धरान/ एशियाली विकास बैङ्क (एडिबी) को ऋणअनुदानमा सञ्चालित धरानको खानेपानी लक्ष्यअनुरूप उत्पादन नभएकाले नेपाल खानेपानी संस्थानलाई यथावत् राख्नुपर्ने भन्दै धरानबासीले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका छन् ।

नेपाल खानेपानी व्यवस्थापन बोर्डले दैनिक भूमिगत स्रोतबाट १ करोड ५२ लाख २० हजार लिटर पानी आपूर्ति गर्ने भनी सम्झौता गरे पनि सो अनुरूपको पानी उत्पादन नगरेकाले संस्थानलाई नै राखिनुपर्ने माग गरेका छन् । जनतालाई सर्वसुलभ मूल्यमा पानी वितरण गर्ने वातावरण बनाउन माग गरेको छ ।

आयोजनाले त्रिपक्षीय ११ बुँदे सहमति गर्दा सहमतिको ९ औं बुँदामा १ करोड ५२ लाख २० हजार लिटर पानी दैनिक उत्पादन गर्ने भनिएको भए पनि हाल प्रतिदिन ५२ लाख लिटरमात्रै उत्पादन गरेको दाबी जनसरोकार मञ्च धरानका सचिव भक्त क्षेत्रीले दाबी गरेका छन् । जसका कारण खानेपानी संस्थानले नै धराने जनतालाई पानी खुवाउनु पर्ने नागरिक एकता समाज समितिका संयोजक धनकुमार राईले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

बोर्डले नेपाल सरकारको महसुल निर्धारण आयोगले तोकेअनुसारकै दररेटमा पानी खुवाउने भनिएको भए पनि हाल संस्थानभन्दा दोब्बर महसुल लिने गरेको दाबी गरेको छ । तोकिएअनुरूपको महसुलभन्दा बढी लिए आन्दोलित बन्ने अवस्था सिर्जना भएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । उनीहरूले नेपाल खानेपानी संस्थान, खानेपानी तथा सरसफाइ मन्त्रालयलगायतमा बोधार्थ दिएका छन् । ध्यानाकर्षण पत्रमा ९ वटा संस्था सहभागी छन् ।