विराटनगर/ निजी तथा आवासीय अर्गनाइजेशन नेपाल (प्याब्सन) का केन्द्रीय अध्यक्ष टीकाराम पुरीले प्रविधिको प्रयोग गरी सीप र संस्कारसहितको शिक्षा प्रदान गरिनुपर्ने बताएका छन् ।
प्याब्सन मोरङको १५ औं वार्षिक साधारणसभाको उद्घाटन सत्रमा मङ्गलबार विराटनगरमा बोल्दै अध्यक्ष पुरीले सीप र व्यवहारिक ज्ञानसहितको शिक्षा दिनुपर्ने बताएका हुन् ।
गुणस्तरमा सुधार गरी निजी विद्यालय सामुदायिकभन्दा अलग ढङ्गले अगाडि बढ्नुपर्ने उनले बताए । उनले विद्यालयहरूको भौतिक पूर्वाधार सुधार गरी व्यवस्थित तरिकाले सञ्चालन गरिनुपर्ने बताए । ‘पढ्न र लेख्न जानेर मात्र हुँदैन’ उनले भने, ‘सीप र व्यवहारिक ज्ञानसहितको शिक्षा दिनुपर्दछ ।’
कार्यक्रममा बोल्दै उनले शिक्षालाई सीपसँग जोडेर लैजाने विषयमा अगाडि बढिसकेको जानकारी दिए । दक्ष शिक्षक राखेर उनीहरूको क्षमता अभिवृद्धि गरी समयसापेक्ष शिक्षा प्रदान गरिनुपर्ने अध्यक्ष पुरीले बताए । ‘२–४ महिना काम गर्ने शिक्षक राख्ने दिन अब गए’ उनले भने, ‘व्यवहारिक शिक्षा दिन प्रोफेसनल शिक्षक राखिनु पर्दछ ।’ काठमाडौंमा चाँडै राष्ट्रिय र अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रका विद्वानहरूलाई ल्याएर शिक्षालाई सीपसँग जोडेर अगाडि बढ्ने विषयमा राष्ट्रियस्तरको सेमिनार गर्ने तयारी गरेको पनि उनले जानकारी दिए ।
कार्यक्रममा प्याब्सन केन्द्रीय उपाध्यक्ष नारायण घिमिरे, प्याब्सन प्रदेश १ का अध्यक्ष युवराज वशिष्ठ, प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेत, शिक्षा विकास तथा समन्वय इकाइ मोरङका प्रमुख दीर्घध्वज चापागाईं, राष्ट्रिय परीक्षा बोर्ड प्रदेश १ का प्रमुख डम्बरबहादुर बतासलगायतले बोलेका थिए । सोही अवसरमा प्याब्सन मोरङको भवन निर्माणमा सहयोग पु¥याउने दुई दर्जन पब्लिकेशनहरूलाई सम्मान गरिएको छ । यस्तै विष्णु डङ्गोल, भगवतीप्रसाद घिमिरे, गोविन्द कार्कीलाई पनि सम्मान गरिएको थियो । पत्रकार सुशीला पाठक पनि सम्मानित भइन् ।
प्याब्सन मोरङको भवन उद्घाटन
विराटनगर महानगरपालिका–३ स्थित प्याब्सन मोरङको आफ्नै भवन निर्माण भएको छ । कुल १ करोड १४ लाख ८३ हजार ५ सय ८३ रुपैयाँको लागतमा नवनिर्मित २ तले भवनको उद्घाटन मङ्गलबार गरिएको हो । प्याब्सन मोरङको १५ औं वार्षिक साधारणसभाको अवसर पारेर भवन सो उद्घाटन गरिएको हो । उक्त भवनको उद्घाटन प्याब्सनका केन्द्रीय अध्यक्ष टीकाराम पुरीले गरेका छन् ।































