विराटनगर/ प्रदेश १ सरकार स्थापना भएको दुई वर्ष पूरा भई शनिबारदेखि तीन वर्षमा प्रवेश गरेको छ । प्रदेश सरकारले शनिबार २ वर्षको अवधिमा भएका उपलब्धि सार्वजनिक गरी दोस्रो वार्षिकोत्सव मनाएको हो ।

दुई वर्ष पूरा भएको अवसरमा प्रदेश सरकारले आफ्नो कामको समीक्षा गर्दै सरकारको दुई वर्षे कार्यकाललाई उपलब्धिपूर्ण मानेको छ । सङ्घीयता कार्यान्वयनसँगै प्रदेशको विकासका लागि गरिएको कामलाई उल्लेखनीय उपलब्धिको रूपमा प्रदेश सरकारले सफलता ठानेको छ । प्रदेश सरकारले प्रशस्तै काम गर्नसक्ने आधारहरू भए पनि अलमलमा परेको कारणले काम गर्न नसकेको आरोप प्रमुख प्रतिपक्षी दलले लगाउँदै आएको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सरकारको उपलब्धि सार्वजनिक गर्दै २ वर्षमा धेरै उपलब्धिमूलक काम गरेको दाबी गरे । उनले दुई वर्षको समयमा प्रदेशमा थिति बसाल्नेदेखि विकास निर्माणको कामले तीव्रता पाएको बताए । उनले यो दुई वर्षको अवधिमा सङ्घीयता र संविधान कार्यान्वयनको काम भएको बताए । ‘प्रदेश संरचनालाई बलियो बनाउँदा मात्र सङ्घीयता बलियो हुने भएकोले त्यसलार्ई बलियो बनाउने काम भयो’ मुख्यमन्त्री राईले भने, ‘यसैलाई स्थापित गर्नको लागि समय खर्चिएको हो ।’

जनताको अपेक्षा ७ सय ३० दिनमा पूरा गर्न सम्भव नभएको बताउँदै उनले यस अवधिमा जनताको न्यूनतम् आवश्यकता भने पूरा भएको दाबी गरे । दुई वर्षमा ३९ वटा कानून तर्जुमा गरी त्यसलाई कार्यान्वयनमा लैजानको लागि नियमावली, निर्देशिका, कार्यविधि, मापदण्ड र गठनआदेशहरू ल्याएको बताए ।

‘प्रदेशको राजधानी सर्वसहमतिको आधारमा तोकिएको छ’ उनले भने, ‘सहमति र सहकार्यको अनुपम नमूना प्रदेश १ सरकारले प्रस्तुत गरेकोले आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिइनेछ ।’ उनले दुई वर्षे कार्यकालमा संविधान र सङ्घीयता कार्यान्वयनको आधार तयार भएको बताए । उनले सङ्घ र स्थानीय तहसँगको सहकारितामा आधारित कामहरू भइरहेको जानकारी दिए ।

मुख्यमन्त्री राईले प्रथम आवधिक योजनासँगै विकास आयोजनाको प्राथमिकीकरण गरी खर्चको मितव्ययिता र प्रभावकारिता बढाउन मध्यम्कालीन खर्च संरचना लागू गरिएको बताए । उनले आगामी वैशाखमा प्रदेशमा लगानी सम्मेलनको तयारी शुरु भएको पनि जानकारी दिए । ‘प्रदेशको विकासमा स्वदेशी तथा निजी क्षेत्रको लगानी भिœयाउन सार्वजनिक निजी सहकारी साझेदारी तथा लगानी प्राधिकरण ऐन, २०७६ बमोजिम आवश्यक प्रक्रिया अघि बढाउने योजना रहेको छ’ उनले भने, ‘आयोजना बैङ्ुक तयार गरी पहिलो चरणमा सूचीकृत २६ परियोजनाहरूलाई समावेश गरी अगाडि बढाउने तयारी गरिएको छ ।’

दुई वर्षको अवधि आधार तयार गर्ने वर्षमा मात्र सीमित नभएको बतादउँदै मुख्यमन्त्री राईले प्रदेश सरकारले स्पष्ट दृष्टिकोण र अवधारणाहरूसहित विकासका खाकाहरू अगाडि बढाएको बताए । ‘प्रादेशिक सडक सञ्जालको १० वर्षे गुरुयोजना बनाई सार्वजनिक भएको छ’ उनले भने, ‘पर्यटन विकासलगायतको १० वर्षे गुरुयोजनाले अन्तिम रूप लिन लागेको छ । प्रादेशिक निर्वाचन क्षेत्रमा सडकहरू निर्माण भइरहेका छन् । हामीले समानुपातिक र सन्तुलित ढङ्गबाट विकासलाई मूर्तरूप दिन सफल भएका छौं ।’

मुख्यमन्त्री राईले पूर्वाधारतर्फ २७ किलोमिटर सडक कालोपत्रे, १ सय २९ किलोमिटर सडक ग्राभेल, १० वटा मोटरेवल पुल र १५ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको जानकारी दिए । प्रत्येक प्रादेशिक निर्वाचन क्षेत्रमा १–१ वटा गरी जम्मा ६२ वटा बहुवर्षीय सडक, ८७ वटा मुख्यमन्त्री ग्रामीण सडक, १ सय २६ वटा मोटरेवल पुल र १ सय १४ वटा झोलुङ्गे पुल धमाधम निर्माण भएको बताए ।

‘प्रदेशका खेतीयोग्य जमिनहरूमा सिंचाइ पु¥याउन १ सय २९ वटा योजनाहरू सम्पन्न भएका छन्’ उनले भने, ‘६ सय ३१ वटा योजनाहरू निर्माणाधीन छन् । खानेपानीका आयोजनाहरू १ सय १० वटा सम्पन्न भए ।’ ९ सय ४९ वटा आयोजनाहरू निर्माणाधीन रहेको मुख्यमन्त्री राईको भनाइ छ । प्रदेशका विपन्न तथा पिछडिएका जनताका लागि ‘जनता आवास कार्यक्रम’ अन्तर्गत १ सय ७१ वटा घर निर्माण सम्पन्न भएको उनले बताए ।

प्रदेश सरकारले लिएको भ्रष्टाचार विरुद्धको शून्य सहनशीलताको अवधारणाका साथ कठोर र निर्ममतापूर्वक अगाडि बढेको उनले बताए । विकास र सुशासनमा जनताले आशा र भरोसा गर्न सक्ने निकायको रूपमा प्रदेशलाई स्थापित गराउन प्रदेश सरकार लागिपरेको उनले बताए ।

‘प्रदेश सरकारले लय समात्न सकेन’
नेपाली काङ्ग्रेसका प्रमुख सचेतक केदार कार्कीले सङ्घीयता कार्यान्वयनको चरणमा भएको कारणले गर्दा पनि यो दुई वर्षमा सरकारले कामको लय समात्न नसकेको प्रतिक्रिया दिएका छन् । प्रदेश सरकारको दुई वर्ष अलमलमै बितेको उनले बताए ।

‘प्रदेश सरकारले अहिलेसम्म मन्त्री छान्न नसकेर राज्यमन्त्री नियुक्त गरेको छ’ उनले भने, ‘सरकारले लय समात्न पनि समस्या देखिन्छ । सरकार हाँकिरहेका मन्त्रीहरू सिक्दैछौं भन्नुहुन्छ ।’ प्रदेश सरकारको सय दिने कार्यक्रम पनि घोषणामा मात्र सीमित भएको उनले बताए । ‘घर–घरमा स्टिकर टाँस्दैमा सुरक्षा अनुभूति हुन्छ ?’ उनले प्रतिप्रश्न गर्दै भने, ‘त्यसरी टाँसेको स्टिकर कति घरमा अडिएका छन् ?’

त्यस्तै समाजवादी पार्टी नेपालका संसदीय दलका नेता जयराम यादवले प्रदेश सरकार जनताको अपेक्षा र भावनाअनुसार चल्न नसकेको बताए । ‘प्रत्यक्ष अनुभव महसुस गराउने गरी यो सरकार अगाडि बढ्न सकेको छैन’ –उनले भने । प्रदेश सरकारले अहिले राम्राभन्दा पनि हाम्रा मान्छेलाई भर्ना गर्ने थलोको रूपमा विकास गर्दै गएको उनले बताए । समावेशी, गणतन्त्रको मूल्य मान्यतालाई भुलेर सरकार अगाडि बढि रहेको उनको भनाइ थियो ।