उदयपुर / जिल्ला प्रहरी कार्यालय उदयपुरले सचालन गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत १५ महिनामा ३ सय ४२ वटा कार्यक्रमहरू सञ्चालन गरेको हो । समाजमा हुने विकृति, विसङ्गतिलाई न्यूनीकरण गर्दै अपराधरहित समाज निर्माण गर्ने उद्देश्यले २०७५ कात्तिक ११ गतेबाट नेपाल प्रहरीले यो अभियान शुरु गरेको थियो । प्रहरीले स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयमार्फत् लागूऔषध विरुद्धको कार्यक्रमहरू सञ्चालन गर्दै आएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी वीरबहादुर बुढा मगरले बताए ।

लागूऔषध विरुद्धको ३ सय ४२, मानव बेचविखन विरुद्धको ५७, लैङ्गिक हिंसा न्यूनीकरणका लागि ७४, विपद् व्यवस्थापन, सरसफाइलगायतका तीन सय ४२ वटा कार्यक्रम सञ्चालन गरिएको एसपी मगरले बताए । छोटो समयमा उल्लेखनीय प्रगति गर्न सफल भएको छ । प्रहरीको एक्लो प्रयासबाट मात्र अपराध न्यूनीकरण गर्न सम्भव नहुने भएकाले समुदायलाई जागरुक बनाउँदै पचिालन गर्दै अभियान सञ्चालन गरेको एसपी मगरले बताए । अभियानलाई सफल बनाउन जिल्ला स्तरमा एक, स्थानीय स्तरका ८, वडा स्तरमा ३८, टोल विकास समिति ६७, विद्यालय समिति ७२ वटा गठन गरी परिचालन गरिएको एसपी मगरले बताए ।

नेपाल प्रहरीले सञ्चालन गरेको अभियानलाई उल्लेखनीय साथ र सहयोग दिएको भन्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जिल्ला प्रहरी कार्यालय मार्फत् जिल्लाको आठवटै स्थानीय तहका प्रमुख उपप्रमुखहरूलाई एसपी मगरले प्रंशसा पत्रको साथ दोसल्ला ओढाएर सम्मान गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । एसपी मगरले रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्का, त्रियुगा नगर पालिकाका उपमयेर देवीकुमारी चौधरी, उदयपुरगढी गाउँपालिकाका प्रतिनिधिलाई सम्मान गरेका थिए ।

प्रहरीको सक्रियता र जनताको जागरुकताले अभियान सफल मात्र नभई अपराधसमेत न्यूनीकरण हुने अध्यक्ष खड्काले बताए । प्रहरी जनतासँग जति नजिक भयो, उति नै अपराध घट्दै गएको उनले बताए । जिल्लामा लागूऔषधको अवस्था भयाभह बन्दै गएकाले यस्ता अभियानले तिनको न्यूनीकरणमा पनि मद्दत पुग्ने त्रियुगा नगरपालिकाका उपप्रमुख चौधरीले बताइन् । उनले अपराधरहित समाज निर्माणका लागि नगरदेखि घरघरसम्म अभियान नगरपालिकाले प्रहरीसँगको साझेदारीमा सञ्चालन गर्दै आएको उनले बताइन् ।