भण्टाबारी / सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गरेर कोशीटप्पु वन्यजन्तु आरक्षले पर्यटन प्रवद्र्धनका कार्यक्रम गरिरहँदा जनावर आतङ्क रोकिएको छैन ।
एकातिर हात्ती सवारी गर्दै आन्तरिक तथा वाह्य पर्यटक आकर्षित गर्न खोजिए पनि अर्कातर्फ त्यही हात्ती मानव बस्तीमा पसेर आतङ्क मच्चाउँदै आएको छ ।

सङ्घीय सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल बनाउँदै प्रदेश नम्बर एकमा पाँचलाख पर्यटक भिœयाउन सहयोग पु¥याउने गरी हात्ती सवारी गर्दै पर्यटक तान्ने प्रयास सकारात्मक देखिए पनि जङ्गली जनावरको व्यवस्थापन गरिएको पाइँदैन । जसले गर्दा दिनहुँजसो कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केर गाउँ पस्ने जङ्गली जनावरले कोशीटप्पुसँग सीमा जोडिएका सुनसरी, सप्तरी र उदयपुर जिल्लाका सर्वसाधारण त्रसित छन् । कोशीटप्पु पर्यटकीय हिसाबले प्रदेशकै मुख्य पर्यटकीय स्थल रहे पनि जङ्गली जनावरको व्यवस्थापन गर्न नसक्दा स्थानीयले कोशीटप्पुबाट हात्ती सार्न दबावसमेत दिने गरेका छन् । यद्यपि अर्कातर्फ कोशीटप्पुको पहिचान नै अर्ना र हात्ती भएकाले अन्तै सारिएकालाई समेत यतै ल्याउनुपर्ने माग गर्नेहरू पनि धेरै छन् ।

पर्यटन क्षेत्रको संरक्षण र सम्बद्र्धन गर्दै आन्तरिक तथा वाह्य पर्यटक प्रवद्र्धनका लागि स्थानीय सरकार, कोशीटप्पु वन्यजन्तु आरक्ष र नेपाली सेनाको त्रिपक्षीय आयोजनामा बिहीबार हात्ती सवारी कार्यक्रम भएकै दिन आरक्षबाट निस्केर आएको हात्तीले पाँचजनाको घरमा क्षति गरेको छ । आरक्षबाट मध्यरातमा आएको जङ्गली हात्तीले कोशी गाउँपालिका–७ स्थित हरिपुरका ललित रायको दुईवटा, बेचन रायको एउटासहित पाँचजनाको घर भत्काउँदा २ लाखबढीको क्षति भएको छ ।

मध्यरातमा आएको एउटा हात्तीले सुतिरहेको अवस्थामा घर तोडफोड गर्न थालेपछि भागेर ज्यान जोगाएको बेचन रायले बताए । जाडो बढिरहेको समयमा आरक्षबाट निस्केर आएको हात्तीले बस्ने घर र भान्सा कोठासमेत भत्काइदिएपछि राय परिवार समस्यामा परेको छ । मजदुरी गरेर परिवार पाल्ने राय भन्छन्, ‘हात्तीले भएको घर भत्काइदियो, जाडोमा कति दिन अर्काको घरमा बस्ने ? हामीलाई हेर्ने कोही छैन ।’ कम्तिमा बस्ने घर बनाउन सहयोग गर्न उनले आग्रह गरेका छन् । हात्ती सवारी जस्ता कार्यक्रमले आन्तरिकदेखि वाह्य पर्यटक भिœयाउन टेवा पुग्ने भए पनि जङ्गली हात्ती र अर्ना व्यवस्थापन गरिनुपर्ने स्थानीयको माग छ ।

कोशीटप्पुको संरक्षण र पर्यटकीय क्षेत्र विकासका लागि जङ्गली जनावर र मानवबीचको द्वन्द्व अन्त्य हुनुपर्नेमा कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले समेत जोड दिएका छन् । हात्तीसहितका जङ्गली जनावरका लागि घाँसको व्यवस्थापन गरेर मात्र दिगो समाधान नहुने भएकोले तारबारको विकल्पमा आरसीसी वाल निर्माण गर्नुपर्ने उनको सुझाव छ । अध्यक्ष अन्सारीले हात्ती पीडितलाई कोशी गाउँपालिकाको कार्यालयले आवश्यक सहयोग गर्ने बताए । यता कोशीटप्पु वन्यजन्तु आरक्षका वार्डेन रामदेव चौधरी भने पर्यटक भिœयाउन र पर्यटकीय क्षेत्रको रूपमा कोशीटप्पुलाई विकास गर्न जनावर र मानवबीचको द्वन्द्व समाधानको लागि हरसम्भव प्रयास गर्दै आएको दाबी गर्छन् ।

यद्यपि आरक्षबाट निस्केर गाउँ पस्ने जङ्गली हात्तीले मानवीय क्षतिसँगै सर्वसाधारणले लगाएको बालीमा क्षति गर्दै घरमा भण्डारण गरेर राखेको अन्नबाली खाएर नष्ट गर्ने क्रम रोकिएको छैन । ६ वर्षको अवधिमा कोशीटप्पु वन्यजन्तु आरक्षका हात्ती आक्रमणबाट १९ जनाले ज्यान गुमाएका छन् भने ५८ जना बढी घाइते भएको तथ्याङ्क छ । कोशीटप्पु वन्यजन्तु आरक्षले क्षति कम गर्न विभिन्न जुक्ति अपनाए पनि त्यो प्रभावकारी भएको पाइँदैन । हात्ती आक्रमणबाट मानवीय क्षति हुन नदिन नेपाली सेना र आरक्षका कर्मचारीले २४ सै घण्टा निगरानी गर्दै आएको वार्डेन चौधरी बताउँछन् । गतवर्ष आरक्ष प्रशासनले प्रदेश सरकारको १ करोड र राष्ट्रिय निकुञ्ज केन्द्रीय विभागबाट प्राप्त ३२ लाख रुपैयाँ लगानीमा सोलार तारबार घेराबेरा गरिए पनि जनावर रोक्न त्यो प्रभावकारी छैन ।