धरान / न खानको टुङ्गो, न बस्नको । धरानको सडकमा बस्दै आएका बालबालिकाको अवस्था दयनीय थियो ।
शुक्रबार साँझ सङ्घीय सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ, १ नम्बर प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरे र धरान उपमहानगरका मेयर तिलक राई धरानका सडक र कुना काप्चामा बालबालिका खोज्दै पुगे ।
प्रदेश नं १ लाई सडक बालबालिकामुक्त प्रदेश बनाउने अभियानअन्तर्गत शुक्रबार सडकमा बस्दै आएका ३० जनाको उद्धार ग¥यो । उनीहरू मध्ये बालबालिका धेरै भए पनि केही वृद्ध र महिला पनि थिए । उनीहरूलाई आश्रमहरूमा लगिने बताइएको छ । प्रदेश सरकारले प्रदेशलाई सडक बालबालिका मुक्त प्रदेश बनाउने घोषणा गरेको थियो ।

त्यही योजना अनुसार सडकबाट बालबालिकाहरू उद्धार गरिएका हुन् । सरकारले सडक मानव मुक्त सहर बनाउने अभियान नै चलाएको छ । सङ्घ र प्रदेशबाट धरान आइपुगेका मन्त्रीहरूले सडक बालबालिकालाई उद्धार गर्नुअघि धरान उपमहानगरपालिकामा छलफल गरेका थिए । छलफलमा बालबालिकाहरू सडकमा आउने रोक्ने योजना रहेको बताइएको छ ।

प्रदेश नं.१ का सबै सहरका सडकमा बस्दै आएकाहरूलाई उद्धार गर्ने प्रदेश सरकारको योजना छ । उद्धार गरिएकाहरूलाई पुर्नस्थापना र पुर्नबास कार्यक्रम ल्याएर सडकमा आउन नदिने सरकारको योजना छ ।