सरकारले सातवटै प्रदेशबाट ‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रारम्भ गरेको छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ भ्रमण वर्ष शुरुवात भइरहँदा पर्यटक आकर्षित गर्नका लागि पूर्वाधार तथा भौतिक संचरनाकै कुरा मुख्य रूपमा आउँछ । त्यसस“गै सडक पहुँच, होटल, पर्यटनमैत्री व्यवहारलगायत मूलभूत रूपमा पर्दछन् । २२ वर्षपछि भ्रमण वर्षले नेपालमा फेरि एकपटक निरन्तरता पाएको छ । सन् १९९८ मा भ्रमण वर्षको रूपमा नेपालले पर्यटकलाई आकर्षित गरेको थियो । २२ वर्षपछि भएको यो भ्रमण वर्षबारे सुनसरी तल्लो क्षेत्रका पर्यटन तथा अन्य व्यवसायीहरू यसो भन्छन् :

कुरबान मन्सुरी (पर्यटन व्यवसायी, कोशी टप्पु)
कोशीटप्पु वन्यजन्तु आरक्ष प्रदेश नम्बर एककै सबैभन्दा मुख्य पर्यटकीय क्षेत्र हो । यहाँ विदेशी पर्यटकहरूलाई ल्याउन सकिने प्रचूर सम्भावना छ । त्यसको लागि प्रचारप्रसार गर्नुका साथै सरसफाइमा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ । यहाँ स्वस्थ खानपिन, रहनसहन र व्यवस्थित शौचालयको अभाव छ । वर्षौदेखि कोशीटप्पु क्षेत्रमा पर्यटन व्यवसाय तथा पर्यटन प्रवद्र्धनमा लागेको हिसाबले मलाई लाग्छ सुविधासम्पन्न होटेल व्यवस्थित रूपमा भए भने बर्सेनि हजारौं विदेशी पर्यटकहरूलाई कोशीटप्पुमा ल्याउन सकिन्छ । सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल बनाउन पूर्वाधार विकास, प्रचारप्रसार र पर्यटकलाई सत्कार गर्न जनचेतनामूलक कार्यक्रम आयोजना गरिनुपर्छ ।

प्रेमकुमार मेहता (होटल व्यवसायी)
सरकारले घोषणा गरेको पर्यटन वर्ष सफल बनाउनु हामी सबैको दायित्व हो । १ नम्बर प्रदेश सरकारले प्रदेशमा ५ लाख पर्यटक भि†याउने लक्ष्य लिए पनि त्यसअनुसारको तयारी अझ पुगेको छैन । कोशी गाउँपालिका–३ मा अवस्थित कोशीटप्पु वन्यजन्तु आरक्षमा आन्तरिक पर्यटकहरू आउने क्रम बढे पनि बाह्य पर्यटक अपेक्षाअनुसार आउन सकेका छैनन् । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा भारतीय तथा आन्तरिक पर्यटक भरिभराउ हुँदा व्यवस्थित ठाउँ नहुँदा बस्ने ठाउँको समेत अभाव भयो । त्यसैले भ्रमण वर्ष सफल पार्न र कोशीटप्पुमा विदेशी पर्यटकलाई टिकाउन दीर्घकालीन योजनाअनुसार भौतिक पूर्वधार विकास गर्नु जरुरी छ ।

हिमाल उराँव (होटल व्यवसायी)
कोशीटप्पुमा होटेल व्यवसाय फस्टाउने क्रम बढे पनि अपेक्षित पर्यटक नआउँदा थप लगानी गर्ने माहोल तत्काल छैन । आन्तरिक पर्यटक आउने गरे पनि त्यसबाट सोचेअनुसार लाभ लिन सकिएको अवस्था छैन । भ्रमण वर्षलाई भव्य रूपमा सफल बनाउन कोशी टप्पुमा भएका दुर्लभ मानिने अर्ना, विभिन्न प्रजातिका चराचुरुङ्गी लगायतका बारेमा व्यापक रूपमा प्रचार गर्दै विश्वलाई कोशीटप्पुका विशेषताहरूका बारेमा अवगत गराउनुपर्छ अनिमात्र विदेशी पर्यटक आउने छन् । बैङ्कले समेत कोशीटप्पु क्षेत्रमा रहेको जग्गाको मूल्याङ्कन नगर्दा पर्यटन व्यवसाय फस्टाउन नसकेको हो । व्यवसायीलाई ढुक्क भएर लगानी गर्ने बनाउन स्थानीय र प्रदेशले पहल गर्न जरुरी छ ।

लोकबहादुर लुम्रे मगर (होमस्टे सञ्चालक)
अङ्ग्रेजी नयाँ वर्षको अवसरमा भारतीय र आन्तरिक पर्यटक आउने गरेका छन्। अधिकांश दिनभर घुम्ने र साँझतिर घरतिर फर्किने गर्छन् ।सञ्चालकहरूले अपेक्षा गरिएअनुसारको आम्दानी गर्न सकेका छैनन् । सन् २०२० लाई सरकारले भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरेको छ । भ्रमण वर्ष सफल बनाउन धेरै भन्दा धेरै पर्यटक भि†याउनका लागि कोशीटप्पु जस्ता पर्यटकीय क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्न सरकारले ध्यान दिनुपर्छ ।

गोपालबहादुर कार्की (होमस्टे सञ्चालक)
२०५१ सालदेखि कोशीटप्पु क्षेत्रमा बस्दै आएको छु । कोशीटप्पु सरकारले वार्षिक रूपमा करोडौं राजस्व असुली गर्न सकिने सम्भावना रहेको छ । तर, त्यसको लागि पहिला करोडौं रुपैयाँ खर्च गर्नुपर्ने आवश्यकता छ । सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० मा पर्यटक आकर्षित गर्ने मध्येको एक नम्बर प्रदेशको मुख्य पर्यटकीय स्थल हो । त्यहीअनुसार प्राथमिकता दिएर स्थानीय, प्रदेश र सङ्घीय सरकारले योजना बनाउनुपर्छ । अहिलेसम्म कुरबान मन्सुरी जस्ता केही सीमित व्यक्तिको पहल र प्रयासमा कोशीटप्पुमा पर्यटन व्यवसाय चलेको छ ।

अमृत विश्वकर्मा (होटेल व्यवसायी)
सुनसरी, सप्तरी र उदयपुर जिल्लाको १७५ किलोमिटरमा फैलिएको कोशीटप्पु निकै विशेषतायुक्त पर्यटकीय स्थल हो । तर, विडम्बना यसको उचित संरक्षण र सम्बद्र्धनमा राज्यले ध्यान दिन सकेको अवस्था छैन । जसले गर्दा स्थानीय युवावर्ग बेरोजगार छन् भने राज्यले समेत अपेक्षा गरे अनुसारको राजस्व उठाउन सकेको छैन । भ्रमण वर्ष २०२० मा एक नम्बर प्रदेश सरकारले लिएको लक्ष्य पूरा गर्न कोशीटप्पुलाई बेवास्ता गर्नुहुँदैन । छोटो समय र कम लगानी लाग्ने भएकोले बिहारका पर्यटकहरूको लागि कोशीटप्पु मुख्य गन्तव्य मध्येको एक हो ।

अजय मण्डल (होटल व्यवसायी)
भारतीय पर्यटकहरूका लागि कोशी ब्यारेज मुख्य गन्तव्य हो । अङ्ग्र्रेजी नयाँवर्षको शुरुवातमा भारतीयसँगै आन्तरिक पर्यटकहरू उल्लेख्य रूपमा आउने गरेका छन् । तर, त्यसपछि विस्तारै कम हुँदै जान्छ । कोशी ब्यारेजमा सरसफाइको अभाव देखिन्छ । फ्रेस माछाका लागि कोशी ब्यारेज प्रख्यात भए पनि स्थानीय सरकारले सरसफाइमा ध्यान दिनुपर्ने आवश्यकता छ । आन्तरिक र बाह्य पर्यटक बस्ने होटल सफा र व्यवस्थित हुनुपर्छ ।