ताप्लेजुङ । युमा साम्यो महासभाले लिम्बूहरुको शिरलाई बिगारेर प्रकृति पूजक युमा साम्योहरुको अपमान हुने गरी भौतिक संरचना निर्माण भएकोमा आपत्ति जनाएको छ ।

उसले विहिवार सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गर्दै फक्ताङ्लुङ गाउँपालिका वडा नं ६ लेलेपको साँघुमा रहेको चोत्लुङ अर्थात् मनोकाँक्षा पूरा हुने पवित्र स्थल हातामै फाल्गुनन्दको सालिक निर्माणले प्रकृति पूजकहरुको अपमान भएकोले त्यसलाई तुरुन्त रोक्न माग गरेको हो ।

आफुलाई प्रकृति पूजक पक्षधरहरुको संस्था दावी गर्ने साम्योमा आबद्ध अगुवाहरुले किराँत धर्म गुरु फाल्गुनन्दलाई ‘हिन्दुकृत जोसमनीपन्थी’को समेत संज्ञा दिएका छन् । लिम्बू समुदायमा किराँत र यूमा धर्म प्रचलनमा छ । यूमा धर्म मान्नेहरुले किराँत धर्म गुरु फाल्गुनन्दको धर्म प्रेरित बिचारलाई हिन्दु धर्मसंग तुलना गर्छन् ।

युमा साम्यो महासभाका अध्यक्ष देबेन्द्रकुमार वनेमद्धारा हस्ताक्षरित बिज्ञप्तीमा तागेरा निङ्वाफुलाई किराँत धर्मको सर्बोच्च आत्मा, परमब्रम्हा र जगत्जननी भएको दावी गर्दै उनैको उपस्थिति रहेको प्रकृतिलाई बिगारेर फाल्गुनन्दको प्रतिमा स्थापना गर्न नहुने उल्लेख छ ।

लेलेपको साँघुमा प्रदेश निर्वाचन क्षेत्र बिशेष कार्यक्रम अन्र्तगत स्थानीय पूर्वाधार विकास कार्यक्रममार्फत ५० लाख रुपैंयाको लगानीमा फाल्गुनन्दको प्रतिमा सहितको भौतिक संरचना निर्माणको कार्य अघि बढेको थियो । निर्माण भईरहेको फाल्गुनन्दको प्रतिमा सहितको भौतिक पूर्वाधार एक समूहले भत्काएपछि बिबाद हुदैं आएको छ ।

‘प्रकृतिपूजकको अपमान हुने गरी भएको निर्माण कार्य र पछिल्ला बिवादलाई सहि समाधान दिन हामी सम्वन्धित सबैको ध्यानाकर्षण गर्छौं’युमा साम्यो महासभाका केन्द्रीय सल्लाहकार लक्ष्मण मेन्याङ्वोले भने