भण्टाबारी/ कोशीटप्पु वन्यजन्तु आरक्षमा सेतो पेटे रानीचरी नामक नयाँ प्रजातिको चरा फेला परेको छ ।

विश्वमै दुर्लभ मानिने उक्त चरा नेपालको कोशीटप्पुमा फेला परेको कोशी टप्पु बर्ड वाचिङ क्याम्पका सञ्चालक कुरबान मन्सुरीले जानकारी दिए ।

चरा कति सेन्टिमिटर लामो भन्ने यकिनका साथ भन्न नसकिए पनि टाउको वरपर खैरो, पेट सेतो र पछाडिको भाग कालो रङ भएको चराको फेला परेको उनले बताए । नयाँ प्रमाणित भएको उक्त चराको नेपाली नामाकरण सेतो पेटे रानीचरी गरिएको छ ।

कोशीटप्पु बर्ड वाचिङ क्याम्पका सञ्चालक तथा फोटोग्राफर सञ्जय श्रेष्ठले माघ ९ गते उक्त चरा देखेर तस्बिर खिचेका थिए । उक्त चरा नयाँ प्रजातिको हुन सक्ने अनुमानपछि प्रमाणीकरणका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग काठमाडौं पठाइएको थियो ।

कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा उक्त चरा देखेपछि श्रेष्ठले खिचेको चरा नेपालका लागि नयाँ भनेर विभागले प्रमाणित गरेको मन्सुरीले बताए । चरा विज्ञहरूले प्रमाणित गरेपछि विश्वमै दुर्लभ मानिएको चरा कोशीटप्पुमा पाएको उनको भनाइ छ । योसँगै कोशी टप्पुमा पाइने चरा प्रजातिको सङ्ख्या ५ सय २७ पुगेको छ् ।