धरान/ धरान सरोकार समाज काठमाडौँले धरानका नवनिर्वाचित मेयर तिलक राईलाई स्वागत तथा सम्मान गरेको छ ।
शुक्रबार काठमाडौँस्थित शहरी विकास आयोजनाको हलमा एक कार्यक्रम आयोजना गरी मेयर राईलाई सम्मान गरिएको हो । कार्यक्रममा धरान सरोकार समाज काठमाडौँका अध्यक्ष प्रभुप्रसाद श्रेष्ठ र सल्लाहकार यज्ञप्रसाद आचार्यले खादा तथा बुकी र सम्मान–पत्रले मेयर राईलाई सम्मान गरे । उपमेयर मञ्जु भण्डारीले सोही समारोहमा मलेसियामा गत असोजमा सम्पन्न मिस कस्मोपोलिटन वल्र्ड २०१९ को विजेता प्रियारानी लामालाई सम्मान गरिन् ।
कार्यक्रममा बोल्दै धरान सरोकार समाज काठमाडौँका अध्यक्ष श्रेष्ठले धरानको विकासको लागि काठमाडौँमा रहेका धरानेहरू हरेक पल धरान उपमहानगरपालिकाको साथमा रहेको बताए । उनले नवनिर्वाचित मेयरबाट धरानको विकासमा नयाँ आयाम थपिने आशा गरेको बताए ।
त्यस्तै मेयर राईले वादको विवाद नगरौं, धरानको विकास निर्विवाद गरौं भन्ने धरान सरोकार समाजको मूलमन्त्रले आफूलाई निक्कै छोएको बताउँदै धरानको विकासको लागि कुनै पार्टीविशेष नहेरी विकासमा लाग्ने बताए । मेयर राईले आफूले कसैको निजी स्वार्थका लागि काम नगर्ने र भ्रष्टाचार कुनै हालतमा नगर्ने अठोट व्यक्त गरेका थिए । ‘वादको विवाद नगरौं, धरानको विकास निर्विवाद गरौं’ भन्ने सन्देशसहित काठमाडौँमा रहेका धरानेहरूले स्थापना गरेको समाजले धरानको विकासका लागि पैरवी गर्दै आएको छ ।































