धनकुटा/ नेवारी संस्कृतिभित्र पर्ने बाँसुरी तथा धिमे बाजालाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले आयोजना गरिएको १ महिने तालिम शनिबार धनकुटामा सम्पन्न भएको छ ।

नेवाः पुचः धनकुटा, नेवाः देयः दबूः धनकुटा, नेपाल खड्गी सेवा समिति धनकुटा, मिसा खलः धनकुटा र झिगु समाज हिलेको संयुक्त आयोजनामा सम्पन्न भएकोे १ महिने बाँसुरी तथा धिमे बाजा तालिम प्रदेश सांसद् कुसुमकुमारी श्रेष्ठको प्रमुख आतिथ्य तथा नेवाः पुचः धनकुटाका अध्यक्ष नवीनकिशोर शाक्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।

संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले आयोजना गरिएको बाँसरी तथा धिमेबाजा तालिममा धनकुटा नगरपालिका वडा नंं. ५, ६ र ७ मा बसोबास गर्ने २० महिलासहित ३५ जना नेवारी समुदायका युवायुवतीहरूले भाग लिएको नेवाः पुचः धनकुटाले जनाएको छ । तालिममा ७–७ जनाको ५ वटा समूह बनाएर हरेक दिन बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म तालिम सञ्चालन गरिएकोे मिसा खलः धनकुटाकी अध्यक्ष रेणुकुमारी श्रेष्ठले बताइन् ।

एक महिने तालिमको लागि आर्थिक सहयोग धनकुटा नगरपालिका वडा नं. ५ र ६ को वडा कार्यालयले गरेको झिगु समाज हिलेका अध्यक्ष दिजेश शाक्यले बताए । तालिमको सहजीकरण ज्या खलः काठमाडौंका क्रिस महर्जनले गरेका थिए । उनले १ महिनाको अवधिमा नेवारी संस्कृतिमा आधारित बाँसुरीबाट बजाइने मङ्गल धुन, धिमे बाजाबाट बजाइने १२ वटा बोलमा आधारित भएर तालिम प्रदान गरेको बताए । सो अवसरमा तालिममा महिला सहभागीहरूको तर्फबाट रियान शाक्य र पुरुष सहभागीहरूको तर्फबाट सनोज श्रेष्ठले तालिममा सिकेका ज्ञान र सीपलाई आफ्नो अनुभूतिमा प्रस्तुत गरेका थिए ।

त्यसैगरी तालिममा उत्कृष्ट हुने धिमे बाजाका ३ जना र बाँसुरी बाजाका ३ जनालाई आयोजक संस्थाहरूको तर्फबाट सम्मान गरिएको थियो । धिमे बाजातर्फ सनोज श्रेष्ठ प्रथम, युनिष श्रेष्ठ द्वितीय र खुशी श्रेष्ठ तृतीय भएका थिए । त्यसैगरी बाँसुरी बाजातर्फ युनिस श्रेष्ठ प्रथम, अमिता नेवाः खड्गी द्वितीय र अमुक शाक्य तृतीय भएका थिए ।

dhimebaja