धरान/नेपाल राष्ट्रिय संयुक्त निवृत्त कर्मचारी सङ्घले नवनिर्वाचित धरानका नगर प्रमुख तिलक राईसहित ५ जनालाई सम्मानित गरेको छ ।
धरान–४ स्थित आफ्नै भवनमा शनिबार दोश्रो अधिवेशनको क्रममा नवनिर्वाचित नगर प्रमुख राईसहित वराहक्षेत्र नपाका कार्यपालिका सदस्यहरूलाई सम्मानित गरेको छ । संस्थाले वराहक्षेत्र नपाका कार्यपालिका सदस्य धनकुमारी विक, पोषबहादुर सुनुवार, सुमित्रा घिमिरेलाई सम्मानित गरिएको संस्थाका महासचिव कुमार श्रेष्ठले बताए । त्यस्तै संस्थाको भवन निर्माणका लागि ५१ ह्जार १ सय रुपैयाँ सहयोग गर्ने दाता हीरालाल श्रेष्ठलाई पनि सम्मान पत्रले सम्मानित गरिएको छ ।
नगर प्रमुख तिलक राई, संस्थाका अध्यक्ष झलक श्रेष्ठलगायतले सम्मान पत्र प्रदान गरेका थिए । कार्यक्रममा कोषाध्यक्ष मञ्जु भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरिन् । संस्थाले आर्थिक वर्ष २०७५÷०७६ मा आयतर्फ १ लाख ७० हजार ३ सय ८७ रुपैयाँ रहेको प्रतिवेदन उनले प्रस्तुत गरिन् । त्यस्तै संस्थाको प्रगति प्रतिवेदन महासचिव कुमार श्रेष्ठले प्रस्तुत गर्दै संस्थासँग ५ सय जनाभन्दा बढी आजीवन सदस्य बन्न सफल भएको बताए । आजीवन सदस्यहरूमध्येबाट दिवङ्गत भएका परिवारलाई प्रति परिवार ५ हजार रुपैयाँ आर्थिक सहयोग गरेकोसमेत उनले बताए ।
संस्थाले सेवा निवृत कर्मचारीको हकहित तथा सुरक्षाको प्रत्याभूति दिलाउनका लागि ६ सूत्रीय मागसमेत अगाडि सारेको छ । बहालवाला कर्मचारीले पाउने गरेको महँगी भत्ता सेवानिवृत कर्मचारीहरूलाई पनि निवृत्तिभरण दिने रकमको आधारमा दिनुपर्ने, राष्ट्रसेवक कर्मचारीहरूको गम्भीर प्रकृतिको शल्यक्रिया गर्दा लाग्ने औषधि उपचार खर्च राज्यबाटै दिने व्यवस्था गरिनुपर्ने माग अगाडि सारेको छ । बन्दसत्रले संस्थाको आर्थिक प्रतिवेदनमाथि छलफल गर्दै अनुमोदन समेत गरेको कोषाध्यक्ष मञ्जु भण्डारीले बताइन् । उनले आगामी वर्षमा लेखा परीक्षकको नियुक्ति, पारिश्रमिकलगायतका विषयमा पनि छलफल गर्दे संस्थाले विधानसमेतमा छलफल गरेको बताइन् ।































