विराटनगर/ प्रदेश १ को राजधानी शहर विराटनगर महानगरपालिकासहित मोरङका १७ वटा स्थानीय तहमा यही माघ मसान्तदेखि सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री वितरणमा पूर्णरूपमा प्रतिबन्ध लगाउने भएको छ ।

प्रदेश १ सरकारले प्रदेशभित्रका सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने तयारी गरिरहेका बेला मोरङका १७ स्थानीय तहले माघ मसान्तदेखि सुर्तीजन्य वस्तु प्रतिबन्ध लगाउने भएका हुन् ।

सामाजिक विकास मन्त्रालयले विराटनगरमा धूमपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन कार्यक्रममा यस्तो जानकारी गराएको छ । प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले जागरण अभियान सञ्चालन गरी प्रदेश १ लाई सुर्तीजन्य पदार्थको बिक्री वितरण एवम् नियमन प्रदेश घोषणा गर्ने तयारी गरिएको बताए ।

‘मोरङका १७ वटा स्थानीय तहमा माघ मसान्तभित्रमा सार्वजनिकस्थलमा सुर्तीजन्य वस्तुको बिक्री, वितरणमा रोक लगाएपछि चैतभित्रमा अन्य १३ वटा जिल्लामा पनि लागू हुनेछ’ मन्त्री घिमिरेले भने, ‘वैशाख १ गतेबाट प्रदेश १ लाई सुर्तीजन्य वस्तुको नियन्त्रण र नियमन प्रदेश घोषणा गर्दछौं ।’ मन्त्री घिमिरेले ऐनमा भएको व्यवस्था बमोजिम सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटर भित्रको घर, पसलबाट सुर्तीजन्य पदार्थ बिक्री वितरणमा नियन्त्रण गरिने बताए । ऐनलाई पूर्णरूपमा कार्यान्वयनमा लैजाने बताउँदै उनले कसैले पनि ऐन विपरीत काम गरेको पाइएमा कारबाही गर्ने दाबीसमेत गरे ।

कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले प्रदेशको राजधानी रहेको शहर विराटनगरबाट सार्वजनिकस्थलमा सुर्तीजन्य वस्तुको प्रतिबन्ध लगाउने अभियानको थालनी भएको बताए । पहिलो चरणमा स्कुल र हस्पिटलदेखि १ सय मिटर वरिपरिको क्षेत्रमा सुर्तीजन्य वस्तुको बिक्री वितरणमा प्रतिबन्ध लगाउने उनले बताए ।

‘त्यसपछि क्रमशः अन्य सार्वजनिकस्थलहरूमा लागू हुँदै जानेछ’ –प्रमुख पराजुलीले भने । सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐनलाई प्रभावकारी रूपमा कार्यान्वयन गरी सचेतना फैलाउँदै अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । सबैको साथ सहयोगले सार्वजनिकस्थलमा सुर्तीजन्य वस्तुको बिक्री वितरणमा रोक लगाउँदै यो अभियानलाई सफलतामा पु¥याउनु पर्ने उनको भनाइ थियो । सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने ऐन जारी भएको सात वर्षपछि प्रदेश १ मा यसको पूर्ण प्रतिबन्ध लगाइने भएको हो ।

सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ अनुसार कसैले पनि शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय र नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिकस्थलबाट कम्तीमा एक सय मिटरभित्रको घर, पसलबाट सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न गराउन नपाउने व्यवस्था छ । विद्यालय, स्वास्थ्य संस्था आसपास खुलेआम सुर्तीजन्य पदार्थको बिक्री वितरण भइरहेको र त्यसलाई रोक्न पहल नभएको भन्दै प्रदेश सरकार यसको नियमन शुरु गर्न लागेको हो ।

मन्त्रालयले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि विराटनरमा सोमबार बृहत् सचेतनामूलक ¥याली निकालिएको छ । धूमपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन सम्बन्धी सचेतना र्यालीमा मन्त्री घिमिरेसहित सरोकारवाला, निजी तथा सामुदायिक विद्यालयका विद्यार्थी, नेपाल प्रहरी, सशस्त्रको सहभागिता थियो । विराटनगरस्थित शहीद रङ्गशालाबाट निस्किएको ¥यालीले नगरका विभिन्न भाग परिक्रमा गर्दै महेन्द्र चौकमा कार्यक्रम गर्दै समापन भएको थियो ।

Rayali-