सरकारले सातवटै प्रदेशबाट ‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रारम्भ गरेको छ । २० लाख पर्यटक भिœयाउने लक्ष्यका साथ भ्रमण वर्ष शुरुवात भइरहँदा पर्यटक आकर्षित गर्नका लागि पूर्वाधार तथा भौतिक संचरनाकै कुरा मुख्य रूपमा आउँछ । त्यससँगै सडक पहु“च, होटल, पर्यटनमैत्री व्यवहारलगायत मूलभूत रूपमा पर्दछन् । २२ वर्षपछि भ्रमण वर्षले नेपालमा फेरि एकपटक निरन्तरता पाएको छ । सन् १९९८ मा भ्रमण वर्षको रूपमा नेपालले पर्यटकलाई आकर्षित गरेको थियो । २२ वर्षपछि भएको यो भ्रमण वर्षबारे भद्रपुरका व्यवसायीहरू यसो भन्छन् ः

राजन वन (सञ्चालक मुनराइज फुड ल्याण्ड चन्द्रगढी)
भ्रमण वर्ष सफल बनाउन स्थानीय सरकारले पर्यटकीय क्षेत्रका बारेमा ठाउँ ठाउँमा जानकारीमूलकका चित्र राख्नुपर्छ । सो क्षेत्रमा जाने सडक, पिउने पानी, होटलको व्यवस्था जरुरी छ । नेपाल छिर्ने नाकामा नै जानकारी दिन जरुरी देखिन्छ । सबै क्षेत्रलाई समेटेर एकजुट भइ लाग्नुपर्छ । आएका पाहुनालाई सत्कार गर्नुपर्छ ।

चण्डी अधिकारी (सञ्चालक गोरखा डिर्पाण्टमेन्ट चन्द्रगढी लेखनाथ चोक)
सरकारले पर्यटन वर्ष कागजमा मात्र सीमित पार्न हँुदैन । सरकारले अभियान ल्याए पनि उपलब्धि भएको देखिँदैन । निजी क्षेत्रलाई हौसला दिएर पर्यटन वर्ष सफल वनाउन सकिन्छ । नेपालमा पर्यटकीय क्षेत्र अन्य देशको तुलनामा बढी भए पनि सडक पूर्वाधार अभावले ओझेलमा पर्ने गरेकोले यसलाई सुधार गर्नुपर्ने देखिन्छ । भद्रपुर नगर क्षेत्रमा पर्यटकीय क्षेत्रहरू नेपालमा नै चर्चित भएकाले यस्ता क्षेत्र अवलोकन गर्न जरुरी छ ।

अर्जुन थापा (सञ्चालक ओम साइ अटो पार्टस भद्रपुर १० लेखनाथ चोक)
बाटोघाटोको व्यवस्था पहिलो प्राथमिकतामा पर्छ । आन्तरिक तथा बाह्य पाहुनाहरूलाई धेरै समय रहने गरी पर्यटकीय क्षेत्रको बारेमा आकर्षण बढाउनुपर्छ । सरकारले निजी क्षेत्रलाई ‘प्रमोट’ गर्नु पर्छ । सामाजिक सञ्जाल मार्फत पनि पर्यटकीय क्षेत्रको बारेमा जानकारी दिन जरुरी छ । आएका पर्यटकलाई सम्मान गर्नुपर्छ । महङ्गो गरेर रकम बढी लिन हुँदैन । प्रचार प्रचार मुख्य रहन्छ ।

पङ्कज कुमार शर्मा (महासचिव झापा उद्योग वाणिज्य सङ्घ)
स्थानीय तहले उद्योगी, व्यवसायी, होटल लगायतसँग मरामर्श तथा छलफल गरी पाहुना आउने अवसर बनाउन जरुरी छ । सरकारले पूर्वाधार विकासमा ध्यान दिनुपर्ने दखिएको छ । स्थानीय सरकारले वाणिज्य सङ्घसँग समन्वय गरी छलफल र अन्तरक्रियाबाट धेरै प्रचार प्रसार गर्न जरुरी छ । पर्यटकीय क्षेत्रमा गाँस, बास र कपासको व्यवस्था हुनुपर्छ । ती क्षेत्रहरूमा अनुगमन हुन उत्तिकै जरुरी छ । सबै क्षेत्र एक भएर यो अभियानलाई सफल बनाउनुपर्छ ।

तुलसीबहादुर श्रेष्ठ (प्रमुख प्रशासकीय अधिकृत भद्रपुर नगरपालिका)
सरकारले घोषणा गरेको अभियानलाई भद्रपुर नगरपालिकाले अपनत्व लिदै बढी भन्दा बढी पर्यटकलाइ बसाउने र खर्च गर्ने सक्ने क्षेत्रहरूमा लैजान आवश्यक छ । नेपालसँगै भद्रपुर नगरमा रहेका पर्यटकीय स्थलहरूको बारेमा छिमेकी भारतसँग केही दिन अघि राजनीतिक दल, पत्रकार जनप्रतिनिधि, विज्ञहरूसँग भारतमा नै गएर अन्तरक्रिया गरिसकेको अवस्था छ । नगरपालिकाले १ नम्बर प्रदेशमा रहेका गन्तव्यहरूको पहिचान गरी वृत्तचित्र तयार पारिसकेको छ । यातायात व्यवसायी, होटल व्यवसायीबीच छलफल गरेर पर्यटक मैत्री बनाउन लागिरहेका छौँ । नगरले मात्र नभई सबै क्षेत्रबाट मिलेर यो अभियानलाई निरन्तरता दिन आवश्यक छ । पर्यटकीय क्षेत्रका बारेमा स्थानीय सरकारले विभिन्न माध्यामबाट प्रचार प्रसार गरिरहेको छ ।

निरबहादुर (नेत्र) कार्की (पर्यटन व्यवसायी तथा मेचीनगर पर्यटन विकास समिति सदस्य)
पर्यटन वर्ष सफल बनाउन स्थानीय सरकारले पर्यटकीय स्थलमा जाने भाडा दर तोक्नुपर्दछ । होटल तथा ट्राभल्स व्यवसायीले आफूले दिने सेवाहरूको बारेमा ग्राहकलाई जानकारी हुने खालका सूचना सार्वजनिक गर्नुपर्छ । नेपाल सरकारले वर्षमा एक पटक सरकारी तवरबाट नेपालका पर्यटकीय क्षेत्रमा भ्रमण गराउने बानी बसाउन आवश्यक छ । नेपालबाट पर्यटक बनेर बाहिरी देशमा गएर नेपाल आउन निम्तो दिएमा दुवै देशमा आवत जावत हुने वातावरणको विकास हुनेछ । सरकारले पर्यटन व्यवसायीबाट समेत गन्तव्यहरूको बारेमा जानकारी लिन आवश्यक छ ।

निर्मलकुमार राजवंशी (झापा ट्राभल्स एशोसीएशन भद्रपुर नगर अध्यक्ष तथा निर्मल बाबा टुर्स एण्ड ट्राभल्स चन्द्रगढी)
सरकारले अभियान ल्याएर कागजमा मात्र सीमित पार्न हुँदैन । ट्राभल्स व्यवसायीहरुले पर्यटकलाई सम्मानजनक व्यवहार गर्नुपर्छ । सेटिङमा होटल र यातायातको मिलोमतो गर्न हुँदैन । पर्यटकीय क्षेत्रमा यातायातसहित भ्रमण कर्ताहरूसँग विभिन्न बहानामा महङ्गो रकम लिन हुँदैन । एयरपोर्ट, बस पार्कलगायत मुख्य बजारहरूमा जानकारीमूलक पर्यटकीय क्षेत्रका नक्साहरू र दूरी उल्लेख गर्नुपर्छ ।