बेलबारी/मोरङ केराबारी गाउँपालिका–९ स्थित धरधरे सामुदायिक वन र साझेदारी वनबीचको विवादले निकास नपाउँदा उपभोक्ताहरू वन पैदावर सुविधाबाट बञ्चित हुँदै आएका छन् ।

वन समूहले संरक्षण गर्दै आएको वन क्षेत्र साझेदारी वनले हडपेपछिको ५ वर्ष यताको विवाद नटुङ्गिदा उपभोक्ता सुविधा लिनबाट बञ्चित बनेका हुन् । उपभोक्ताले २०६५ सालमा विधान दर्ता गरेर वन संरक्षण गर्दै आएका थिए । संरक्षित वन २०७१ सालमा जिल्ला वन कार्यालय मोरङले सामुदायिकलाई हस्तान्तरण नगरेपछि विवाद शुरु भएको थियो । विधान दर्तापछि तात्कालीन अवस्थामा बनेको समिति केही समयपछि निस्क्रिय बनेका कारण पनि संरक्षित वन समूहमा आएन । जसको कारण स्थानीयहरू वनबाट पाउने अधिकारबाट बञ्चित हुँदै आएका छन् ।