भद्रपुर/ नेपालमा रहेका वन क्षेत्रभित्र पाइने जैविक विविधताको ह्रास हँुदै गएपछि त्यसको संरक्षण र व्यवस्थापनतर्फ नेपाल सरकारले चासो देखाएको छ ।

सरकारबाट स्थानीय उपभोक्तामा वन हस्तान्तरण भएसँगै उपभोक्ताहरूले वनको ख्याल राखे पनि सो भित्र भएका जैविकको ज्ञान नभएपछि पछिल्लो समय दक्षिण एसियाकै दोस्रो जङ्गलको रूपमा रहेको झापाको जलथल चारकोसे वनमा विस्तृत अध्ययन शुरु गरिएको छ । प्रदेश सरकारको निगरानीमा फरेष्ट एक्सन नेपाल, फरेष्ट्री कलेज, सामुदायिक वन उपभोक्ता महासङ्घ, वेलायतको रोयल बोटानिक गार्डेन एडिनबराको साझेदारीमा वेलायतकै डार्विन इन्टिएटिभको सहयोगमा यो अध्ययन शुरु गरिएको हो । टोलीले गरेको प्रारम्भिक अध्ययनका बारेमा जलथल वनमा रहेका २२ ओटा सामुदायिक वन, स्थानीय सरकार, वन प्राविधिक, सञ्चारकर्मीमाझ सार्वजनिक गरेको छ ।

टोलीले भद्रपुरमा मङ्गलबार आयोजना गरेको जलथल जैविक विविधता व्यवस्थापन अन्तर्गत सामुदायिक वनको कार्ययोजना विषयक छलफल गरी राय सुझाव माग गरेको हो । प्रारम्भिक चरणमा सय प्रजातिका वनस्पति रहेकोमा साइकस, लटहर, एक प्रजातिको उनिउँ, दुर्लभ वस्तु फेला पारेको जनाएको छ । जाडो मौसममा अध्ययन गर्दा जङ्गलमा उनिउँ २०, सुनाखरी ६, चरा १ सय २२, मिचाहा प्रजाति १५, पुतली ९२ लगायत वनस्पति, चरा, पुतली, सरीसृप पाइएको फरेष्ट एक्सन नेपालका फिल्ड अधिकृत सञ्जयराज तामाङले बताए ।

नेपालमा सामुदायिक वनको परिष्कृत व्यवस्थापनमार्फत् जैविक विविधता र जीविकोपार्जनमा सुधारका विषयमा वृत्तचित्रमार्फत् उनले जानकारी गराएका थिए । एक्सनका विज्ञ डाक्टर लीलानाथ शर्माले जलथलका सामुदायिक वनमा जैविक विविधता व्यवस्थापनसम्बन्धी वृत्तचित्र प्रस्तुत गरेका थिए । जङ्गलमा सम्भाव्यतासँगै चुनौति पनि रहेकोले वन समूहले यसमा ध्यान दिन जरुरी रहेको धारणा राखेका थिए । जङ्गलमा पाइने माइकेनिया, वनमारालगायतका मिचाहा प्रजातिले पुनः उत्पादन भएका वनस्पतिलाई हुर्कन नदिएको उनले जनाए । वन समूहले कार्ययोजनामा नै यस्ता मिचाहा प्रजातिलाई उन्मूलन गर्ने गरीको कार्ययोजना बनाउन सुझाव दिए ।

कार्यक्रममा जिल्ला वन महासङ्घका पूर्वअध्यक्ष छत्र पौडेल, राष्ट्रिय प्रकृति संरक्षण कोषका वीरेन्द्र गौतम, शान्ति वनका अध्यक्ष यमुना बास्कोटा, सञ्चारकर्मी उत्तम नेपाललगायतले सुझाव तथा जिज्ञासा राखेका थिए । प्रदेश वन निर्देशक रविन्द्र महर्जनले जलथलको अध्ययनका लागि प्रदेश सरकारले सहजीकरण गर्ने बताए । जलथलले नेपालको उच्च स्थान ओगटेकोले यसलाई महŒवका साथ हेरिएको उनको भनाइ थियो ।

जिल्ला वन महासङ्घका अध्यक्ष वेदप्रकाश भण्डारीले औचित्यमाथि प्रकाश पारेका थिए । सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले कार्यक्रमको सहजीकरण गरेका थिए । झापाको हल्दीबारी, कचनकवल र बाह्रदशी गाउँपालिकाभित्र रहेको जलथल जङ्गलले ६ हजार ३ सय हेक्टर क्षेत्रफल ओगटेको छ । अध्ययनका लागि तीन वर्षको अवधि राखिएको छ भने करिब ४ करोड रुपैयाँभन्दा बढी रकम विनियोजन गरिएको छ ।