धरान/पसल अगाडि फेला पारेको नगदसहितको पर्स धरान–१३ का एक दम्पत्तीले फिर्ता गरेका छन् ।

धरान–२ निकेतन गल्लीमा सिसाको फ्रेमिङको व्यापार गर्दै आइरहेका जयकिशोर र गीता जयसवालले धरान–६ प्रगतिचौककी रिना राईलाई धरान प्रहरीको रहोबरमा बिहीबार फिर्ता गरेकी हुन् । गीता जयसवालले पसल बन्द गर्ने समय बुधबारको करिब ४ बजेतिर पर्स फेला पारेकी थिइन् । फेला पारेपछि श्रीमान् जयकिशोरले फेसबुकमार्फत् सूचना जाहेर गरेका थिए । ‘श्रीमतीले पसल बन्द गर्न लाग्दा पर्स फेला पारेकी रहिछन्, त्यसपछि मैले फेसबुकमा सूचना हालिदिएको थिएँ’ जयकिशोरले भने ।

फेसबुकमार्फत् नै जानकारी पाएपछि रिनाले पनि उनलाई फोन गरेको बताइन् । पर्समा ११ हजार ८ सय ६० रुपैयाँ नगद, सुनचाँदीको बिल, विभिन्न बैङ्कका एटिएमहरू रहेका थिए । उक्त नगदसहित सामग्री इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपाने र धरान–२ का समाजसेवी रमेश राईको रहोबरमा बिहीबार वडा प्रहरी कार्यालय परिसरमा रकम फिर्ता गरिएको हो ।

रकम फिर्ता पाएपछि रिनाले गीताको दम्पत्तीलाई धन्यवाद ज्ञापन गरिन् । इप्रका धरानका डिएसपी ढुण्डीराज न्यौपानेले रकम धेरथोर जे भए पनि इमान्दारिताका साथ रकम फिर्ता गर्नु समाजको लागि पनि प्रेरणा बनेको बताए । ‘रकम धेरथोर जेसुकै होस् तर, इमान्दारिताका साथ दिनु नै ठूलो कुरा हो, यो अरूको लागि पनि प्रेरणा हो’–उनले भने ।