भण्टाबारी/ चर्पी अर्थात् शौचालय भनेपछि सबैले दिसा–पिसाब गर्ने ठाउँ भनेर सम्झन्छन् । त्यही शौचालय सबै जिल्लाबासीको पहुँचमा पुगेको र खुला ठाउँमा दिसा –पिसाब गर्ने परम्परा अन्त्य भएको भन्दै सुनसरीलाई खुला दिसामुक्त घोषणा गरेको पनि धेरै भयो ।

२०७३ सालमा जिल्लाका ९५ प्रतिशत जनता शौचालयको पहुँचमा आएको भन्दै सुनसरीलाई खुला दिसामुक्त घोषणा गरिएको थियो । खुला दिसामुक्त जिल्ला घोषणा गर्नकै लागि ठूलो अभियान नै सञ्चालन गर्दै जिल्लालाई तामझामका साथ खुला दिसामुक्त घोषणा गरिएको थियो । तर, यहाँका धेरै घरपरिवार अहिले पनि शौचालयको पहुँचमा छैन । हतारमा सुनसरीलाई खुला दिसामुक्त घोषणा गरिएको कारण अहिले अधिकांश स्थानीय तहमात्रै होइन, सदरमुकाम इनरुवामा समेत आवश्यकता अनुसार शौचालयको अभाव रहेको पाइन्छ । हुने खानेले पक्की वा कच्ची शौचालय बनाएर प्रयोग गर्दै आए पनि खासगरी जिल्लाका दलित तथा पिछडिएका वर्गका समुदाय बसोबास गर्ने क्षेत्रमा शौचालय अभाव रहेको देखिन्छ ।

तीमध्येका कतिपय घरपरिवार शौचालयविहीन छन् भने खुला दिसामुक्त घोषणा गर्न बनाइएका कतिपय शौचालय शौचका लागि प्रयोगमा आउन सकेका छैनन् । कोशी गाउँपालिका वडानम्बर ६ स्थित मुसहरी टोलका अधिकांशको घरमा शौचालय बनाइएका छन् । तर, स्थानीयवासी शौचालयमा शौच गर्नुको साटो घाँस , दाउरा राख्ने गरेका छन् । यो त एउटा उदाहरण मात्र हो, कोशी गाउँपालिका क्षेत्रमा मात्रै होइन, जिल्लाका अधिकांश ग्रामीण भेगको अवस्था यस्तै छ । खुला दिशामुक्त घोषणा गर्ने क्रममा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको सहयोग घरमा शौचालय बनाएका सुनसरीका दलित तथा पिछडिएका समुदाय शौचालय प्रयोगका बारे अझै अनभिज्ञ छन् । कतिपयले शौचालयमा पराल, दाउरा र विभिन्न घरायसी सामान राखेको पाइन्छ ।

कतिपय स्थानमा त शौचालय हेर्दा स्टोर रुम जस्तै छन् । कतिपय शौचालय जीर्ण छन् । मर्मत–सम्भार गरेर प्रयोगमा ल्याउनुपर्छ भन्ने चेतनाको पनि कमी छ । जिल्लाको कोशी गाउँपालिका –६ र ७ उल्लेख्य मात्रामा दलित तथा पिछडिएका समुदाय बसोबास गर्ने क्षेत्र हो । यहाँ कतिपयले शौचालय बनाएकै छैनन् भने निर्माण गरिएका धेरै शौचालय प्रयोगमा छैनन् । यस क्षेत्रका कतिपय सर्वसाधारणले घरमा भएका शौचालयमा गाई, भैंसीलाई आवश्यक पर्ने पराल, दाउरालगायतका सामग्री राख्ने गरेका छन् ।

अनभिज्ञताका कारण ग्रामीण क्षेत्रका सर्वसाधारणले शौचालयमा शौच नगरी बाहिर खुला चौर तथा खेतमा दिसा –पिसाब गर्दै आएको श्रीपुरका डम्बर सदा बताउँछन् । चेतनाको कमी हुनाले गाउँघरका सर्वसाधारणले बाहिरै दिसा –पिसाब गर्ने र शौचालयमा विभिन्न सामग्री राख्ने गरेको उनको भनाइ छ । आफ्नै पहलमा दलित बस्तीका केही व्यक्तिले जसोतसो शौचालय बनाए पनि आर्थिक अभावका कारण शौचालयमा ढोका र छानो हाल्न नसकेको कक्षा १० मा अध्ययनरत सदाले बताए । ढोका र छानो नहुँदा असुरक्षित महसुस हुने गरेकोले खुला ठाउँमै शौच गर्दै आएको उनले बताए । ‘दलित बस्तीका सर्वसाधारण एकछाक खाएपछि अर्को छाक कसरी जोहो गर्ने भन्ने अवस्थाका छन्’ सदाले भने, ‘आर्थिक अभावले कतिपयले शौचालय बनाउन सकेका छैनन् । सरकारले बनाइदिएको शौचालयसमेत जीर्ण छन् ।’

खुला दिसामुक्त घोषणा गर्ने होडमा सरकारी तथा विभिन्न गैरसरकारी संस्थाले शौचालय बनाउँदै सुनसरीलाई खुला दिसामुक्त घोषणा गरियो । तर,बनाइएका शौचालय प्रयोगमा छन् कि छैनन्, यसको सदुपयोग भयो कि भएन, अहिलेसम्म कसैले पनि अनुगमन गरेका छैनन् । सरोकारवाला सरकारी तथा गैरसरकारी निकायले अहिलेसम्म बनाइएका शौचालयको अनुगमन गर्न चासो देखाएको पाइँदैन ।

शौचालय प्रयोग नगर्नेलाई सिफारिस नदिइने
स्वच्छ र सुन्दर समाज निर्माणमा योगदान दिन तथा शौचालयमा दिसा –पिसाब गर्न पटक–पटक आग्रह गर्दै आएकोमा अब अटेर गर्नेलाई वडा कार्यालयबाट कुनै पनि सरकारी कामकाजका लागि सिफारिस नदिने तयारी गरेको कोशी गाउँपालिकाको कार्यालयले जनाएको छ । खुला ठाउँमा दिसा–पिसाब गर्दा वातावरण दुर्गन्धित हुनुका साथै हावामार्फत् विभिन्न रोग फैलिने सम्भावना रहने हुँदा शौचालय प्रयोग गर्न उक्त नियम ल्याइने तयारी गरेको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी बताउँछन् । ‘शौचालय प्रयोग गर्नुपर्छ भन्ने चेतना विकास गराउन प्रयास ग¥यौंं तर समुदायमा चेतनाको कमी देखियो’ उनी भन्छन्, ‘त्यसैले वडा कार्यालयबाट पाइने कुनै पनि सिफारिस नदिने तयारी गरेका हौं ।’

जन्मदर्ता, मृत्यु दर्ता, बसाइँ सराइ, नागरिकता बनाउने सिफारिस नपाउने डरले भए पनि अब शौचालय प्रयोग गर्न सबैलाई अनिवार्य गराइने अध्यक्ष अन्सारीको भनाइ छ । आर्थिक अभावका कारण शौचालय बनाउने हैसियत नभएका घरपरिवारलाई शौचालय बनाउन गाउँपालिकाको कार्यालय आवश्यक सहयोग गर्न तयार रहेको उनले बताए । यता जिल्ला समन्वय समिति सुनसरीका सभापति गोपालराज भण्डारीले शौचालय प्रयोग गर्नुपर्छ भन्ने चेतना नहुँदा ग्रामीण क्षेत्रका बासिन्दाले बाहिर खुला ठाउँमा दिसा–पिसाब गर्दै आएको बताउँछन् । स्थानीय तहले सरसफाइमा ध्यान दिनुपर्ने आवश्यकता रहेकोे सभापति भण्डारीको भनाइ छ ।