विराटनगर/ कृषकको खेतबारीमा पुगेर माटोको परीक्षण गरी तत्काल जानकारी दिन बसभित्र उपकरण जडान गरिएको ‘माटो परीक्षण घुम्ती प्रयोगशाला’ थन्क्याएर राखिएको पाइएको छ ।

१ नम्बर प्रदेश सरकारले कृषकको खेतबारीमा पुगेर माटो परीक्षण गरी तत्काल रिपोर्ट दिने उेद्दश्यले ७४ लाख ७४ हजार रुपैयाँमा खरिद गरेको उक्त प्रयोगशाला ६ महिनादेखि झापाको सुरूङ्गास्थित माटो तथा मल परीक्षण प्रयोगशालामा थन्किएर बसेको हो ।

प्रदेश सरकारले प्रयोगशालामा रहेका प्राविधिकहरूलाई आवश्यक तालिमको व्यवस्थाबारे जानकारी दिन नसक्दा हालसम्म सञ्चालनमा नआएको हो । कृषकले लगाएको बाली उठाएपछि मङ्सिरदेखि माघसम्म माटो परीक्षण हुने गरेको छ । कृषकले माटो परीक्षण गरेपछि सिजनअनुसारको बाली लगाउने गरेका छन् । नयाँ आएको प्रविधिबारेमा आवश्यक तालिम र ज्ञान नहँुदा बसमै फिट भएको माटो परीक्षण गर्ने घुम्ती प्रयोगशाला सञ्चालनमा नआएको माटो तथा मल परीक्षण प्रयोगशालाले जनाएको छ ।

प्रदेशको भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले कृषकको खेतमै पुगेर माटोको परीक्षण गरी माटोको अवस्थाबारे जानकारी दिन गत असार १७ गते को.१ ग १६० नम्बरको बसखरिद गरेर त्यसमा माटो परीक्षण गर्ने घुम्ती प्रयोगशाला निर्माण गरेको थियो । मन्त्रालयले ५० लाख ८५ हजार रुपैयाँमा बस र २३ लाख ८९ हजारमा ल्यावको इक्वीप्मेण्ट बसभित्र जडान गरेको थियो । कृषकको खेतबारीमा पुग्न सहज हुने उद्देश्यले बसभित्र तयार पारेको माटो परीक्षण प्रयोगशाला साउनको पहिलो साता झापाको सुरूङ्गास्थित माटो तथा मल परीक्षण प्रयोगशालालाई हस्तान्तरण गरेको थियो । प्रदेश सरकारले हस्तान्तरण गरेको उक्त प्रयोगशाला पाँच महिना पूरा हुँदा पनि सञ्चालनमा आउन सकेको छैन ।

प्रयोगशालामा एक जना चालक र चार जना प्राविधिक हुनेछन् । दशैंअगाडि तालिमको माग गर्दा पनि अहिलेसम्म तालिम नदिएको माटो तथा मल परीक्षण प्रयोगशालाका प्राविधिकहरू बताउँछन् । आवश्यक तालिम लिएपछि चाँडै सञ्चालनमा ल्याउने माटो तथा मल परीक्षण प्रयोगशाला सुरुङ्गाकी ल्याव अधिकृत अञ्जु बुढाथोकीले जानकारी दिइन् ।

यता प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत तथा प्रवक्ता डा.राजेन्द्र उप्रेतीले मन्त्रालयले साउनमै हस्तान्तरण गरेकोले सञ्चालनमा आएको हुनुपर्ने बताए । ‘सञ्चालनमा नआएको भनेर अहिलेसम्म कुनै जानकारी आएको छैन’ उनले भने, ‘यस विषयमा बुझ्नेछौं ।’

बसमै फिट भएको माटो परीक्षण गर्ने प्रयोगशाला सञ्चालनमा नआएपछि कृषकहरू सुरुङ्गामा रहेको प्रयोगशालामा पुगेर परीक्षण गर्दै आएका छन् । प्रदेशका दुई जिल्लाहरूमा रहेका कार्यालयमा माटोको परीक्षण हुँदै आएको छ । झापाको सुरुङ्गा र सुनसरीको झुम्कामा रहेको माटो तथा मल परीक्षण प्रयोगशालामा पुगेर कृषकहरूले माटो परीक्षण गर्दै आएका छन् । सुरुङ्गामा रहेको माटो तथा मल परीक्षण प्रयोगशालाकोे कार्य क्षेत्र झापा, इलाम र पाँचथर जिल्ला हो । कृषकहरू ५० जनाको समूह भए उक्त प्रयोगशालाले किसानको खेतबारीमै पुगेर माटो परीक्षण गरी रिपोर्ट दिने तयारी गरेको थियो ।

कृषकको खेतमा पुगेर प्राविधिकहरूले विभिन्न ६ प्रकारका माटोको परीक्षण गरी तत्काल फिल्डमै रिपोर्ट दिने र कृषकहरूलाई विज्ञको टोलीले सुझाव पनि दिने गरेको माटो तथा मल परीक्षण प्रयोगशाला झापाका माटोविज्ञ हरिबहादुर भूजेलले बताए । गाडीमा स्थापना गरेको प्रयोगशालामा ल्यावको सम्पूर्ण उपकरण, पिएच मिटर, पोटास परीक्षण गर्ने फस्फोरस, मेकानिकल सेक्टर, जेनरेटर, एसीलगायतका उपकरणहरू रहेको उनले बताए ।

उनका अनुसार माटोको परीक्षणपछि माटोको अवस्था, माटाको पिएच, नाइट्रोजन, फस्फोरस, पोटास, माटोमा प्राङ्गारिक तत्वको अवस्थाबारे र माटोको अम्लीयपनको बारेमा कृषकलाई जानकारी दिने बताए । ‘माटोको परीक्षणपछि कृषकलाई कुन माटोमा कस्तो बाली हुने त्यसको बारेमा पनि विज्ञ टोलीले सुझावसहितको जानकारी दिनेछ’ उनले भने, ‘कुन बालीको लागि कति पिएचको मात्रा हुनुपर्दछ, त्यस विषयमा पनि कृषकहरूलाई हामी बुझाउनेछौं ।’ मन्त्रालयका अनुसार प्रदेश १ मा ९ लाख २७ हजार ४ सय १९ हेक्टर खेतीयोग्य जमिनमध्ये ८ लाख ९४ हजार ७ सय ६५ हेक्टरमा खेती लगाउने गरिएको छ ।