विराटनगर / सवारी दुर्घटना न्यूनीकरण गर्न प्रदेश १ मा छोटो एवम् मध्यम् दूरीमा सञ्चालनमा रहेका सार्वजनिक यात्रुवाहक सवारी साधनमा ‘टाइम कार्ड’ सिस्टम लागू गरिएको छ ।
तीव्र गति रोकी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले यातायात व्यवसायीसँगको समन्वयमा ट्राफिक प्रहरीले पहिलो पटक तराईका तीन जिल्लामा एकै पटक ‘टाइम कार्ड’ प्रणाली लागू गरेको हो । टिपर आतङ्क रोक्नलाई २०७५ चैतबाट टिपरमा पनि ‘टाइम कार्ड’ लागू गरिएको थियो । टिपरमा प्रभावकारी बनेपछि ‘टाइम कार्ड’ सार्वजनिक यात्रुवाहक सवारी साधनमा पनि लगाइएको ट्राफिक प्रहरीको भनाइ छ ।

झापा, मोरङ र सुनसरीको राजमार्गमा गुड्ने सार्वजनिक यात्रुवाहक सवारीमा टाइमकार्ड लागू भएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले जानकारी दिए । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको काँकडभिट्टादेखि सुनसरीको कोशी ब्यारेजसम्म र कोशी राजमार्ग अन्तर्गत विराटनगरदेखि धरानसम्म गुड््ने सार्वजनिक यात्रुवाहक सवारी साधनले यो नियम मान्नुपर्ने हुन्छ । विशेषगरेर सबैभन्दा बढी दुर्घटना भएको पाइएपछि राजमार्गकेन्द्रित गरेर नयाँ निमय लगाइएको उनले बताए । १ नम्बर प्रदेश प्रहरी प्रमुख डिआईजी ठाकुरप्रसाद ज्ञवालीले मोरङको सुन्दरहरैंचा नगरपालिका–७ गछियामा औपचारिक रूपमा यसको शुभारम्भ गरे ।

प्रदेश १ मा चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा भएका चार सय ४७ वटा दुर्घटनामा १ सय ७७ जनाको मृत्यु भएको छ । त्यसमध्ये १ सय ९ जनाको मृत्यु राजमार्गमा भएको दुर्घटनाबाट भएको एसपी दाहालले जानकारी दिए । उनका अनुसार बढ्दो दुर्घटना, सवारी साधनको तीव्र गति र राजमार्गको अस्त–व्यस्ततालाई नियमन गर्न तथा अनुशासित बनाउन ‘टाइम कार्ड’ प्रणाली प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।

‘यात्रु उठाउन होडबाजी र अस्वस्थ प्रतिस्पर्धा गर्दै राजमार्गमा सवारी साधन तीव्र गतिमा कुदाइँदा दुर्घटना बढिरहेको पाइयो’ दाहालले भने, ‘एकले अर्कोलाई उछिन्न र तीव्र गतिमा कुदाउन नपाइने नियमको अब कडाइका साथ अनुगमन गरेर कारबाही अघि बढाइने छ ।’ यात्रु चढाउने होडबाजीका कारण एक सवारीले अर्कोलाई ‘ओभरटेक’ गर्दा र तीव्र गतिमा सवारी साधन कुदाउँदा सडकमा दुर्घटना धेरै भइरहेको उनले बताए । किलोमिटरको आधारमा ‘टाइम कार्ड’ लागू गरिएसँगै अब ट्राफिक प्रहरीले तोकेको र कार्डमा उल्लेख भएको समयमा यात्रुवाहक सवारी साधन गन्तव्यमा पुग्नु पर्ने हुन्छ । तोकेको समयभन्दा अगाडि नै पुग्नेले कारबाहीको भागीदार बन्नु पर्ने दाहालले बताए । उनका अनुसार अबको एक सातासम्म यस विषयमा चालकलाई विशेष प्रशिक्षण दिने र जानकारी गराउने कार्यक्रम छ ।

विशेषगरेर यो नियम कार्यान्वयन भए नभएको बारेमा कडाइका साथ अनुगमन गर्न ट्राफिक प्रहरी परिचालन गरेर १३ ठाउँमा टाइमकार्ड चेकजाँच स्थल स्थापना गरिएको छ । झापाको काँकडभिट्टा, बिर्तामोड, दमक, ताराबारी, मोरङको बेलबारी, गछिया, कञ्चनबारी, विराटनगर बसपार्क, सुनसरीस्थित धरानको तीनकुने, इटहरीको कलङ्की मोड, पकली, कोशी कटान र भण्टाबारीलाई चेकजाँचस्थल कायम गरिएको र यी स्थानबाट नियमित चेकजाँच हुने जानकारी एसपी दाहालले दिए ।

उनकाअनुसार ‘टाइम कार्ड’ लागू भएका सवारी साधनले एक किलोमिटर दूरी पार गर्न अब न्यूनतम् एक मिनेट ४८ सेकेण्ड समय लगाउनु पर्नेछ । यही अनुपातलाई आधार मानेर काँकडभिट्टाबाट बिर्तामोडसम्म पुग्न आधा घण्टा समय छुट्याइएको उनले बताए । यस अघि तीव्र गति, यात्रु उठाउने होड र अस्वस्थ प्रतिस्पर्धाका कारण एक किलोमिटर दूरी पार गर्न एक मिनेट पनि नलगाउने गरेको ट्राफिकको अध्ययनले देखाएको छ । सबै सवारी साधनका चालकका हातमा थमाइएको ‘टाइम कार्ड’ हेण्डबुक आकारको छ । चालकले प्रत्येक चेक प्वाइण्टमा गाडी रोकेर उक्त हेण्डबुकमा आफ्नो समय दर्ता गराउनु पर्नेछ । एउटा ‘टाइम कार्ड’ बुक एक जना चालकले १२ दिनसम्म प्रयोग गर्नेछन् ।

ट्राफिक प्रहरीले ‘टाइम कार्ड’ मा छुटेको स्थान, पुग्ने स्थान, पुगेको समय र दस्तखत र छापसमेत लगाउने मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर रोकशकुमार पोद्दारले बताए । उनले नियमअनुसार सवारी साधन चलेनचलेको चेकजाँच गर्न ट्राफिकको विशेष टोली रहने बताए । प्रदेश १ मा बस, मिनी बस र माइक्रो गरेर ६ हजारको हाराहारीमा सार्वजनिक यात्रुवाहक सवारी साधन रहेको ट्राफिक प्रहरीले जनाएको छ ।