संखुवासभा । सप्तकोशीको सबैभन्दा ठुलो सहायक नदी र संखुवासभाबाट बग्ने सबैभन्दा ठूलो अरुण नदीमा पक्की पुल नहुँदा सर्वसाधरणले सास्ती भोग्दै आएका छन् । जिल्ला सदरमुकाम खाँदबारीको हेलुवाबेंसी र भोजपुरको बुम्लिङटारको सिमानाबाट बग्ने अरुणमा पक्की पुल नहुँदा समस्या भएको हो ।

संखुवासभाको अरुण पारिको सिलिचोङ गाउँपालिका तथा भोजपुरको साल्पा सिलिछोका हजारौं नागरिकहरुको दैनिक उपभोग्य सामनहरु लाने बाटोमा पक्की पुल नभए पछि अरुण पारिका नागरिकले सास्ती भोग्न परेको हो ।

पारिका नागरिकहरु झोलुंगे पुलको सहायतामा आवतजावत गर्छन् । तर सदरमुकाम खाँदबारीबाट ढुवानी गरिएका सामान तार्न र भोजपुरबाट ल्याइएका सामानहरु भरिया र खच्चडको सहायतामा तार्नुको अर्को विकल्प छैन ।

ढुवानी गरिएका सामान पुल वारी-पारी गर्न भरियाहरुलाई महंगो मूल्य चुकाउनु त परेको छ नै मनपरी भाडाले ढाड सेकेको छ । पक्की पुल हुने हो भने अरुण पारिका नागरिकका आँगनमा सामान आइपुग्ने थियो तर पुलन भएकै कारण महंगो भाडा तिरेर सामान ढुवानी गर्नु पर्छ ।

पुल तार्नको लागि कहिले काँही भरिया नपाइने र खच्चड समेत नपाउँदा बाटैमा सामान अलपत्र पर्ने गरेको स्थानीयहरु बताउँछन् ।दैनिक उपभोग्य सामाग्रीहरु लान तथा स्थानीय क्षेत्रमा उत्पादित सामानहरु ल्याउन समेत सकस परेको छ ।

झोलुंगे पुलको वारी पारी सडक समेत जोडिएको छ । खाँदबारीबाट हेलुवाबेशीसम्म नियमित गाडी सञ्चालनमा छ भने बुम्लिङटार भोजपुरमा र सिलिचोङ गाउँपालिकाको बुधबारे बजारसम्मपनि गाडी सञ्चालनमा छ । तर अरुणनदिमा पक्की पुल नहुँदा खाँदबारीबाट अरुण पारिको गाउँसम्म हिँडेका यात्रुहरु पुल तरेर बुम्लिङटारबाट अर्को गाडीको यात्रा गर्नु पर्ने बाध्यता छ ।

पुल अभावका कारण गाडीको यात्रा गर्नको लागिआवश्यकता भन्दा धेरै भाडा तिरेर यात्रा गरिरहेका छन् ।