इटहरी /  लामो समय देखि वराहक्षेत्र नगरपालिका वडा नम्बर १ का स्थानीयहरू खानेपानीको हाहाकार सहँदै आएका छन ।
सुख्खायाममा त त्यहाँका स्थानीयहरू पानीको अभावका कारण काकाकुल हुने गरेका छन् । पानी अभावकै कारण चियाबारी क्षेत्रका सर्वसाधरण समस्यामा पर्दै आएका छन । वराहक्षेत्रको वडानम्बर १ उचाइमा भएका कारण पनि लामो समयदेखि पानीको समस्या झेल्दै आएको स्थानीयहरूले दुखेसो गरेका छन् ।

खानेपानीको चरम अभाव भएका कारण अहिले वराहक्षेत्र–१ का सर्वसाधरण काकाकुल बनेको स्थानीयको भनाइ छ । यस क्षेत्रमा पानी अभावकै कारण जनजीवन समस्या ग्रस्त भइरहेको भन्दै पानीको विषयमा सरकारलाई गुहार गर्ने थालेका छन् । वराहक्षेत्र–१ चियाबारीका स्थानीयबासी अर्जुन राईले खानेपानी अभाव भएको कारण आफूहरू समस्यामा पर्दै आएको बताए । अहिले खानेपानी नहुदा यहाँका ७ सय घर परिवार समस्यामा परेका छन् उनले भने । निकै तलदेखि पानी तानेर ल्याउनुपर्ने बाध्यता हुँदा लामो समयदेखि समस्या हुँदै आएको छ, उनी भन्छन् । मासिक ७ हजारसम्मको पानीको बिल आउँछ उनले दुखेसो गर्दै भने ।

कृषि पेसा गर्दै आएका अर्जुनलाई अहिले पानीको समस्याले पिरोलेको छ । पानी प्रशस्त भइदिएको भए यहाँ आर्थिक उन्नतिसमेत राम्रो गर्न सकिन्थ्यो उनले भने । पानी छैन, पानी भइदिएको भए धेरै राम्रो उब्जाउ हुने थियो, अर्जुनले भने । अर्जुनमात्र हैन त्यस क्षेत्रका करिब ७ सय परिवार अहिले पानीअभाबकै कारण समस्यामा पर्दै आएका छन । पानी नभएकै कारण लामो समयदेखि दुःख गर्दै आएको स्थानीयहरू बताउँछन् । पानीको मुहान् सुक्न थालेकाले खानेपानी पाउन कठिन भएको छ, स्थानीय देविका मगरले भनिन् । खानेपानी अभावले लामो समयदेखि सताउँदै आएको देविकाको दुखेसो छ ।
पानीको स्रोत संरक्षणमा दीर्घकालीन योजना र सोच नहुँदा बर्सेनि खानेपानीको हाहाकार हुने गरेको छ ।

खानेपानी संस्थाका अध्यक्ष तपेन्द्र राईले पानी अभावले ज्यादै समस्या हुँदै आएको बताए । पानीको मुहान् निकै तल भएको कारण पानी तान्न समस्या भएको उनी बताउँछन् । पानीको समस्या करिब ७ सय परिवारले झेल्दै आएको बताए । दीर्घकालीन समस्या समाधानको विषयमा हामी लागिपरेका छौँ अध्यक्ष राई भन्छन् । पानीको स्रोत घट्दै गएको सरोकारवालाले बताएका छन् ।

हुडेप नेपालका झुम्काका अध्यक्ष डिल्ली कार्कीले वराहक्षेत्रमा पानीको अभाव भएकै कारण पानीतान्ने आधुनिक मेसिन ल्याउने विषयमा छलफल भइरहेको बताए । पानीको अभावको विषयमा हामी लामो समयदेखि छलफल गर्दै छौँ । पानी अभावकै कारण यहाँका कृषि क्षेत्रसमेत नफस्टाएको उनको भनाइ छ । ‘पानी पर्याप्त भए यहाँका किसानहरूको जनजीवन सहज हुने थियो’ कार्कीले भने ।