झापा  । प्रदेश नं. १ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले सहकारीलाई शंका गर्ने अवस्था घट्दै गएको बताएका छन् ।

झापा जिल्ला सहकारी संघको २३ औ बार्षिक साधारणसभामा शनिवार बिर्तामोडमा बोल्दै राज्यमन्त्री मगरले सो कुरा बताएका हुन् । उनले सहकारीहरुले व्यवसायिक र औद्योगिक हुनु पर्नेमा जोड दिए । उनले सहारा नेपालको उदाहरण दिदै सहाराका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गिरीको प्रशंसा समेत गरेका थिए ।

संघका अध्यक्ष गणेश ढकालको अध्यक्षता तथा राज्यमन्त्री मगरको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको थियो ।

स्वागत संघकी उपाध्यक्ष गीता कुँवरले गरेको कार्यक्रमको सञ्चालन सचिव युवराज ढकालले गरेका थिए । साधारणसभाका अवसरमा संघले नेपाल बचत तथा ऋण सहकारी संघका केन्द्रिय सदस्य घनश्याम अधिकारी, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेल र संघका अध्यक्ष गणेश ढकाललाई सम्मान गरेको थियो । उनीहरुलाई प्रमुख अतिथि तथा राज्यमन्त्री मगरले सम्मान गरेका थिए । संघमा २०७६ असार मसान्तसम्ममा ५ सय ४ संघ/संस्था आवद्ध रहेका संघका उपाध्यक्ष महेन्द्र गिरीले जानकारी दिए ।

५ सय ४ संघ/संस्था आवद्ध रहेको संघको शेयरपुँजी २ करोड ३० लाख १० हजार रहेको अध्यक्ष ढकालद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । १५ करोड १५ लाख ८३ हजार १ सय ५९ रुपैयाँ ५८ पैसा निक्षेप हिसाव रहेको संघले १३ करोड २९ लाख ५५ हजार ३ सय ९७ रुपैयाँ ४७ पैसा लगानी गरेको उल्लेख छ । संघको भद्रपुरमा ३ कठ्ठा १८ धुर र बिर्तामोडमा एक बिगाह ४ कठ्ठा १.७५ धुर गरी ६ करोड ५० लाख रुपैयाँ मूल्य वरावरको जग्गा रहेको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटी, राष्ट्रिय सहकारी वैंकका लेखा संयोजक लक्ष्मी उप्रेती, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।