वित्तीय सचेतना कार्यक्रम आयोजना गरएको बताइएको छ । मुआब्जाबाट प्राप्त रकमको सही सदुपयोग होस् भनेर सो वित्तीय सचेतना कार्यक्रमको आयोजना गरिएको औधोगिक क्षेत्र व्यवस्थापन समिति लिमिटेड दमकले जनाएको छ । मुआब्जाका विषयमा केही असन्तुष्टि रहेको र त्यो सहमतिका आधारमा अगाडि बढ्ने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष बस्नेतले बताए । उनले जग्गा धनीहरूको घरमेै पुगेर समस्या समाधान गर्ने प्रतिबद्धता जनाए ।

यसरी वितरण गरिँदै छ मुआब्जा रकम
प्रस्तावित औद्योगिक क्षेत्रको जग्गालाई ४ श्रेणीमा विभाजन गरेर मुआब्जा बितरण गरिँदै आएको छ । जसमा कमल गाँउपालिकामा ख, ग र घ श्रेणी र दमक, गौरादहमा क, ख, ग र घ गरि चारै श्रेणी जग्गा रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड दमकले जनाएको छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले ‘क’ श्रेणीमा रहेको बस्ती र बाटो भएको जग्गालाई प्रति विगाहा रु ४५ लाख, खेती योग्य ‘ख’ श्रेणीको जग्गालाई ३९ लाख, त्यसैगरी कासघारीको जग्गा ‘ग’ श्रेणीको ९ लाख ८० हजार र ‘घ’ श्रेणीको बलुवा र रतुवा खोला बग्दै गरेको नम्बरी जग्गाको २ लाख रुपैयाँ मुआब्जा निर्धारण गरेको छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा यस क्षेत्रमा एक हजार ६ सय ८४ विगाहा जग्गा हुने छ । २०७२ साल चैत्र १ गते बसेको मन्त्रीपरिषद्को बैठकको निर्णयबाट मुआब्जा निर्धारण गरी वितरण शुरु गरिएको भए पनि सम्बन्धित केही जग्गाधनीहरूले मुआब्जाको मूल्य निर्धारणमा असन्तुष्टि जनाएपछि २०७३ साल असार २ गते पुनः बसेको मन्त्रीपरिषद्को बैठकले मुआब्जाको दर रेटमा पुनः संशोधन गरेको थियो । चीन र नेपाल लगानी बोर्डको सहयोगमा निर्माण हुन लागेको औद्योगिक पार्क चीनले अघि सारेको बेल्ट एण्ड रोड परियोजना अन्तर्गत नेपालमा बन्न लागेको यो पहिलो परियोजना हुने जनाइएको छ ।