धरान । धरानमा बुधबारबाट प्रदेश १ स्तरीय चौथो पुष्प प्रदर्शनी तथा व्यापार मेला शुरु भएको छ ।

पब्लिक माविको खेल मैदानमा लागिरहेको मेला फागुनको ४ गतेसम्म सञ्चालन हुनेछ । मेलाको उद्घाटन प्रदेश १ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका राज्यमन्त्री रामबहादुर मगरले गरे । उनले मन्त्रालयले फूलका लागि छुट्टै कार्यालय स्थापना गर्ने प्रतिवद्धता गरे ।

मेलामा ५२ वटा स्टल रहेका छन् । जसमा फूल तथा नर्सरीको स्टल धेरै रहेका छन् भने फुडसम्बन्धी ३ वटा, प्रतिस्पर्धात्मक ३ वटा र मलजन्यको एउटा, र गमलाजन्यको एउटा स्टल रहेको कार्यक्रम संयोजक पवित्रा नर्सरीकी सञ्चालिका कल्पना लिम्बूले बताइन् ।

flower (1)

मेलाको उद्घाटनको क्रममा उत्कृष्ट स्टलमा एञ्जेलिया नर्सरी घोषित हुँदै पुरस्कृत बनेको छ । त्यस्तै क्यामेलिया नर्सरी दोस्रो बन्दा न्यूऋतु नर्सरी तेस्रो बनेको थियो । त्यस्तै उत्कृष्ट आलङ्कारिक नर्सरीमा हाम्रो गार्डेन नर्सरी, उत्कृष्ट फुल्ने बिरुवा र मौसमी फूलमा पवित्रा नर्सरी घोषित हुँदै ट्रफी पाएको छ ।

नेपालमा व्यवसायिक फूल खेतीको शुरुवात इलामबाट वि.सं. १८९३ सालबाट शुरु भएको हो । कोतपर्व हत्याकाण्डपछि श्री ३ बनेका जङ्गबहादुर राणाले बेलायत भ्रमणका क्रममा सन् १९०७ तिर नेपालबाट मखमली प्रजातिको फूल उपहार दिएका थिए । नेपालमा फूलको इतिहास यसरी शुरुवात भएको मानिने अतिथिसमेत रहेका बेलका नगरपालिकाका मेयर दुर्गाबहादुर थापाले बताए ।

स्टलमा झापा, मोरङ, सुनसरी र सिराहाबाट आएका व्यवसायीहरूले ४ सय ५० प्रजातिका फूल बिक्री तथा प्रदर्शनीका लागि राखेका छन् । प्रदेश १ मा फ्लोरिकञ्चर एशोसिएसशन नेपालसँग आवद्ध ६५ वटा फूल तथा नर्सरी व्यवसायीहरू दर्ता भएर सञ्चालित छन् ।

जसमा ४० करोडको लगानी भएको छ भने २० करोड बराबरको वार्षिका कारोबार गर्दै आएको कार्यक्रम संयोजक लिम्बूले बताइन् । मेलामा ७० लाख रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य लिएको आयोजक फ्लोरिकल्चर एशोसिएसन नेपाल सुनसरीका सदस्य प्रेम पराजुलीले बताए । तेस्रो पुष्प प्रदर्शनी तथा मेलामा ५० लाख रुपैयाँ कारोबार गर्ने लक्ष्य राखे पनि ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको उनको दाबी छ ।

flower (3)

उनले मेलाका लागि धरान उपमहानगरले सोचेअनुरूपको सहयोग नगरेको भन्दै गुनासो पोखे । उनले भने, ‘कसैले १ लाख रुपैयाँ भ्रष्टाचार गर्छ भने हामी सम्झन्छौं कि त्यसले २ सय जना श्रमिकको पेटमाथि खेलवाड गरिरहेको छ ।’