उदयपुर/ कृषि विभागले नष्ट गर्न निर्देशन दिएको एक सुन्तला नर्सरीलाई स्थानीय सरकारले अनुगमन गरेको छ । गत कात्तिकको दोस्रो हप्ता कृषि विभागले विभिन्न कारण देखाउँदै नर्सरी नष्ट गर्नुपर्ने सुझाव दिएको कोलबारी सुन्तला जात नर्सरी रौतामाई गाउँपालिका र वडाले अनुगमन गरेको हो ।

रौतामाई गाउँपालिका–४ सल्लेमा कृषक टेकबहादुर पाठकले करिब १५ वर्षदेखि नर्सरी फार्म दर्ता गरेर व्यावसायिक रूपमा सुन्तलाको नर्सरी उत्पादन गर्दै आएका छन् । कृषिले नर्सरी नष्ट नै गर्नुपर्ने भने पनि पालिकाका जनप्रतिनिधिहरूले नर्सरी अनुगमन गरेपछि तत्काल नष्ट गर्नु नपर्ने जनाएका छन् । नर्सरीमा कुनै त्यस्तो गम्भीर प्रकृतिको रोग लागेको भए प्राविधिकहरूको चेकजाँचपछि औषधि उपचार गर्नुपर्ने पालिकाले जनाएको छ । नर्सरी वरिपरि जङ्गल बढी भए पनि बिरुवा नै नष्ट गर्नुपर्ने नभएको रौतामाई गाउँपालिका–४ का वडाध्यक्ष चन्द्रबहादुर मगरले बताए । कृषिको भनाइले चिन्ता जागेपनि पालिकाको अनुगमनले केही आशा जागेको कृषक पाठकले बताए । पालिकाले नर्सरी अनुगमन गरेपछि तत्काल बिरुवा नष्ट गर्नु नपर्ने भएको जनाएको कृषक पाठकले बताए ।

आफू घरमा नभएको बेला नर्सरी हेरेर बिरुवा नै नष्ट गर्नुपर्ने सल्लाह दिएपछि गाँस, बास, कपास खोसिने त्रास छाएको छ । कृषिले नर्सरी नष्ट गर्न लगाएपछि बाँच्ने आधार नभएकाले छोरा विदेश जान लागेको कृषक पाठकले बताए । उनले भने, ‘कृषि विभागले नर्सरी फार्म अव्यवस्थित र बिरुवामा रोग लागेकाले बिक्री वितरण नगर्न भनेको थियो । घरपरिवार चलाउन, छोराछोरी पढाउन र व्यवहार मिलाउन सबै धान्ने नर्सरी नष्ट गर्न लगाएपछि ठूलो छोरा वैदेशिक रोजगारीको लागि विदेश जान लागेको छ ।’ जिल्लामा सुन्तलाको अवस्था के छ ?, त्यसका चुनौति र समस्याहरू बुझ्नका लागि आएका कृषि विभाग काठमाडाँैको टोलीले नर्सरी फार्मको अवलोकन गरेर रोक लगाएको कृषक पाठकले बताए ।

२०६० सालदेखि सबै कुरा छाडेर कोलबारी सुन्तला जात फलफूल नर्सरी फार्म दर्ता गरेर व्यावसायिक रूपमा सुन्तला, कागतीको बिरुवाहरू उत्पादन गर्दै आएको कृषक पाठकले बताए । अहिले फार्ममा सुन्तलाको माउ बोट करिब १ सय ५० बोट र नर्सरी साना–ठूला गरी करिब ३० हजार बोट बिरुवा छन् । त्यसको मूल्य करिब ५० लाख रुपैयाँ बराबर हुन्छ । कृषक पाठकले भने, ‘उहाँहरूले भन्नुभयो फार्म अव्यवस्थित भएको र बिरुवामा रोग लागेकाले नर्सरी नष्ट गर्नुपर्ने हुन्छ ।’ बिरुवा मास्ने कुराले दुःखे लागेको उनले बताए । अहिलेसम्म वार्षिक करिब ५ लाख रुपैयाँ बराबरको बिरुवा बिक्री हुने गरेको कृषक पाठकले बताए ।

बिरुवामा देखापर्ने कोप्रे, खराने सामान्य रोग भएकाले बोडो मिश्रण, फाइटर, निलोतुथो र चुनाको प्रयोगले अहिले बिरुवाको रोग ठीक हुँदै गएको कृषक पाठकले बताए । धेरै विधिबाट नर्सरी उत्पादन गर्न सकिने भए पनि विशेष महŒवका साथ बिजु प्रविधिलाई नै प्राथमिकतामा राखेर नर्सरी उत्पादन गर्दै आएको छ । बिजु, गुटेलेरिङ र ग्राफ्टिङ सिस्टमबाट नर्सरी उत्पादन गर्दै आए पनि सबैभन्दा बढी बिजुका नर्सरी मात्र कृषकहरूले रुचाउने भएकाले बिजुलाई नै पहिलो प्राथमिकतामा राखेको कृषक पाठकले बताए । बिजुको फल स्वादिलो र रसिलो हुने भएकोले कृषकहरूको रुचिमा बिजु नै पर्ने गरेको उनले बताए ।

स्थानीय गाउँघरबाट जिल्लाका विभिन्न ठाउँ र अन्य जिल्लाबाट समेत नर्सरीको लागि कृषकहरू आउने गरेका छन् । माघ लागेसँगै नर्सरीको माग बढ्छ । जिल्लाको मझौले, धोद्रे, निगाले, डाँडागाउँ, डिल्लीबर, मादले, ओख्ले, लेखानीलगायत सुन्तला जोन घोषणा गरिएका ठाउँहरूबाट र जिल्लाबाहिर छिमेकी जिल्ला खोटाङको अधिकांश सुन्तला हुने भू–भाग र भोजपुरका केही गाउँमा समेत नर्सरी पुग्ने गरेको कृषक पाठकले बताए ।