धरान । नेपाल खानेपानी संस्थान धरान शाखाको सम्पत्ति, दायित्व तथा जिम्मेवारी हस्तान्तरण मूल्याङ्कन समितिका संयोजक चक्रपाणि शर्मा आचार्यले सम्पत्ति मूल्याङ्कन गर्न खानेपानी संस्थानले असहयोग गरेको बताएका छन् ।

नेपाल सरकारको खानेपानी मन्त्रालयले पुस ७ गते आचार्यको संयोजकत्वमा सम्पत्ति, दायित्व तथा जिम्मेवारी हस्तान्तरण गर्नका लागि समिति गठन गरेको थियो । जसलाई ४५ दिनको समय दिइएको थियो । सम्पत्ति मूल्याङ्कनका लागि खानेपानी संस्थानका प्रमुख सदस्य रहने गरी समिति गठन भएको थियो । तर, खानेपानी संस्थानका प्रमुखबाट नै असहयोग भएको महसुस भएको संयोजक आचार्यले मंगलबारको पत्रकार सम्मेलनमा बताए ।

उनले भने, ‘४५ दिनको म्याद सकिएको अवस्था छ, तर, मूल्याङ्कन गर्न सकिरहेका छैनौं, खानेपानी संस्थानबाट असहयोग भएको महसुस मलाई भएको छ ।’ संस्थानका प्रमुख इञ्जिनियर रामकुमार श्रेष्ठलाई बारम्बार सम्पत्ति, दायित्व र जिम्मेवारीका विषयमा विवरण माग्दा ढिलाइ गरिदिएको उनको आरोप छ ।

सम्पत्ति मूल्याङ्कनका लागि विवरण नदिएमा आफूले २०७४ सालमा खानेपानी तथा सरसफाइ मन्त्रालयका सहसचिव राजनप्रसाद पाण्डेको संयोजकत्वमा बनेको मूल्याङ्कन समितिले दिएको ६२ करोड १० लाख ५० हजार ३ सय ७७ रुपैयाँ बराबरको प्रतिवेदनलाई नै गर्ने÷गराउने भनेर लिखित प्रतिवेदन बुझाउने बताए ।

यस विषयमा खानेपानीका इञ्जिनियर तथा मूल्याङ्कन समितिका सदस्यसमेत रहेका श्रेष्ठले फोन उठाएनन् । यता संयोजक आचार्यका अनुसार फोनसम्पर्क हुँदा भोलि (बुधबार) बाट आफूले सम्पूर्ण विवरण दिने भनेर भनेका छन् ।