धनकुटा / धनकुटाको विकास र समृद्धि घरेलु तथा साना उद्योगहरूबाट मात्र सम्भव हुने एक कार्यक्रमका सहभागीले बताएका छन् । शुक्रबार धनकुटामा घरेलु तथा साना उद्योग कार्यालय धनकुटाद्वारा आयोजित औद्योगिक ग्राम सञ्चालनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवाला निकायका प्रतिनिधिहरूले त्यस्तो बताएका हुन् ।

उनीहरूले औद्योगिक ग्राम सञ्चालन कार्यविधि उद्योगी, व्यवसायीमैत्री हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा १ नम्बर प्रदेशसभाका विधान समितिका सभापति इन्द्रमणि पराजुली, प्रदेशसभा सदस्यहरू निरन राई, लीला सुब्बा, छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बूलगायतले अब गाउँ–गाउँमा साना तथा घरेलु उद्योग सञ्चालन गरी आर्थिक समृद्धिको अभियान सञ्चालन गर्नुपर्ने बताए । उनीहरूले धनकुटामा स्थापना गरिएको औद्योगिक ग्राम अविलम्ब सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव सञ्जीवकुमार राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, घरेलु तथा साना उद्योग महासङ्घ धनकुटाका अध्यक्ष विजयसन्तोषी राई, वरिष्ठ उद्यमी तथा धनकुटा उद्योग वाणिज्य सङ्घका निवर्तमान उपाध्यक्ष तारा तितुङलगायतले औद्योगिक ग्राम तीन वर्षअघि नै सञ्चालन हुनुपर्नेमा सरकारी बेवास्ताका कारण सञ्चालनमा ढिलाइ हुँदा धनकुटालगायत पूर्वी पहाडी जिल्लाका उद्योगी व्यवसायी र व्यापारीहरूलाई ठूलो समस्या उत्पन्न भइरहेको र राज्यलाई समेत नोक्सानी भइरहेकोले तुरुन्त औद्योगिक ग्राम सञ्चालन गर्न माग गरेका छन् ।

कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका प्रमुख दिनेश ढुङ्गानाले धनकुटा औद्योगिक ग्राम सञ्चालन कार्यविधि २०७६ प्रस्तुत गरेका थिए भने स्वागत मन्तव्य लेखा अधिकृत गिताचारी आर्चायले राखेका थिए । कार्यक्रमको सञ्चालन श्याम पौडेलले गरेका थिए ।