विराटनगर / जिल्ला अदालत सुनसरीले बलात्कार आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई धरौटीमा छोड्न दिएको आदेश विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीले उच्च अदालत विराटनगरमा निवेदन दिएको छ ।
जिल्लाको आदेश चित्त नबुझेको र प्रतिवादीलाई थुनामा राखेर कारवाही प्रक्रिया अगाडी बढाउनु पर्ने भन्दै उच्च अदालत विराटनगरमा १७ नम्बर बमोजिम बिहीबार निवेदन दर्ता गराएको हो ।
पुस १४ गते थुनछेक बहसपछि जिल्ला अदालत सुनसरीका न्यायधीश राधाकृष्ण उप्रेतीको इजालशले गिरीलाई ३ लाख रुपैयाँ धरौटिमा छाड्न आदेश दिएका थिए । पीडितको किटानी जाहेरीका साथै आरोपीलाई स्थापित गर्ने प्रमाणहरु हुँदासमेत इजलाशले धरौटिमा छोडन दिएको थियो ।
सुनसरी अदालतले गरेको आदेश विरुद्ध उच्च अदालत विराटनगरमा अदालती बन्दोवस्तीको १७ नम्बर महल बमोजिम निवेदन दिएको उच्च अदालत विराटनगरका रजिष्ट्रार जितेन्द्र बावु थपलियाले जानकारी दिए । निवेदन दर्ता भएकोले शुक्रबार अदालतको इजालशमा पेशी चढने बताइएको छ । पेशी चढेपछि न्यायधीशले सुनसरी अदालतको इजालशले गरेको आदेशको कैफियत प्रतिवेदन झिकाउन आदेश दिनेछन् । सुनसरी अदालतले कैफियत प्रतिवेदन पेश गरेपछि मुद्दाको सुनवाइ हुने अदालतले जनाएको छ ।
गत ४ कात्तिकमा महिला अनुयायीमाथि कृष्णदासले करणी गरेको आरोप लागेको थियो । बलात्कारको आरोप लागेपछि विराटनगरको मुनालपथस्थित विराटनर्सिङ होममा क्याबिनमा उपचारका लागि १२ मंसिर दिउँसो भर्ना भएका थिए । कृष्णदास १६ मंसिरमा पक्राउ परेका थिए । कृष्णदासलाई १६ मंसिर बिहान ५ बजे सुनसरी प्रहरीले पक्राउ गरेर पहिलो पटक अदालतबाट ४ दिनको म्याद थप गरिएको थियो । त्यसपछि २० मंसिरमा दोस्रो पटक ५ दिनको, २७ मंसिर तेस्रो पटक ७ दिनको, ३० मंसिरमा चौथो पटक ७ दिनको र ७ पुसमा पाँचौ पटक ३ दिनको अदालतमा मुद्दा पेस भएको थियो ।































