यासोक/ तेह्रथुम र पाँचथर जोड्ने कुम्मायक गाउँपालिकास्थित लुम्बुघाटमा निर्माणाधीन मोटरेवल पुलको काम सुस्त भएको छ । लामो समयदेखि अलपत्र अवस्थामा रहेको पुलको काम सुस्त गतिमा भइरहेको छ । सडक डिभिजन कार्यालय धनकुटाले स्वच्छन्द निर्माण सेवालाई २०६९ सालमा ठेक्का दिएको थियो ।
तर पटक–पटक म्याद थप गर्दासमेत योजना पूरा नभएपछि पुनः अन्तिम पटक भन्दै २०७८ साल चैत्र १५ सम्म म्याद थप गरी निर्माणको काम हुँदै आएको छ । अलपत्र अवस्थाको पुलमा ठेकेदार कम्पनीले कम जनशक्ति परिचालन गरी सुस्त गतिमा काम गर्दै आएको छ । काम शुरु गरेको आठ वर्ष बित्न लाग्दासमेत योजनाले गति नलिँदा स्थानीयवासी निराश भएका छन् ।
निर्माण कम्पनीले बाँकी रहेको स्टिलको ट्रस राख्ने स्थानमा दुईवटा पिलरको काम गर्दै आएको छ । तर जनशक्ति र उपकरणको कम प्रयोग गरी सुस्त गतिमा काम भइरहेको स्थानीय वीरेन्द्र निरौलाले बताए । पाँचथरले केन्द्र र प्रदेशमा दुई मन्त्री पायो तर पुलको काम कस्तो भइरहेको छ भन्ने विषयमा चासो नदिँदा आफूहरूले सास्ती भोग्नुपरेको उनको गुनासो छ ।
पटक–पटक म्याद थप गरी समय गुजार्दै आएको ठेकेदार कम्पनीले आठ वर्षमा ४५ प्रतिशत मात्रै काम पूरा गरेको छ । बाँकी रहेको ५५ प्रतिशत काम सुस्त गतिमा गर्दै आएको छ । २०६९ मा ठेक्का सम्झौता भएको योजनाको तीनपटक म्याद थप भइसकेको छ । तीनपटक म्याद थप गर्दासमेत पुल निर्माणको काम पूरा भएको छैन । हालै सरकारले भौतिक पूर्वाधार योजनाको म्याद थप गरी काम गर्न मिल्ने विधेयक पारित गरेसँगै निर्माण कम्पनीलाई अझ सजिलो भएको छ । पक्की पुलको काम पूरा नहुँदा स्थानीयले नजिकै रहेको झोलुङ्गे पुलबाट दुईपाङ्ग्रे सवारी साधन जोखिम मोलेर तार्दै आएका छन् ।
१५ करोड ३६ लाख रुपैयाँमा स्वच्छन्द निर्माण सेवाले पुलको काम गर्दै आएको छ । १ सय ६० मिटर लामो पुलमा ९२ मिटर ढलान हुनेछ भने बाँँकी ५७ मिटरमा स्टिलको ट्रस राखिनेछ । हाल ५७ मिटर स्टिलको ट्रसको काम ठेकेदारले गर्दै आए पनि कामले गति नलिएको स्थानीयको गुनासो छ । निर्माण कम्पनीले भने योजनाको काम २०७७ साल चैत्रसम्ममा पूरा गर्ने गरी काम गर्दै आएको बताएको छ ।
तमोर नदीभित्रबाट पिलर उठाउनुपर्ने भएकाले जोखिममा काम गर्दै आएकाले तत्कालै नतिजा देखा नपर्ने निर्माण कम्पनीका निर्माण व्यवसायी कमल कार्कीले बताए । ‘पाँचथरतर्फको भागमा केही स्थानमा ढलान बाँकी छ र तेह्रथुमतर्फको स्थानमा स्टिलको ट्रस मात्रै राख्ने भएकाले पिलर उठाएपछि चाँडै निर्माण पूरा हुन्छ’ –कार्कीले भने । पाँचथर र तेह्रथुमको छोटो दूरीको सो पुल लामो समयदेखि पूरा नहुँदा स्थानीयले समस्या भोग्दै आएका छन् ।































